कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपराधमा किशोरको संलग्नता बढ्दै

पीडित आफन्त, साथीसंगी र छिमेकीबाटै बलात्कृत 
बलात्कारका घटनामा १५ वर्षमुनिका बालकको संलग्नता बढी
डिल्लीराम खतिवडा

उदयपुर — चार महिनाको समयमा उदयपुरमा २२ वटा बालिका बलात्कारका घटना घटेका छन् । तीमध्ये ५ वटा घटनामा १५ वर्षमुनिका बालकको संलग्नता छ । 

बालिका बलात्कारका घटना बढ्दै जाँदा घटनामा संलग्न पीडक पनि कम उमेरका बढी देखिएका छन् । पीडित आफन्त, साथीसंगी र छिमेकीबाटै बलात्कृत हुने गरेको अनुसन्धानबाट खुलेको छ । यहाँ भएका बलात्कार र हत्याका घटनामा कम उमेरका र नजिकै पीडक बढी रहेको देखिन्छ ।


पछिल्लो पटक रौतामाई गाउँपालिका–३ लाफागाउँकी १२ वर्षीया एन्जिला खडकाको बलात्कारपछि हत्यामा पनि उनकै सहपाठीले गाउँका अर्का अल्लोरसँग मिलेर घटना गरेका छन् । जंगलमा बाख्रा चराउन गएका बेला एन्जिलाको बलात्कारपछि हत्या भयो ।


हत्या भएपछि झन्डै सातापछि घटनामा संलग्न भएको आरोपमा गाउँकै १५ वर्षीय दिपेन्द्र राई र १७ वर्षीय पदमवीर राईलाई प्रहरीले नियन्त्रणमा लिइयो । एन्जिला हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएका दिपेन्द्र उनीसँगै स्थानीय माध्यमिक विद्यालय ९ मा अध्ययनरत सहपाठी हुन् । दिपेन्द्र एउटै गाउँका नजिकका छिमेकी र एउटै विद्यालयमा पढने सहपाठी हुन् ।


साउनयता मात्रै २२ वटा बलात्कारका घटना प्रहरीमा पुगेका छन् । अझै गुपचुप र सामाजिक दबावमा मिलेका बलात्कारका दर्जनौ घटना बाहिर आएका छैनन । प्रहरीले पनि नाबालक घटनामा सलग्न भएको भन्दै अपराधमा सलग्न आरोपमा पक्राउ बालबालिकालाई सार्वजनीक गरेको छैन ।


‘कतिपय बलात्कारका घटनामा आफन्त, छिमेकी र अभिवाकबाटै भएकाले बाहिर ल्याइएको छैन,’ सामाजिक क्षेत्रमा हुने विकृति नियाल्दै आएकी अनुष्का खतिवडाले भनिन्, ‘अधिकांश घटनाका पीडक आफन्तै वा नजिकका साथी नै रहेको पाइएको छ ।’ २२ घटनामा ५ वटा घटनामा संलग्न दोषी १५ वर्षमुनिका छन्, त्यस बाहेका आफन्त र अभिभावक पनि छन्, उनले बताइन् ।


२२ वटा बलात्कारका घटनामा अध्ययन अनुसन्धामा मोबाइलको दुरुपयोग गरेर अश्लिल भिडियो हेर्ने गरेका कारण किशोर अवस्थामै आपराधिक घटनामा संलग्न हुने क्रम बढेको अनुसन्धानवाट देखिएको छ ।


त्यसैगरी आपराधिक घटनाका दोषीलाई कारवाही हुन नसकेका कारण घटना बढदै गएको अध्ययनमा देखिएको खतिवडाले बताइन् । ‘प्रविधिको गलत प्रयोग र लहडमा बालबालिका बिग्रने खतरा बढेको छ,’ प्रहरी नायव उपरीक्षक अर्जून रानाभाटले भने, ‘अविभावकले आफना छोराछोरीको बानीव्यवहारको ख्याल नगर्दा बाल्यका र किशोर अवस्थामै अपराधमा फस्न पुगेको पाइन्छ ।’ पछिल्लो समयमा उदयपुरमा भएको बलात्कारका घटनाले पनि त्यसालाई पुष्टि गरेको उनले बताए ।


उदयपुरमा १० महिनामा ३९ बलात्कारका घटना घटेका छन् । ३९ घटना मध्ये २६ वटा बलात्कार र बाँकी १३ वटा बलात्कारको प्रयास रहेको प्रहरीले जनाएको छ । बलात्कारका २६ मध्ये २२ बालिका र १८ बाँकी महिला पीडित छन् । यसरी बलात्कारको सिकार हुने बालिका ७ देखि १३ वर्षसम्मका उमेरका छन् ।


‘घर–घरमा भित्रिएका प्रविधि बालबालिकाका लागि खतरनाक हुँदैछ,’ विद्यार्थी नेता शम्भु शर्माले भने, ‘इमेल इन्टरनेटको सहजै पहुँचले अस्लील साइडले बालबालिकाको यौनजन्य व्यवहारमा परिवर्तन ल्याएको छ ।’ जसका कारण समाजमा हुने बलात्कार लगायतका घटनामा बालबालिका र किशोरकिशोरीको सहभागिता बढदै गएको उनले बताए ।


समाजमा आपराधिक घटना बढदै जानु त्यसमा पनि किशोर किशोरीको संलग्नता बढीे छ । यसले समाज कतातिर जाँदैछ भन्ने कुराको पनि संकेत गर्दछ । सचेतनासँगै कानुनको प्रभावकारी कार्यान्यवन नभए बलात्कार र त्यसपछि हुने हत्याका घटना कसरी न्यूनीकरण होला ? सोच्नुपर्ने अवस्था आएको सर्वसाधारणको गुनासो छ ।

प्रकाशित : मंसिर ७, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?