कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत भन्सार जाँच चौकी अन्तिम चरणमा

देवनारायण साह

मोरङ — विराटनगर १७ मा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकीको कामले तीव्रता लिएको छ । निर्माण कम्पनीले फागुन १५ भित्र चौकी निर्माण सक्ने गरी काम अघि बढाएको छ ।

एकीकृत भन्सार जाँच चौकी अन्तिम चरणमा

भेडियारीमा १ सय २९ बिघा जग्गामा भारत सरकारले २ अर्ब ८ करोड रुपैयाँको लागतमा निर्माण गरिरहेको छ । चौकी निर्माणका लागि दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोण अहमदावादलाई अत्याधुनिक सुविधासम्पन्न उक्त जाँच चौकी सन् २०१६ डिसेम्बरमा १ अर्ब ८३ करोड ३२ लाख ८० हजार रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको हो । सन् २०१८ डिसेम्बरसम्ममा निर्माण काम सम्पन्न गर्ने म्याद पाएका निर्माण कम्पनीको काम गत वर्षको बाढीले केही समय अवरुद्ध भएको हुँदा भारत सरकारले ५५ दिन म्याद थप गरिसकेको छ ।


निर्माण कम्पनीका परियोजना प्रमुख अबधेसकुमार साहले फागुन १५ भित्र निर्माण काम सक्ने योजनाका साथ काममा तीव्रता दिएको बताए । ‘चौकीको निर्माण काम ६२ प्रतिशत सकिएको छ,’ उनले भने, ‘भौतिक संरचनाको निर्माण काम अन्तिम चरणमा पुगेको छ ।’ चौकी निर्माणमा उपकरणहरू जडान गर्नुपर्ने रहेकाले प्रगति ६२ प्रतिशतमात्रै देखिएको उनले बताए । ‘भौतिक संरचनाको निर्माण काम सकिएर, अब फिनिसिङ र टायल्स लगाउने काम मात्रै बाँकी छ,’ उनले भने, ‘उपकरण जडान गरेपछि प्रगति ह्वातै बढ्ने छ ।’


पैगोडा शैलीको मुख्य प्रशासननिक भवन, प्रवेश र निकासीद्वार, गोदाम घर, सुरक्षा ब्लक, क्यान्टिन, चिलिङ सेन्टर, पशु र कृषि क्वारेन्टाइन चेक पोस्ट, ल्याबलगायतको भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको छ । चौकीभित्र सडक निर्माण र माटो भर्ने काम अहिले भइरहेको छ । चौकीदेखि रानी र रोडशेष चोकबीचको कोशी राजमार्गमा जोड्ने ६० मिटर चौडा सडक निर्माण काम सकिएको छ ।


भारततिरको एकीकृत भन्सार जाँच चौकी निर्माण सकिएर एक वर्षदेखि सञ्चालनमा आइसकेको छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले निर्माण भइरहेको जाँच चौकीको समयमा काम सम्पन्न हुनेमा आशावादी रहेको बताए । ‘अहिले पैदल यात्रु, साना सवारी र मालवाहक साधनसमेत एउटै बाटोबाट हिँड्न बाध्य छन्,’ उनले भने, ‘त्यसले ट्राफिक जामका साथै भन्सार क्षेत्र अस्तव्यस्त छ, व्यवस्थित रूपमा भन्सार जाँच पासलगायतको काम हुन सकेको छैन ।’


उनले वीरगन्जपछिको मुख्य नाका रहेको यहाँबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरको ५ सय बढी उद्योगको कच्चा पदार्थ तथा उत्पादन, भारतलगायतका तेस्रो मुलुकबाट आयात निर्यात गर्ने मालवाहक साधन दुई दिनसम्म लाइनमा बस्न बाध्य हुँदा लागत मूल्य बढ्ने गरेको बताए । चौकी निर्माण भएपछि आयात निर्यातका साथै व्यापार व्यवसायमा सहजता हुने शारडाले बताए ।


सरकारले सडकका लागि ४० बिघा र जाँच चौकीका लागि १ सय २९ बिघा जग्गा ३० करोड रुपैयाँ मुआब्जा वितरण गरी अधिग्रहण गरेर २०७३ मंसिर २९ मा भारत सरकारलाई हस्तान्तरण गरेको थियो । भारतले सम्पूर्ण संरचना निर्माण गरिसकेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने हो । जाँच चौकीमार्फत भारतलगायत तेस्रो मुलुकबाट माल बस्तु आयात निर्यात सहज रूपमा गर्न सकिन्छ ।


भारत र नेपाल दुबैतर्फ आमुन्नेसामुन्ने भन्सार जाँच चौकी हुँदा तत्काल जाँचपास भएर आयात निर्यात गर्न सहज हुन्छ । ल्याब परीक्षणका लागि पनि कलकत्ता पुग्नैपर्ने झन्झटबाट यहाँका उद्योगी व्यवसायी मुक्त हुन्छ । पैदल यात्रु, साना सवारी र मालवाहक साधन चल्ने छुट्टाछुट्टै सडक संरचना निर्माण हुने भएकाले नाकामा ट्राफिक जामलगायतको समस्या समेत नहने विराटनगर भन्सार कार्यालय प्रमुख मिमांश अधिकारीले बताए ।


‘अहिलेको भन्सार कार्यालय ४ बिघामा छ, यहाँको भन्सार यार्‍डमा २ सय ५० वटा मात्रै साना ठूला मालवाहक सवारी राख्न मिल्छ,’ उनले भने, ‘जसले भन्सार नाकामा मालवाहक सवारी सडकमै पार्किङ गर्न बाध्य छौं ।’ उनले एकीकृत भन्सार जाँच चौकी १ सय २९ बिघामा निर्माण भइरहेकाले त्यहाँ सबै काम व्यवस्थित रूपमा गर्न सकिने बताए ।


‘चौकी निर्माण भएपछि आयात, निर्यात, व्यापार व्यवसायसमेत सहज हुन्छ,’ अधिकारीले भने, ‘अव्यवस्थित भन्सार नाका र जामको समस्याले अहिले व्यापारीहरू वीरगन्ज र काँकडभिट्टा नाकाबाट मालबस्तु आयातनिर्यात गर्न बाध्य छन् ।’

प्रकाशित : मंसिर २८, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?