पुसे मेलाको रमझम
ताप्लेजुङ — ‘पुसे मेला भेट भाको बेला,
माया साटौं लै लै धानै नाचेर’
लोक गायक खगेन्द्र याक्सोको यो गीतले पूर्वी नेपालमा निकै चर्चा पायो । हरेक वर्ष जब पुस नजिकिँदै जान्छ हरेकका मुखमा यो गीत गुञ्जन थाल्छ ।
पुस लागेपछि त मेरिङदेन गाउँपालिकाको दोभानमा भेला भएकाहरूले सडकदेखि मञ्चसम्मै गुञ्जायमान बनाइदिन्छन् । स्थानीय सञ्चार माध्यममा यसैले प्राथमिकता पाउँछ ।
यो वर्ष जब पुस सुरु भयो बंगालको खाडीमा विकसित फेथाइको असर पनि यहाँसम्मै आइपुग्यो । सोमबारदेखि नै घटेको तापक्रमले मंगलबार पनि छोडेन । तथापि पुसे मेला भर्नेले भने फेथाइको असर छल्दै ४३ वर्षदेखिको मेलालाई न्यायो बनाउने कोसिस गरेर तताए । बंगालको खाडीबाट आएको र नजिकैका तमोर र मैवाखोलाले उब्जाएका चिसोलाई छल्दै न्यानोको अनुभव गराए ।
पुस १ गतेबाट सुरु भएको मेलाले युवा पुुस्तादेखि बुढापाकासम्मलाई तानेको छ । लालाबाला डोहोर्याउँदै पुसे मेला भर्नेको भीड यो वर्ष पनि कम नभएको आठराई त्रिबेणी गाउँपालिका ३ हाङपाङका खड्ग विक्रम सुवेदी बताउँछन् । मेलामा औद्योगिक सामानदेखि किसानले उत्पादन गरेका कृषि उपजहरू राखिएको छ ।
गाउँपालिकाको ऐतिहासिक मेला भएकाले मेरिङदेन गाउँपालिकाले मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । अझ यो वर्षको त आयोजकपनि गाउँपालिका आफैं भएको गाउँपालिकाका सूचना अधिकारी धिरेन कुमार योञ्जनले बताए ।
ऐतिहासिक मेलाको अपनत्व ग्रहण गर्न र यस्को प्रवद्र्धनका लागि आयोजक बसेको उनले बताए । यहाँ प्रदर्शनीका अलावा फुटबल, भलिबल, ब्याडमिन्टन जस्ता खेलकुद प्रतियोगिता आयोजना गरिएको योञ्जनले बताए ।
यो मेला २०३२ साल पुस १ गतेबाट सुरु भएको तत्कालीन खाम्लुङ गाउँ पञ्चायतका प्रधानपञ्च कृष्ण न्यौपाने बताउँछन् । ‘वारिपारिका साथीभाइ भेला भएर तीतोमीठो साटौं, भेट हुने चौतारो बनाऔं भनेर मेलाको सुरुवात गरेको न्यौपानेद्वारा प्रकाशित ग्रन्थमा उल्लेख छ ।
‘अहिले जस्तो पुलपुलेसा, सञ्चारका माध्यम नभएको त्यो समयमा टाढासम्म हिँडेर जाने यातायात नभएको र वर्षमा एक पटक भए पनि भेला हुने ठाउँ बनाऔं मेलाको शुभारम्भ गरेको कृष्णको भनाइ उद्धृत गर्दै उनका बालकुमार न्यौनाने बताउँछन् । खुला रहेको महादेवटारमा मेला लगाउन थालिएको थियो । मेलास्थल हालका तीनवटा गाउँपालिकाका १८ वटा वडाको केन्द्र पनि हो ।
तत्कालीन खाम्लुङमा मात्रै नअटेर छिमेकी गाविस चाँगेमा पनि मेला विस्तार गरिएको थियो । मेलामा जिल्लाकै चर्चित तेल्लाबुङको सुन्तला महोत्सवको आकर्षण हुन्थ्यो भने धान नाचेर विवाह गर्नेहरूको संख्या निकै उल्लेख्य हुन्थ्यो । पहिलो मेला पनि दोहोरी गीत गाएर र धान नाचेर सुरु भएको न्यौपाने बताउँछन् ।
सुरुमा तीन दिन मात्रै लगाउने भने पनि मानिसको जमघट बढ्दै जाँदा स्वत:स्फुर्त पाँच दिन लाग्न थालेको दोभान बजारका बासिन्दाको अनुभव छ । विद्रोही माओवादी र राज्यको दोहोरो भिडन्त भएको सशस्त्र द्वन्द्वमा पनि मेला बन्दचाहिँ नभएको बालकुमार बताउँछन् ।
मेलाकै बेला सेनाको गोली लागेर यहाँ तीन जनाको ज्यान समेत गएको थियो । २०३५ देखि ५४ सालसम्मत पूर्वाञ्चलभरिका मानिस मेला भर्न आउने बालकुमार बताउँछन् । अहिले पनि जिल्लाबाहेक तेह्रथुम, संखुवासभादेखिका मानिस आउने गरेका छन् ।
तीन वर्षअघि मेलालाई महोत्सवका रूपमा मनाइएको थियो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले हेलिकप्टरमा आएर मेलाको उद्घाटन गरेका थिए । मेलाको पूर्वसन्ध्यामा गोठ कटेरा बनाउने, व्यापार व्यवसाय गर्ने चलन छ ।
प्रकाशित : पुस ४, २०७५ १०:३६