कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किबी जोन कार्यान्वयनमा

इलाम — किबी फल खेतीको प्रवर्धनका लागि इलाममा किबी जोन कार्यक्रम कार्यान्वयनमा आएको छ । जोन कार्यान्वयनमा आएसँगै खेती विस्तारमा लागेका कृषक हर्षित भएका छन् ।

किबी जोन कार्यान्वयनमा

सन्दकपुर गाउँपालिका १ को वडा कार्यालयमा तत्कालका लगि जोनको कार्यालय राखेर काम सुरु गरिएको हो । कार्यालयले अहिले जोनको कार्यक्षेत्र भित्रका कृषकलाई सूचीकृत गर्ने कामलाई अघि बढाएको छ ।


सन्दकपुर गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानमा व्यावसायिक किबी खेती फस्टाउँदै आएको छ । खेती व्यवस्थापन, माच व्यवस्थापन, सिँचाइ, कोल्डस्टोर तथा बजार व्यवस्थापनमा समस्या भएको अवस्थामा किबी जोन कार्यान्वयन भएकाले कृषकले थप व्यावसायिक हुन सक्ने अपेक्षा गरेका छन् ।


‘अहिलेसम्म कृषकको एक्लो प्रयासले मात्र किबी खेती अघि बढेको छ, ‘अगुवा कृषक देउकुमार राईले भने, ‘जोन स्थापनासँगै कृषकलाई प्राविधिक पक्षदेखि हरेक क्षेत्रमा सहयोग मिल्ने आशामा छौं ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किबी जोन कार्यक्रम सञ्चालनमा आएको हो ।


पाँचसय हेक्टर क्षेत्रफलमा किबी खेती भएकाले जोनको कार्यक्रम यहाँ आएको हो । यो कार्यक्रम जिल्लाको सन्दकपुर गाउँपालिकाका ५ वटै वडा र इलामनगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा सञ्चालन हुनेछ ।


‘जोन सञ्चालनपछि कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोस्ट हार्भेस्ट सेन्टर स्थापना, प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग पुग्नेछ,’ निमित्त वरिष्ट कृषि अधिकृत टोनी बर्देवाले भने, ‘यो कार्यक्रमका लागि कृषकलाई सूचीकृत गरिँदै गरेको र चाँडै ९ सदस्यीय सञ्चालक समिति गठन गरिनेछ ।’


किवी जोनअन्तर्गत किबीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शत प्रतिशत प्राविधिक सेवामा किसानले अनुदान पाउनेछन् ।


चालु आर्थिक वर्षमा जोनले १ करोड ३ लाख बजेट उपलब्ध हुनेछ । सञ्चालक समितिले उल्लेखित योजना छनौट गरेर कार्यान्वयन हुनेछ । जिल्लामा किवी खेती हुने अन्य गाउँपालिका र नगरपालिकामा कार्यक्रमअन्तर्गत नै पकेट र ब्लक कार्यक्रम सञ्चालन हुने कार्यालयले जनाएको छ । जिल्लामा बृहद रूपमा किबी खेती विस्तार भए सुपरजोनसम्मका कार्यक्रम कार्यान्वयन गर्न सकिने सम्बन्धितको भनाइ छ ।


१२ वर्षअघि जिल्लामा किबी खेती भित्र्याइएपछि विस्तारको क्रम निरन्तर छ । ‘वार्षिक २ लाख किलोभन्दा धेरै किबी उत्पादन भइरहेको छ,’ जिल्लामा किबी खेती भित्र्याउन पहल गरेका कृषक तारामणी खतिवडाले भने, ‘अब यसलाई व्यस्थापन गर्दै दिगो आम्दानीको स्रोत बनाउने जोनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।’


तथ्यांकअनुसार जिल्लामा प्रतिहेक्टर एक दशमलव ५३ मेटिक टन किबीको उत्पादकत्व रहेको छ । नेपालको पूर्वी क्षत्रमा मात्रै पाँच लाख किलो किबी उत्पादन हुने अनुमान छ । जोन कार्यक्रम सञ्चालनका लागि वरिष्ठ कृषि अधिकृतसहित २ प्रावधिक सहायक र २ कार्यालय सहयोगी रहने व्यवस्था छ ।


यतिबेला जिल्लामा पर्याप्त किबी रहे पनि कोल्ड स्टोरको अभावमा भने समस्या छ । पाकेपछि स्टोर गर्न नसकिने भएपछि उत्पादन उठाएको केही समयमा नै किबीको अभाव हुने गरेको छ । स्थानीय बजारमा प्रतिकिलो ३ सय रुपैयाँसम्ममा किवीको कारोबार हुने गरेको छ ।

प्रकाशित : पुस १, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?