कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटपाथ व्यापारले पाल्दै परिवार

भोजपुर — भोजपुर सदरमुकामको टुँडिखेलमुनि जिल्ला समन्वय समिति जाने दोबाटोमा एउटा सानो प्राकृतिक हिमाली जडिबुटी र केही सामान राखिएको खुला दोकान छ । जाडो, गर्मी र झरी नभनी वर्षांैदेखि दोकान चलाउँदै आएकी छन् ५६ वर्षीया पिम्बा शेर्पा ।

फुटपाथ व्यापारले पाल्दै परिवार

९ वर्षअघि छिमेकी जिल्ला संखुवासभा खाँदबारी भोटखला गाउँपालिका चेपुवाबाट व्यापारको सिलसिलामा भोजपुर आएकी पिम्बा अझै पनि भोजपुर बजार र भोजपुरका विभिन्न गाउँका हाटबजारमा त्यही सानोतिनो व्यवसाय गर्दै जीविका चलाउँदै आएकी छन् ।


बहुउपयोगी आर्युवेदिक हिमाली प्राकृतिक जडिबुटीका सामान बेचेरै घर खर्च, छोराछोरीको पढाइ खर्च धान्छिन्, उनी । उनका श्रीमान् कर्साङ शेर्पा पनि यस्तै जडिबुटी बेच्दै अन्यत्र जाने गर्छन् । दुवै जना कााचो सिम्रिक, यार्सागुम्बा, फिटकिरी, चिप्लेकिरा, बिखुमा, नाम्लेको औषधि, अन्य आयुर्वेदिक सामान लगायत अन्य घरेलु किफायती सामानहरू बेच्दै हिँड्ने गर्छन् ।


‘खै किन हो, यत्तिका वर्ष भयो तर भोजपुर छोडिएन । यहीं सानोतिनो व्यापार गर्दै घरखर्च उठ्ने गरेको छ,’ उनले भनिन्, ‘हामी दुवै श्रीमान् श्रीमती नै यही व्यापार गर्दै हिँड्छौं । छोराछोरी सबै सासूससुरासँग घरमै छन् ।’ धरान, इटहरीबाट सामान ल्याएर बेचबिखन गर्ने पिम्बा र उनका श्रीमान् भोजपुरका मुख्यमुख्य हाटबजारतिर धाउने गर्छन् ।


धरानबाट आयुर्वेदिक सामान मात्र नभई उत्तरी सोलुखुम्बुबाट चम्मर (चौंरीगाईको पुञ्छर) ल्याएर त्यसको बिक्री पनि गर्ने गरेकी छन् । उनले उक्त चम्मर प्रतिगोटा २ हजारदेखि ४५ सयसम्म हेरीहेरी बिक्री गर्ने गरेको सुनाइन् । यसबाहेक उनी दिनभर दोकान फिजाएर एक छेउमा तान पनि बुन्ने गर्छिन् ।


उनले बुनेको तानबाट बन्ने ऊनीको झोला प्रतिगोटा पाँच सयदेखि १२ सय रुपैयाँसम्म बिक्री हुने गर्छ ।

घर गर्जो टार्नै विभिन्न ठाउँमा व्यापार लग्ने गरे पनि प्रायजसो पिम्बा भोजपुर टुँडीखेलमुनि नै आफ्नो सानो टहरामा व्यवसाय चलाउँछिन् । श्रीमान् पनि व्यापार गर्दै अन्यत्र यात्रामा निक्लिन्छन् ।


जीवन गुजारा गर्न भरपर्दो व्यवसाय चलाउने घरमा पनि कुनै आयस्रोत आम्दानी नभएको पिम्बा सुनाउँछिन् । ‘न सानोमा पढियो, न श्रीमान् नै पढे,’ उनले भनिन्, ‘दुबै जना अनपढ, घरमा आउने बाटो केही छैन । छोराछोरीलाई पढाउन र घर गर्जो चलाउनै भए पनि हामी दुई यस्तै सानो व्यापार गर्दै हिँड्छौं ।’ दसैंतिहार र लोछारको विशेष बेलामात्र आफू र श्रीमान् नानी र सासूससुरा भेट्न घर जाने गरेको उनले सुनाइन् ।

प्रकाशित : पुस १, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?