कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाँच चौकीले नाकामा सहज

भन्सार नाकामा ४ घण्टासम्म हुँदै आएको गाडीको जाम हट्यो

मोरङ — निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी अस्थायी रूपमा सञ्चालनले विराटनगर भन्सार नाकामा हुँदै आएको जाम सहज भएको छ । भन्सार कार्यालयदेखि नहरसम्म कोसी राजमार्गमा हुँदै आएको सवारी पार्किङ हाल हटेको छ । 

जाँच चौकीले नाकामा सहज

विराटनगर भन्सार कार्यालय प्रमुख मिमांश अधिकारीले भन्सार जाँच चौकी अस्थायी रूपमा सञ्चालन भएपछि भन्सार नाकामा हुँदै आएको सवारी जाम सहज भएको बताए । ‘भारतलगायत तेस्रो मुलुकबाट विभिन्न मालसामान बोकेर आएका सवारी भन्सार जाँच चौकीबाट भारततर्फ फर्काउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘जाँच चौकीभित्र निर्माण काम भइरहेकाले साँझ ७ बजे तीन घण्टा खाली गाडी भारततर्फ पठाउने काम हुन्छ ।’


दैनिक दिउँसो १ बजेदेखि भारततर्फ जाने सवारी जाँच चौकी सडकमा लाइन लगाएर राखेपछि साँझ चेकजाँच गरेर पठाउने गरेको अधिकारीले बताए । ‘दैनिक १ सय सवारी चौकीबाट गइरहेको छ,’ उनले भने, ‘यसले नेपाल र भारत दुबैतर्फ भन्सार नाकामा हुँदै आएको सवारी जाम सहज भएको छ ।’


सवारी जाम सहज भएपछि यात्रु तथा पर्यटकलाई विराटनगर भन्सार नाकाबाट आवतजावतमा सहज भएको छ । ‘यस भन्सार नाकाबाट दैनिक १०/१२ हजार यात्रु तथा पर्यटक र ७/८ सय सानाठूला सवारी आवतजावत हुन्छ,’ उनले भने, ‘भारततर्फ जाने खाली सवारी बिहान भन्सार नाकाबाटै पठाउने गरेको र त्यसपछि चौकीबाट पठाउन थालेपछि यात्रु, पर्यटक तथा सवारी अवागमनमा सहज भएको छ ।’ नाकामा सवारी र यात्रुको भीड पनि अहिले हटेको अधिकारीले बताए ।


भन्सार नाकामा ४ घण्टासम्म हुँदै आएको गाडीको जाम अहिले हटेर मालबस्तु आयात गर्न व्यवसायीलाई सहज भएको मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले बताए । ‘भारतको बथनाहासम्म मालवाहक गाडी जाम हुने अबस्थामा अहिले सहज भएको छ,’ उनले भने, ‘भन्सार जाँच चौकीबाट खाली गाडी पठाउन थालेपछि यस नाकाबाट आयात निर्यात गर्ने सबै उद्योगी व्यवसायीलाई राहत भएको छ ।’


अधिकारीले ४ बिघामा रहेको भन्सार कार्यालयको सानो यार्डमा सानाठूला गरी २ देखि अढाई सय मालबाहक सवारी मात्रै पार्किङ गर्न मिल्ने अवस्था रहेको बताए । ‘भारतलगायत तेस्रो मुलुकबाट आएको मालवाहक गाडी भन्सार जाँचपासका लागि भन्सार यार्डमा पार्किङ गर्ने ठाउँ नपाएर सडकमा पार्किङ गर्न अवस्था छ,’ उनले भने, ‘मालवाहक सवारीसँगै यसअघि भारततर्फ फर्किने सवारीले ठूलो जाम हुन थियो जुन अहिले सहज भएको छ ।’


अधिकारीले भन्सार जाँच चौकीभित्र सडक निर्माणको काम सकिने बित्तिकै बिहानको समयमा पनि भारततर्फ गाडी पठाउने तयारी गरेको बताए । बिहानको समयमा पनि चौकीबाट खाली गाडी भारततर्फ पठाउन थालेपछि भन्सार नाकामा एउटा पनि गाडी नरोकिने अवस्था निर्माण हुने उनको भनाइ थियो ।


उनले १ सय २९ बिघामा एकीकृत भन्सार जाँच चौकीको पनि निर्माण काम तीव्र रुपमा भइरहेको र फेब्रुअरीमा निर्माण काम पूरा हुने निर्माण कम्पनीले भन्दै आएको बताए । चौकी निर्माण भएपछि मंसिर १९ बाट भारतलगायत तेस्रो मुलुकबाट सामान बोकेर आएको मालवाहक सवारीले हुँदै आएको सडक जामको समस्या समाधानका लागि नेपाल–भारत समन्वय समितिले अस्थायी रूपमा चौकी सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : पुस ४, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?