कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बलात्कार घटनामा बालिका बढी पीडित’

काँकडभिट्टा — झापामा भएका बलात्कारका अधिकांश घटनामा पीडित हुने बालिकाको संख्या धेरै छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको एक प्रतिवेदनमा झापामा एक वर्षमा भएका ३८ घटनामा १९ जना बालिकासहित ३९ जना पीडित बनेको उल्लेख छ । 

गैरराज्यतर्फबाट भएका घटनामा हत्याका ४ घटना छन् । यसमा ३ महिलासहित ४ जना पीडित बनेका छन् । ‘अधिकांश बालिकाहरू आफन्तबाट बलात्कारको सिकार भएको पाइएको छ’, इन्सेकका झापा प्रतिनिधि नरेश खातीले भने, ‘यसले सामाजिक सुरक्षामा चुनौती थपेको छ ।’ सन् २०१८ जनवरी १ देखि नोभेम्बर अर्थात् ०७४ पुस १७ देखि हालसम्मको अवधिमा अघिल्ला वर्षहरूमा झैं बलात्कार, घरेलु हिंसा, कुटपिट, हत्या जस्ता घटनाहरूले निरन्तर पाएका छन् ।


मदिरा सेवन गरेर पतिले पत्नीको हत्या गर्ने, घरेलु हिंसाका कारण महिला पीडित बन्ने जस्ता घटना बाहिर आएका छन् । यस अवधिमा ४ वर्षीया बालिकादेखि ४२ वर्षीया महिला बलात्कारको सिकार भएका छन् । सामूहिक बलात्कारका घटना यस वर्ष पनि उल्लेख्य रूपमा बढेको पाइएको छ । चोरीको आरोपमा प्रहरीले हिरासतमा बन्दीलाई कुटपिट गरेको घटना पनि बाहिर आएको छ ।


फरक राजनीतिक विचारधारा राख्ने द्वन्द्वरत दलले बम विष्फोट गर्दा दुई जना घाइते भएका छन् । कुटपिटका घटनामा एक बालकसहित ३ जना पीडित भएका छन् । उक्त घटनामा राज्य पक्षबाट दुई जनालाई गैरकानुनी थुनामा राखी कुटपिट गरिएको उल्लेख छ ।


प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राज्य पक्ष मानव अधिकार रक्षक भएको उल्लेख गर्दै राज्यले मानव अधिकारको उल्लंघन गर्न नहुने बताए । उनले भने, ‘मानव अधिकार उल्लंघनका घटना के कारण हुन्छ र किन हुन्छ त्यसको खोजी गरिनुपर्छ ।’


प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले झापा भएका अधिकांश घटना मदिराका कारणले भएकाले आगामी दिनमा झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने उल्लेख गर्दै मदिरा नियन्त्रणपछि आपराधिक क्रियाकलाप पनि कम भएर जाने दाबी गरे ।

प्रकाशित : मंसिर ५, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?