कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाथीभरामा महिनाको १२ लाख भेटी

धाम आसपास क्षेत्रको विकासमा खर्च गरिने
आनन्द गौतम

ताप्लेजुङ — प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रतिमहिना १२ लाख रुपैयाँभन्दा बढी भेटी उठ्ने गरेको छ ।

पाथीभरामा महिनाको १२ लाख भेटी

पछिल्लो चार महिनामा ५० लाख रुपैयाँ संकलन भएको भेटिघाटी व्यवस्थापन समितिले जनाएको छ । यो तीर्थयात्रीले चढाएको भेटी रकम हो । भारतीय रुपैयाँ गणना गर्न बाँकी रहेको छ र सुन, चाँदीलगायतका गहना बिक्री गर्न बाँकी छ ।


सबै सटही गर्दा ६० लाखभन्दा बढी हुने अनुमान समितिको छ । समितिका सदस्य सचिव उदय भट्टराईका अनुसार साउनदेखि कात्तिक मसान्तसम्मको ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ बैंक खातामा जम्मा गरिसकिएको छ । पाथीभरामा असोज कात्तिकमा अधिक तीर्थयात्री जाने गरेका छन् ।


दसैं र चैते दसैंको समयमा धेरै भीड लाग्छ । चिसो हुने भएकाले पुस र माघमा भने तीर्थयात्रीको संख्या कम हुने गरेको छ । यो समयमा माथिल्लो फेदीसम्म हिउँ खेल्नेको भने भीड लाग्छ । हिउँ पर्ने सिजनमा माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मनै हिउँले ढाक्छ ।


तातो पलाएसँगै फागुनदेखि सुरु हुने यात्रा जेठसम्म रहन्छ । जेठपछि वर्षा, झरीका कारण भदौसम्म फाट्टफुट्ट मात्रै तीर्थयात्री आउने माथिल्लो फेदीका व्यवसायी बताउँछन् ।


पाथीभरामा संकलित भेटी अहिलेसम्म यही क्षेत्रको विकासमा लगानी हुँदै आएको छ । पैदलमार्ग बनाउने, मोटरबाटोको गुणस्तर सुधार गर्ने, विद्युत् विस्तार गर्ने, खानेपानी व्यवस्थापन गर्ने, धर्मशाला बनाउने, स्वास्थ्य सेवा प्रवाह गर्ने जस्ता काममा प्रयोग हुँदै आएको समितिका पदाधिकारीहरू बताउँछन् । पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको छ ।

प्रकाशित : मंसिर १२, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?