कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसीमा अर्को जेटबोट

बराहक्षेत्रको चतराघाटबाट पश्चिममा दोलालघाट र पूर्वमा काबेली नदीसम्म चलाइने
प्रदीप मेन्याङ्बो

सुनसरी — कोसी नदीमा जेटबोट सञ्चालन गर्ने अर्को कम्पनी थपिएको छ । सुनसरीको बराहक्षेत्रस्थित चतराघाटबाट पश्चिममा दोलालघाट र पूर्वमा ताप्लेजुङ पाँचथरबीचको काबेली नदीसम्म सञ्चालन गर्न लागिएको हो ।

कोसीमा अर्को जेटबोट

बराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स प्रालिले नयाँ बोट सञ्चालनमा ल्याएको हो । हाल कोसीमा सुनकोशी रिभर कम्पनीको जेटबोट, वराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिको जेटबोटले सेवा दिइरहेको छ ।


बराक्षेत्र मरिनले २५ जना क्षमताको मध्यमस्तरको प्यासेन्जर बोट एचडी ८.६ जेटबोट परीक्षण गरिरहेको छ । मरिनसहित कोशीमा तीनवटा जेटबोटले जलयातायात सेवा दिइरहेका छ ।


करिब २५ किलोमिटरको दूरीमा रहेको जल मार्गबाट भोजपुर, धनकुटा र उदयपुरका विकट भेगका बासिन्दा लाभान्वित हुँदै आएका छन् । १० घण्टासम्म हिंड्नुपर्ने भौगोलिक अवस्थालाई जेटबबोटले २० मिनेटमै समेटिदिएको छ ।


डेढ दशकअघिसम्म शप्तकोसीमा जेटबोट मार्फत जलयातायातको कल्पना कसैले पनि गरेका थिएनन् । पछिल्लो समयमा एकपछि अर्को कम्पनीले जेटबोट सञ्चालनमा ल्याउन थालेपछि भोजपुर, उदयपुर, धनकुटा र सुनसरी क्षेत्रका बासिन्दका लागि जलयातायातले फड्को मारेको छ ।


पछिल्लो कम्पनीले जापानिज यामाहा इञ्जिनयुक्त २५ जना यात्रु क्षमता भएको १८ सिटको २३० एचपी प्यासेन्जर बोटको परीक्षण गरिरहको जनाएको छ । सञ्चालक नवीन पौडेलले भने, ‘पहिला हुँदै नहुँदा आवश्यकता महसुस भएन । अहिले कोसीमा जलयातायातको सम्भावना बढेकाले चासोको विषय बनेको छ । हामीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर यो सेवा भित्र्याएका हौं ।’


कम्पनीले परीक्षण क्रममा कम्तीमा आठजना क्याप्टेन उत्पादन गर्ने गरी चिनिया प्रशिक्षकबाट हाल तीन जनालाई बोट संचालनका लागि प्रशिक्षण दिइरहेको पौडेलले बताए । उनकाअनुसार पुस पहिलो सातादेखि व्यावसायिक सेवा सुरु हुने छ । कम्पनीले सप्तकोशी नदीमा ४ वटा प्यासेन्जर बोट सञ्चालन गर्न अनुमति लिएको छ ।


रातको समयमा समेत कोशीमा जलसफारी गर्न सकिने गरी फक्स लाइटयुक्तको मेघा फोन जडित जेटबोट परीक्षण भइरहेको पौडेलले बताए । वराहक्षेत्र मरिन एण्ड रिसोर्ट्स प्रालिले पर्यटन मन्त्रालयको स्वीकृति, स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा वराहक्षेत्रको पर्यटन विकासका लागि काम गर्ने

पौडेलले बताए ।


चक्रघट्टीमा एक रिसोर्ट र १० जना क्षमताको दुइबोट, २५ जना क्षमताको र सयजना क्षमताको चार जेटबोटसहित कुल ८ करोड १२ लाख रुपैयाँ बजेट लगानी रहेको बताइएको छ ।


चतरादेखि सिम्लेसम्मका लागि सयजना क्षमताको एयर कन्डिसन, डिजिटल सूचना पाटी, लाइट, ८६ सय एचपी क्षमताको जेटबोट पनि क्याप्टेन तयारी भएपछि चाँडै सञ्चालन गर्ने पौडेलले बताए । उक्त बोट चीनको साङ्घाइबाट नेपाल ल्याइपुर्‍याउँदा ३ करोड रुपैयाँ लागत पुगेको कम्पनीले जनाएको छ ।


पौडेलका अनुसार साना १० जना क्षमताको जेटबोट नदीको गहिराइ कम भएका ठाउँमा जान सकिने, आपतकालीन अवस्थामा उद्धार गर्न सकिने विशेषता भएकाले दोलालघाट र काबेलीसम्म पुर्‍याउने लक्ष्य रहेको छ ।


उनले ती बोटलाई प्राकृतिक विपत्तिमा मावनीय उद्धारको काममा पनि प्रयोग गर्न मिल्ने भएकाले तिनलाई पनि संचालन गर्ने तयारी गरेको बताए । प्राकृतिक विपतका अवस्थामा यसबाट निशुल्क सेवा दिन सक्ने पौडेलले बताए । कम्पनीले जेटबोटको पोर्ट निर्माणपनि तिव्रगतिमा गरिरहको छ ।


कम्पनीले वराहक्षेत्र नगरपालिकाको प्रवद्र्धनमा जेटबोट ल्याएको हो । बराहक्षेत्र नगरपालिकाले १ वर्षका लागि कर मिनाहा गरेको नगरप्रमुख निलम खनालले बताए । नगरपालिकाले पर्यटन विकासका लागि वराहक्षेत्रका सरकारी पर्ती जग्गालाई भाडामा दिने निर्णय गरेको खनालले बताए ।


उदयपुरको बेलका नगरपालिका र सुनसरीको वराहक्षेत्र नगरपालिकामा पर्ने सप्तकोशीको नयाँ पुलबाट भोजपुरको चुवारा र धनकुटाको सिम्लेसम्म तीन वटा कम्पनीका बोट सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई जलयातायातको सुविधा हुने र आन्तरिक र बाह्य पर्यटकले एडभेन्चर यात्रा पनि गर्न पाउने भएकाले नगरपालिकाले साथ दिएको खनालले बताए ।

प्रकाशित : मंसिर २७, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?