कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरको योजना विवादमा

रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाको आफ्नै ४० बिघा जमिनमा नयाँ सहर बसाल्ने तयारी
विनोद भण्डारी

विराटनगर — रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले आफनै जमिनमा ‘नयाँ सहर’ बसाल्ने तयारी गरेपछि विवाद सुरु भएको छ ।

सहरी विकास मन्त्रालयले खस्कँदै गएको मोरङको पुरानो सदरमुकाम रंगेलीलाई पुनर्जीवन दिन नयाँ सहर योजना ल्याएकोमा नगर प्रमुखले यसका लागि आफ्नै जग्गा उपयोग गर्ने तयारीमा लागेका हुन् ।


पुरानो रंगेली भनेर नगरपालिकाको वडा ४, ६ र ७ चिनिन्छ । त्यस क्षेत्रमा नयाँ सहरको कल्पना नगरी बजारदेखि करिव ५ किलोमिटर पश्चिम नगर प्रमुख बगडियाको इँटाभट्टा भएको स्थानमा नयाँ सहर वसाल्ने तयारी गरिएको हो । त्यहाँ बगोडियाको ४० बिघा जमिन छ । त्यही जमिन र आसपासको अरू १० बिघा जमिन लिएर नयाँ सहर निर्माण गर्ने प्रक्रिया सुरु गरिएको छ । त्यहाँ नयाँ सहर वसाल्दा हालको रंगेली बजार झन जीर्ण हुने स्थानीयको बुझाइ छ ।


बस्ती र हुलाकी राजमार्गको नजिक रहेको उर्वरा नहुने जमिनमा नयाँ सहर बसाल्नुपर्ने सहरी विकास मन्त्रालयको मापदण्ड छ । त्यस्तो क्षेत्रमा नयाँ सहर निर्माणका लागि मन्त्रालयले ३० करोड रुपैयाँ लगानी गर्नेछ । नयाँ सहर निर्माणका लागि अहिलेसम्म कुनै स्थान निश्चित नभएको नगर प्रमुख बगडियाले दाबी गरेका छन् ।


नगरका ९ वटौ वडा अध्यक्षलाई कम्तीमा ५० बिघा जमिन उलपब्ध गराउन १५ दिनको म्याद दिइएको छ । ‘अहिलेसम्म कुनै पनि वडाले आधिकारिक रूपमा निवेदन दिएका छैनन्,’ बगडियाले भने, ‘जुन वडाले ५० बिघा जमिनको लालपुर्जासहित निवेदन दिन्छ नयाँ सहर त्यहीं बन्छ ।’ नयाँ सहर निर्माणका लागि कम्तीमा ५० बिघा जमिन चाहिन्छ ।


त्यो जमिनमा मन्त्रालयको ३० करोड रुपैयाँको लगानीमा नाला र ड्रेनसहितको १० किलोमिटर सडक, रंगशाला, कन्फरेन्स हलसहितका विकासका पूर्वाधार निर्माण गरेर सम्बन्धित जग्गाधनीलाई फिर्ता दिएपछि त्यही जमिन घडेरीमा बिक्री गरेर नयाँ बस्ती बसालिन्छ । ‘मेरो आफनो जमिन पहिलो प्राथामिकता होइन ।


तर कुनै वडाले जमिन उपलब्ध नगरे आफनै जमिनमा भए पनि नयाँ सहर निर्माण गरेर योजना फिर्ता जान नदिने पक्षमा छु,’ बगडियाले भने । वडा ३ रञ्जनीवासीले आफनो ४० बिघासहित डेढसय बिघा जमिन उपलब्ध गराउने तयारी गरिरहेका छन् ।


आमतोलादेखि राष्ट्रिय राजमार्ग जोडने भाउन्नेसम्मको सडकलाई नगरपालिकाले प्राथमिकता राखेमात्र उक्त स्थानमा नयाँ सहर बसाल्न सहमति जनाउने वडा ३ का अध्यक्ष घनश्याम पनेरुको भनाइ छ । नयाँ सहर आफनो वडामा बनाउने तर सडकचाहिँ अन्यत्र प्राथमिकता दिने हो भने वडाको सहमति नहुने उनको भनाइ छ ।


नयाँ सहर निर्माणका लागि मन्त्रालयले पुरानो रंगेलीक्षेत्र रहेको वडा ४, ६ र ७ मध्ये एउटा वडा तोकेको बजारवासीको दाबी छ । ती वडामध्ये कुनै एक वडामा नयाँ सहर निर्माण गर्दा रंगेलीको गुल्जार हुने बजारवासीको बुझाइ छ । ती कुनै पनि वडामा नयाँ सहर बसाल्दा रंगेली कानेपोखरी हुलाकी राजमार्गले छुने स्थानीयवासीको भनाइ छ । विकास निर्माण र सामाजिक विकासको ओझेलमा परेको रंगेली बजारबाट बसाइँ सर्ने क्रम बढ्दो छ ।

प्रकाशित : मंसिर ५, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?