कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सशस्त्र पोस्ट बस्तीमा होइन सिमानामा’

उत्तरी सीमामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली राखिने

ताप्लेजुङ — सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट (वीओपी) बस्तीमा नभई सिमानामा राख्न ओलाङचुङगोलाका जनप्रतिनिधिले प्रस्ताव गर्ने भएका छन् ।

‘सशस्त्र पोस्ट बस्तीमा होइन सिमानामा’

स्थानीय प्रशासनले कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको भवनमा राख्ने गृहकार्य गरिरहेका बेला स्थानीयले भने सिमानामा या मौवाटारमा राख्न प्रस्ताव गर्ने भएका हुन् ।


जिल्लावाट ओलाङचुङगोलामा पोस्ट राख्न २०६७ सालमा प्रस्ताव गरिएको थियो । सशस्त्रले पोस्टका लागि भवनको खोजी तथा तयारी गरेपछि यस्तो प्रस्ताव गर्ने भएका हुन् । ‘गाउँमा एक सयको हाराहारीमा बासिन्दा छौं, हामीलाई किन रुङनु पर्‍यो र,’ वडा सदस्य टाँसी भोटेले भने, ‘सिडियोसाव आउने भन्ने सुनेका छौं, हामी मौवाटारमा राख्न प्रस्ताव गछौं ।’


गाउँका लागि नेपाल प्रहरी नै पर्याप्त भएको टाँसीको तर्क छ । फक्तालुङ गाउँपालिकाका प्रवक्ता समेत रहेका ओलाङचुङगोला निवासी कार्यपालिका सदस्य छेतेन वालुङको भनाइ पनि यस्तै छ । बस्तीमा होइन सिमाना वा छेउमा राख्नुपर्छ,’ उनले भने ‘आवश्यकता भनेको सिमानाका लागि हो ।’ नेपाल र चीनको सिमाना ५२ सय मिटरको उचाइमा भएकाले मौवाटार उपयुक्त हुने बुझाइ स्थानीयको छ ।


मौवाटार यहाँका बासिन्दाको चौंरी चराउने र गोठ राख्ने खर्क हो । तमोर नदीको किनारमा रहेको यो सम्म र बस्न योग्य क्षेत्र हो । तर हिउँदमा भने बाक्लैसँग हिउँ पर्छ । टिप्ताला भञ्ज्याङ ओलाङचुङगोला देखि २४ किलोमिटर दूरीमा छ । मौवाटार १२ किलोमिटर ।


तिब्बतदेखि ओलाङचुङगोलाको बस्तीसम्म गत वर्ष सडक सञ्जालले जोडिएको छ । मौवाटार पापुङको तोकपेगोला र ओलाङचुङको याङमाबाट पनि तिब्बत जाने मार्ग भएको स्थानीय बताउँछन् ।


खाद्यान्न ढुवानी तथा बन्दोबस्तीका कारण तत्काल बस्तीमा राख्नुपर्ने बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी बताउँछन । ‘पछि त सिमाना यात आसपासमै बस्ने हो, अहिले तत्कालका लागि भने खाद्यान्नका कारण गाउँमै बस्नुपर्ने भएको छ,’ उनले भने ।


गोलामा अहिले नेपाल प्रहरीको चौकी रहेको छ । प्रहरी नायव निरीक्षक (सही) को नेतृत्वमा प्रहरी रहेको हो । तर मुद्दामामला, झगडा नहुने भएकाले सही पदका व्यक्ति कमै देख्न पाइने स्थानीय बताउँछन् । असई यात हवल्दारको नेतृत्वमा धेरै रहने गरेका छन् ।


पाँचदेखि सात जनाभन्दा बढी हेमसा देख्न नपाइने स्थानीय बताउँछन् । सशस्त्रले निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली राख्ने तयारी गरेको हो । ओलाङचुङगोला र संखुवासभाको किमाथांकामा राख्ने तयारी गरिएको जनाइएको छ । दुवै जिल्ला चीनसँग सडक सञ्जालले पनि जोडिदैछन् ।

प्रकाशित : मंसिर ३, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?