कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनियन्त्रित बन्दै भरुवा बन्दुक

वन्यजन्तुको अवैध सिकार
दीपेन्द्र शाक्य

संखुवासभा — मादी नगरपालिकामा भरुवा भन्दुकले लागेर भदौ ३ मा एकको मृत्यु भयो । मादी ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङसँगै भाइ रत्नबहादुर र छिमेकी कृष्णबहादुर पनि थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही अघि बढायो ।

अनियन्त्रित बन्दै भरुवा बन्दुक

उनीहरूको साथबाट २ थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने मेटासिटको बट्टामा अन्दाजी ५० ग्राम बारुद, गोलीका रूपमा प्रयोग हुने किटका टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइट समेत प्रहरीले बरामद गरेको छ ।


जेठ १२ मा पनि धर्मदेव नगरपालिकामा सिकार खेल्ने क्रममा भरुवा भन्दुक लागेर ३१ वर्षीय योगन्द्र पौडेलको ज्यान गएको थियो । पौडेलसँगै सिकार खेल्न चिरञ्जीवी अधिकारी, चन्द्रसुन्दर अधिकारी पनि गएका थिए । उनीहरूमध्ये अधिकारीले बन्दुक चलाउँदा पौडेलको मृत्यु भएको प्रहरीको भनाइ छ ।


वन्यजन्तु सिकार गर्ने क्रममा दुवै जनाले ज्यान गुमाएका हुन् । यी त केही उदाहरण हुन् । गाउँगाउँमा लुकाएर राखिएको भरुवा बन्दुक अझै नियन्त्रण हुन सकेको छैन ।

जिल्ला प्रशासन र प्रहरीले समयसमयमा घरेलु हातहतियार बुझाउन सार्वजनिक सूचना गरे पनि अटेर गरेर घरमै राख्नेहरू धेरै छन् । सरकारले वन्यजन्तु सिकार गर्नेलाई कारबाही गरिरहेको छ । तर, पनि घरेलु हतियार लुकीछिपी चलाइँदै आएको देखिन्छ । यसले जंगली जनावरको सिकार खेल्ने क्रम बढेको देखिएको छ ।


प्रहरीले पटकपटक गरी करिब ५ सय बढी भरुवा बन्दुक नियन्त्रणमा लिएको जनाएको छ । सिलिचोङ गाउँपालिका ५, याफुका केदार राईलाई गत जेठ ३१ मा अटोमेटिक पेस्तोल, २ म्यागाजिन र १४ राउन्ड गोलीसहित प्रहरीले फेला पार्‍यो ।


असार २१ गते प्रहरीले आधुनिक हतियारसहित ५ जनालाई सार्वजनिक गरेको थियो । सिलिचोङ गाउँपालिकाका केदार, पूर्णकुमार राई, सूर्यबहादुर राई, चिचिला गाउँपालिकाका सुरेन्द्र राई, भारत विहारका मोहम्मद मुन्ना खानलाई प्रहरीले सार्वजनिक गरेको हो ।


सिलिचोङका केदारलाई खाँदबारी ३ बाट जेठ ३० गते नियन्त्रणमा लिएपछि हतियारको रहस्य खुल्न आएको प्रहरीको भनाइ छ । उनीहरूका साथबाट ७६५७ राउन्ड इन यूएसए लेखिएको १ थान पेस्तोल, १४ राउन्ड गोली, २ थान म्यागजिन, थ्रीनट थ्री राइफल २ थान, कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग गरिने गोली र विस्फोटक पदार्थ पनि बरामद गरिएको प्रहरी प्रमुख डीएसपी श्यामकुमार सारुमगरले बताए ।


प्रहरीले उनीहरूबाट राइफलको १० थान गोली, गोलीको खोकाभित्र राखिएको विस्फोटक पदार्थ, तारजडित डेटोनेटर, त्यसको खाली कभर दुई थान, एन्टेना जोडिएको सेतो रङको रिमोट पनि सार्वजनिक गरेको छ । भरुवा बन्दुक १ थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायत पदार्थ पनि भेटिएको उनले बताए । यतिका मात्राको हतियार कहाँबाट आयो र कहाँ लगिएको हो भन्ने खुल्न सकेको छैन ।


असुरक्षाको अवस्था र वनजंगलमा भइरहेको चोरीसिकारीका कारण अवैध हतियारको अवस्था भयावह रहेको उनले बताए । प्रहरीले अभियानै चलाएर हतियार बरामद गर्न भने सकेको छैन । प्रहरीले कुनै सुराकीका आधारमा वा सिकार खेल्दै गरेको अवस्थामा मात्रै पक्राउ गर्ने गरेको छ ।

प्रकाशित : मंसिर ३, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?