कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द्रगढी विमानस्थल : रात्रिकालीन उडानको तयारी

माघ अन्तिम सातादेखि सेवा सुरु हुने

चन्द्रगढी, झापा — इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) सेवा दिवा र रात्रि (डे–नाइट) सञ्चालनका लागि चन्द्रगढी विमानस्थलमा निर्माण कार्य धमाधम भइरहेको छ । चन्द्रगढीमा गत जुलाईदेखि आइएफआर सेवा सञ्चालनमा छ ।

चन्द्रगढी विमानस्थल : रात्रिकालीन उडानको तयारी

आइएफआर सेवा डे–नाइट सञ्चालनका लागि विमानस्थलमा अहिले बत्ती (एयर फिल्ड लाइट) जडान भइरहेको छ । ‘हामी माघ अन्तिम सातादेखि नाइट आइएफआर सेवा सुरु गर्ने गरी काम गरिरहेका छौं,’ चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले बताए ।


चन्द्रगढीका लागि बुद्ध र यति एयरलायन्सले आइएफआर सेवाका लागि अनुमति लिइसकेका छन् । विमानस्थलमा उडान भर्दै आएका श्री, सौर्य र नेपाल एयरलायन्स आइएफआर सेवाका लागि अनुमति लिने प्रक्रियामा रहेको चुडालले बताए । विमानस्थलमा स्याटेलाइट (आरन्याप) बेस्ट डे आइएफआर पनि सुरु भइसकेको चुडालले जानकारी दिए ।


आइएफआर लागू भएपछि अहिले २२ सय भिजिबिलिटीमै रनवे क्लियर देखिने गरेको छ । एयर फिल्ड लाइट जडानपछि विमानस्थलमा १६ सय भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने चुडालले बताए । यसअघि विमानस्थलमा ५ हजार भिजिबिलिटीमा मात्र जहाज अवतरण गर्न सकिन्थ्यो ।


आइएफआर सेवा डे–नाइट सञ्चालनमा आएपछि पूर्वका हवाई यात्रु प्रत्यक्ष लाभान्वित हुने विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर किशोरकुमार खत्रीले दाबी गरे । उनले आइएफआर सेवा डे–नाइट सञ्चालनमा आएपछि एयर ट्राफिक चाप न्यून हुने बताए ।


‘हामीले रात्रिकालीन सेवा दिन थाल्यौं भने नेपालका मात्र होइन, भारत, भुटान, बंगलादेश र म्यानमारसम्मका हवाई यात्रु लाभान्वित हुनेछन्,’ चुडालले भने, ‘झापाका यात्रुले एकै दिनमा काठमाडौंको काम सकेर फर्किन सक्ने अवस्था हुन्छ ।’


उनले यसबाट विशेष गरी व्यापारीहरू लाभान्वित हुने बताए । विमानस्थलबाट उडान भर्दै आएका सबै एयरलायन्सले आइएफआर सेवा सुरु गरेपछि फ्लाइट डिले हुने समस्या हटेर जाने खत्रीले बताए । चन्द्रगढी विमानस्थलबाट दैनिक ८ वटा उडान हुने गरेको छ ।


बुद्ध, यति, श्री, नेपाल र सौर्य एयरलायन्सले उडान भर्दै आएका छन् । सबै उडानमा यात्रु संख्या पूर्ण रहेको चुडालले बताए । विमानस्थल करिब ६५ बिघा क्षेत्रफलमा फैलिएको छ । विमानस्थल विकास र विस्तारका लागि थप ११ बिघा जमिन अधिग्रहण गर्ने कार्य अन्तिम चरणमा पुगेको चुडालले बताए ।

पूर्वपट्टि अधिग्रहण गरिने जमिनमा विमानस्थल विस्तारसाथै रात्रिकालीन उडान गर्न आवश्यक ग्राउन्ड बेस उपकरण (भीओआरडीएमई) जडान गरिने उनले बताए ।


विमानस्थलमा थप कार्यहरू पनि धमाधम भइरहेको छ । विमानस्थलमा अहिले तीन वटा मात्र जहाज पार्किङ गर्न सकिन्छ । त्यसमा थप दुई वटा जहाज पार्किङ गर्न मिल्ने गरी विस्तारको काम अघि बढाएको चुडालले बताए । विमानस्थलमा धावन मार्ग मर्मतको कार्य पनि यसै वर्ष गर्नुपर्ने उनले बताए । उनका अनुसार प्रत्येक १० वर्षमा धावन मार्ग मर्मत गर्नुपर्ने नियमअनुसार आगामी फागुनबाट धावन मार्ग मर्मतको काम गर्ने गरी तयारी भइरहेको छ ।


१५ सय मिटर धावन मार्ग मर्मत गर्न दुई महिना लाग्ने उनले बताए । अग्नि नियन्त्रणका लागि बारुण यन्त्र ल्याउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । त्यसका लागि आवश्यक पूर्वाधारहरू तयार गर्ने कार्य भइरहेको छ । जहाज पार्किङस्थल विस्तार गर्ने कार्य पनि भइरहेको छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?