कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिम्बूका २५ हजार शब्द

‘२५ हजार शब्द संकलन गर्न दुई दशक लाग्यो’

सुनसरी — हर्कजंग कुरुम्बाङ पेसाले ब्रिटिस गोर्खा लाहुरे हुन् । १६ वर्षसम्म बेलायती सेनामा कार्यरत उनको फरक परिचयबारे कमैलाई मात्र जानकारी छ ।

लाहुरेमध्येका सृजनशील र अन्वेशक हर्कजंग लिम्बू शब्द र अर्थको खोजकर्ता मात्र नभएर शब्दकोशकार पनि हुन् । केही महिनादेखि धरान–१५ बझगरास्थित घरैमा बसेर शब्द र अर्थ केलाउँदै बसेका उनले भने, ‘भावी पुस्ताका लागि लिम्बू भाषाको शब्द र अर्थहरू खोज्दै संकलन गर्दागर्दै २५ हजार शब्द भेला गरिएछ । यति शब्द संकलन गर्नका लागि दुई दशक लाग्यो ।’


उनलाई साथ दिएका थिए अर्का लाहुरे गम्भीर ध्वज तुम्बाहाम्फेले । यसअघि लिम्बू समुदायले बोल्ने भाषा लिपि र शब्दको संकलन नभएको होइन । केही विदेशी लेखकहरू कर्कप्याट्रिक, क्याम्वेल, हज्सन, एस डव्लु सिनियर त्यसपछि इमानसिं चेम्जोङ, काजिमान कन्दङा, विवि सुव्वा, रणबहादुर मेन्याङ्बो, बैरागी काइलालगायतले पनि लिम्बू शब्दकोश निकालेका थिए । तर पछिल्लो समयमा हर्कजंग र गम्भीरध्वले जति धेरै शब्द संकलन अघिल्लाले गरेका थिएनन् ।


शब्द संकलन गर्नु, त्यसलाई व्याकरणसँग मिलाउनु आफैंमा प्राज्ञिक काम हो । त्यसभन्दा बढी लिम्बू शब्दको भावानुवाद अंग्रेजी र नेपालीमा गर्नु झन गाह्रो हो । उनले भने, ‘कुनै पनि शब्दको अर्थ अर्को भाषामा ठ्याक्कै अनुवाद हुँदैन । यस्ता झन्झट व्यहोर्दै आफ्नै खर्चमा ८ सय ७० पेजको शब्दकोश प्रकाशन गर्न सफल भइयो ।’ शब्दकोश प्रकाशन गर्दा मात्र व्यक्तिगत रूपमा गम्भीरध्वज र उनको आठ लाख खर्च भएको थियो ।


यसअघि उनले नेपाली–लिम्बू शब्दकोश ०६५, कुरुम्बाङ बंशावली ०६८, तेजमान आङेम्बेसँगको सहकार्यमा आनि पान (ग्रामर र डिक्सनरी) ०७०, गम्भीरध्वज तुम्बाहाम्फेसँग सहकार्यमा लिम्बू–अंग्रेजी–नेपाली शब्दकोश, फोटो सहितको लुङथुङ यात्रा संस्मरण प्रकाशन गरिसकेका छन् ।


उनले भने, ‘इमानसिं चेम्जोङले पहिले नै लिम्बू, नेपाली र अंग्रेजी भाषामा शब्दकोश निकालेका थिए । ०१८ सालमा निकालेको उक्त शब्दकोशमा पर्याप्त शब्दहरू नपाएपछि थप शब्द संकलन गर्ने प्रेरणा पाएँ ।’ त्यसैको प्रेरणाअनुसार उनी लागे फेरि लिम्बू शब्द र अर्थ खोज्न ।


शब्द संकलनकै लागि उनी र गम्भीरध्जव मिलेर सिक्किमको सोर्‍याङमा पुगे । भाषाका प्राध्यापक चन्द्र माङयुङ, पुर्ण मुरिङ्लासँग छलफल अन्तक्र्रिया गरे । भाषाशास्त्री तेजमान आङदेम्बे, लिम्बू, संस्कृतिविद् चैतन्य सुव्वा मेन्याङ्बो, प्रसाद थेवे, हस्तलाल साउदेन, कालेम्पुङमा खगेन्द्र सम्बाहाम्फे, मुन्धुमविद् तुम्याङहाङ लक्ष्मण मेन्याङ्बो, अर्जुनबाबु माबुहाङ, हर्क इजमलगायतलाई भेटेर थप शब्दरू संकलन गरे ।


उनले भने, ‘लिखित अभिलेखहरू पाचथरे भाषा, बोलिचालीको भाषा फेदापे र छथरे निकै फरक भएको पाइयो । तमोरखोले शब्द पनि अरू भन्दा लवजमा फरक भएको पाइयो । यद्यपि, लवज फरक भए पनि बोलिएका शब्द सबैले बुझ्न गाह्रो पर्दैन ।’


येवा येमा फेदाङ्माहरूले विभिन्न तङसिङ अनुष्ठानमा बाचन गर्ने मुन्धुमी भाषा शब्दहरू कतिपय अझै पनि शब्दकोशमा अटाउन सकेका छैनन् । मुन्धुमका शब्दलाई पनि अब संशोधन हुने शब्दकोशमा थप्ने तयारीमा जुटेको बताए ।


उनले भने, ‘शब्दकोशका लागि शब्द संकलन गर्दा मुन्धुममा प्रयोग गरिने शब्द थाहा नपाए पनि हालिएन । बास्तवमा त्यसो गर्न नहुने रैछ ।’ अब थपिँदा करिब २० देखि ३० हजार शब्द थपिन बाँकी रहेको उनले बताए । कतिपय शब्दको अनुवाद नै पनि गर्न नसकिने छ । हाल शब्दकोश परिमार्जनमा लागिरहेका छन् ।

प्रकाशित : पुस ३, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?