कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धान उठाउने चटारो

अधिकांश स्थानमा धान बाली पाकिसकेकाले थन्क्याउने काम धमाधम
जिल्लामा १७ देखि १८ हजार टनको हाराहारीमा धान उत्पादन हुने
कान्तिपुर संवाददाता

ताप्लेजुङ — तिहार सकिएसँगै जिल्लाका किसानलाई धान उठाउन र थन्क्याउन धमाधम छ । जिल्लाका अधिकांश स्थानमा धान बाली पाकिसकेकाले थन्क्याउने काम धमाधम भइरहेको हो ।

धान उठाउने चटारो

धान पाकेर औलदेखि लेकसम्मै पहेंलापुर देखिएको छ । कृषि प्राविधिकका अनुसार बाली उठाउने बेला कात्तिकदेखि मंसिरसम्मै हो । मंसिर १५ सम्ममा अधिकांश किसानले खलोमा पुर्‍याइसकेका हुन्छन् । जिल्लामा १७ देखि १८ हजार टनको हाराहारी धान उत्पादन हुने गरेको छ ।


सिञ्चित क्षेत्रमा ९ हजार, असिञ्चितमा ८ हजार र चैते धान वार्षिक दुई सय टनको हाराहारीमा उत्पादन हुने कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ । मूल्यका हिसाबले ७५ करोड रुपैयाँ हाराहारीमा धान उत्पादन हुने गरेको छ ।


सिञ्चित, असिञ्चित र चैते गरेर ११ हजार हेक्टरमा धान खेती हुन्छ । सिञ्चितको तुलनामा असिञ्चित जमिन धेरै रहेको कृषिको तथ्यांकमा उल्लेख छ । फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलाबाहेक बाँकी सबै वडामा धेर, थोर धान खेती हुने गरेको छ ।


जिल्लामा एक नगरपालिका आठ गाउँपालिका र ६१ वडा रहेको छ । पूर्वको सिनाम, थुम्बेदिन, आम्बेगुदिन, पश्चिमको खोक्लिङ, साँघु र दक्षिणको निगुरादिन फूलबारीलाई धान उत्पादनको राम्रो क्षेत्र मानिन्छ । यहाँ उत्पादित धानले भने छ महिना पनि खान नपुग्ने तथ्यांकमा उल्लेख छ ।


जिल्लामा झापाको बिर्तामोड भएर चामल आउने गरेको छ । मोटरबाटोको पहुँच नहुँदासम्म खाद्य सामग्री संस्थानले चामल बिक्रीवितरण गरेको थियो ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?