कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चालन भएन महानगर बसपार्क

निर्माण सकिए पनि सञ्चालनमा नआउँदा यात्रुलाई सास्ती

मोरङ — विराटनगर महानगरपालिकाले बसपार्क निर्माण भएको २ महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन । विराटनगर महानगर प्रमुख भीम पराजुलीले यसअघि कात्तिकभित्र बसपार्क उद्घाटन गरेर सञ्चालनमा ल्याउने बताएका थिए । 

एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरिएको बसपार्क सञ्चालनमा नआउँदा महानगरले घाटा ब्यहोरिनु परिरहेको छ । बसपार्क सञ्चालन नहुँदा व्यवस्थित रूपमा यात्रुबाहक बस सञ्चालन हुन

सकेको छैनन् ।


स्थानीय रामभरोशी यादवले बसपार्क निर्माण भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि सञ्चालनमा नआउनु महानगरबासीको दुर्भाग्य भएको गुनासो पोखे । ‘बसपार्क सञ्चालनमा नआउँदा बालबालिका, महिला, वृद्धवृद्धा, अपाङ्ग, असहायहरू व्यस्त सडकमै बस चढन बाध्य छन्,’ उनले भने, ‘सडकमा तीव्र गतिमा कुद्ने सवारीले दुर्घटनाको जोखिम छ ।’


महानगरभित्र सडक र ढल निर्माणको काम चौतर्फी भइरहेको अवस्थामा बसपार्क सञ्चालन नभएर सडकमै सवारी साधन पार्किङ गर्दा ट्राफिक जामको समस्या झन् चुनौतीपूर्ण बनेको छ । ट्राफिक प्रहरीलाई ट्राफिक जाम व्यवस्थापन चुनौतीपूर्ण भएको छ । बसपार्कले सडकमै पार्किङ गर्ने र त्यसले सधैं सडकमा जाम हुने र त्यसको व्यवस्थापनमा दिनभर जनशक्ति खटाइरहनुपर्ने समस्या भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।


महानगरका इञ्जिनियर अर्जुन थापाका अनुसार व्यापारिक मार्ग बिस्तार परियोजनाअन्तर्गत निर्माण भइरहेको सडक र नाला निर्माणको काम समयमा सम्पन्न नहुँदा बसपार्क सञ्चालनमा ढिलाइ भएको दाबी गरेका छन् । ‘बसपार्कभित्र सबारी साधन प्रवेश गर्ने, बाहिरिने र बीचमा नाला निर्माण गरेर माथिबाट ढलान गर्नुपर्ने काम समयमा हुन नसकेकाले बसपार्क उद्घाटन गराउन पनि समस्या भएको छ,’ उनले भने ।

६ लेन सडक निर्माण परियोजना प्रमुख बिनोदकुमार मौवारले बसपार्क क्षेत्रको ३ किलोमिटर सडक, नाला, रेलिङ र फुटपाथ निर्माणको ठेक्का कालिका–कान्छाराम जेभीले भ्याटबाहेक ४५ करोड रुपैयाँमा लिएको अन्तिम म्याद आउँदो असारमा सक्न लागेको बताए ।


‘निर्माण कम्पनीले समयमा काम नसक्दा महानगरले हामीलाई पनि पटकपटक ताकेता गर्दै आएको छ,’ उनले भने, ‘निर्माण कम्पनीलाई बसपार्क सञ्चालनमा ल्याउन ढिलाइ भइरहेकाले तत्काल नाला निर्माण र ढलानलगायत सडकको काम सक्न निर्देशन दिएको छु ।’


निर्माण कम्पनीका प्रमुख इञ्जिनियर बिमलेश यादवले हाम्रो कारण बसपार्क सञ्चालनमा ढिलाइ नभएको बताए । ‘हामीले महानगरले भनेअनुसार नाला निर्माण गरी ढलान गरेका थियौं,’ उनले भने, ‘बसपार्क उद्घाटनमा ढिलाइ हुने भएकाले पहिलेदेखि रहेको पूरानो कल्भर्ट भत्काएर निर्माण गरिदिन महानगरले भनेअनुसार हामीले काम अघि बढाएका छौं ।’


बसपार्कमा १८ माइक्रोबस र ३५ बस पार्किङ गर्ने स्थल, फुटपाथ, आकर्षक यात्रु प्रतीक्षालय, शौचालयसहितको दुई तले प्रशासनिक भवन दुई महिनाअघि निर्माण गरिएको छ । इञ्जिनियर थापाले एसियाली विकास बैंकको ऋण सहयोगमा ११ करोड ९८ लाख रुपैयाँको लागत स्टिमेट रहेको बस टर्मिनल ८ करोड ४७ लाखमा ठेक्का लिएको गौरी पार्बती निर्माण सेवा काठमाडौंले निर्माण कार्य सम्पन्न गरेको बताए ।


महानगरका प्रमुख भीम पराजुलीले बस टर्मिनल निर्माण सम्पन्न भएर पनि नाला र त्यसमाथि ढलानको कामले सञ्चालनमा ढिलाइ भएको बताए । नाला निर्माण कम्पनीले २/४ दिनभित्रै निर्माण काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएअनुसार उद्घाटनको तयारी गरेको बताए ।

प्रकाशित : मंसिर २८, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?