कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरक बेच्दै गाउँ–गाउँ

देवनारायण साह

मोरङ — जाडो मौसम सुरु भएसँगै धनपालथान गाउँपालिका ६ कदमहाका मो. रोजिदलाई सिरक बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । उनले सिरक बेचेर सिजनमा १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

सिरक बेच्दै गाउँ–गाउँ

उनी दैनिक ३०/४० वटा सिरक बनाएर स्थानीय बजारमा बिक्री गर्छन् । रोजिदले विराटनगरबाट कपडा, कपास, धागो ल्याएर घरमै सिरक बनाउने गरेको बताए । ‘सिरक बनाएर कर्सिया, नयाँबजार, रंगेली, विराटनगरलगायतको स्थानीय साप्ताहिक हटियामा बिक्री गर्छु,’ उनले भने, ‘दैनिक ५/७ जना कामदार सिरक बनाउने काममा लगाउने गरको छु ।’ करिब १५ सय लागतमा ५ किलो कपास भएको एउटा सिरक तयार गरेर १९ सयदेखि २ हजारसम्ममा बिक्री गर्दै आएको उनले बताए ।


उनले कात्तिकबाट सिरक बनाउन सुरु गरेपछि माघसम्म बनाउँदै बेच्ने गरेको बताए । ‘एउटा सिरक बिक्री गरेपछि ४ सय देखि ५ सय आम्दानी हुन्छ,’ उनले भने, ‘गत वर्ष करिब ४ हजार सिरक बेचेर राम्रो आम्दानी भएको थियो ।’ सुकुम्बासी परिवारका उनले सिरक बेचेरै १२ जनाको परिवार पाल्दै आएका छन् । उनले सिरक बनाएर बिक्री गर्नमा छोरालगायतका परिवारका अन्य सदस्यले पनि सघाउँदै आएको सुनाए । रोजिदले आफूले १५ वर्षअघिसम्म घरघरमा गएर कपास फडेर सिरक बनाउँदै आएको बताए ।


‘कपास फडकने हाम्रो पुख्र्याैली पेसा भएको तर त्यसले जीवन गुजारा गर्न गाह्रो भएपछि आफैंले सिरक बनाएर बेच्न थालेँ,’ उनले भने, ‘सुरुमा २/३ वटा सिरक बनाएर बिक्री भएपछि मात्रै थप सिरक बनाउँथेँ तर पछि पुँजी भएपछि १/२ सय सिरक बनाएर साप्ताहिक हटियामा बिक्री गर्न थालेँ ।’ उनी जस्तै मो. रियादले पनि सिरक बेचेरै पविार पाल्दै आएको बताए ।


‘जग्गा जमिन नभएकाले कृषि मजदुरीसँगै गाउँमा घरघरमा गएर कपास फडेर सिरक बनाउने काम गर्दै आएका थियौं,’ उनले भने, ‘वैदेसिक रोजगारी सुरु भएदेखि स्थानीय साप्ताहिक हटियामा पनि सिरकको माग हुन थालेपछि त्यही व्यवसाय सुरु गरेँ ।’ १०/१५ वर्ष अघिसम्म गाउँका किसानले आफैंले कपडा, कपास, धागो ल्याएर हामीलाई सिरक बनाइदिन बोलाउने गरेको उनले सम्झे । ‘पहिले सिरक बनाउन जाँदा प्रतिकिलो कपासको दरले २/३ किलो चामल लिने गरेका थियौं र खाना, नास्ता पनि खान थियौं,’ उनले भने, ‘पछि प्रतिकिलो ५० रुपैयाँसम्ममा कपास फडेर सिरक बनाउने गरेको सम्झना छ ।’


गाउँका युवा वैदेशिक रोजगारीमा जान थालेपछि सिरक बनाउनका लागि बजारबाट कपडा, कपास, धागो किनेर ल्याउने अभिभावकको अभाव भएसँगै स्थानीय साप्ताहिक हटियामा सिरकको माग बढ्दै गएको उनी भन्छन् । ‘पछिल्लो समय कपासको सिरकको साटो फाइबरको सिरक, ब्ल्यांकेटले ठाउँ लिदैछ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा पनि अहिले आर्थिक हैसियत बढ्दै गएकाले फाइबरको सिरक, ब्ल्यांकेटको प्रयोग बढ्न थालेको हो ।’


रोजिदले बजारमा फाइबरको सिरक र ब्ल्यांकेट आए पनि पहिलेदेखि सिरक ओढ्ने बानी बसेका मानिसले खोज्दै सिरक खरिद गर्न आउने गरेको सुनाए । सिजनमा सिरक बेचेर आफूले ८/९ लाख आमदानी गर्दै आएको उनले सुनाए । गाउँका युवा जनशक्ति वैदेशिक रोजगारीमा गएपछि बजारबाट सबै सामग्री खरिद गरेर ल्याउने मानिसको अभावले तयारी सिरकको माग बढेको स्थानीय अरबिन्द मण्डलले बताए ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?