कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकले फेरियो दैनिकी

दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि आवतजावत र बिरामी पर्दा अस्पताल पुग्नसमेत सहज

संखुवासभा — गाउँमा सडक पुगेपछि धर्मदेवी नगरपालिकाको टुटेदेउरालीदेखि तीनजुरे, चौकी, मंगलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मका स्थानीयको दैनिकी फेरिएको छ । अहिले सुनसरीको धरानदेखि सीधै टीएमजे क्षेत्रसम्म दैनिक बस सेवा सञ्चालनमा छ ।

सडकले फेरियो दैनिकी

घुम्न जानेहरू बस चढेरै टिएमजे पुग्छन् र साँझ, फर्कन्छन् । धरानदेखि कोशी राजमार्ग भएर तेह्रथुमको वसन्तपुर पुगेपछि निर्माणाधीन मदन भण्डारी राजमार्गबाट ताप्लेजुङको साँघुसम्म दैनिक बस सेवा सञ्चालनमा रहेको व्यवसायी कासाङ शेर्पाले बताए । वर्षातको केही महिना भने साना यातायातका साधनमात्रै यो सडकमा चल्छ ।


‘बसमा यात्रु खचाखच हुन्छन्, त्यसमध्ये आन्तरिक पर्यटक नै धेरै हुन्छन्,’ उनले भने, ‘दैनिक यातायात सेवा भएपछि टिएमजे क्षेत्रका बासिन्दालाई समेत सुविधा भएको छ ।’ दैनिक उपभोग्य बस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको गुफाबजारका धार्के शेर्पाले बताए । ‘पहिले बिरामी पर्दा अस्पताल पुग्न नपाई मर्नु पथ्र्यो, त्यसमध्ये धेरै प्रसूति पीडाले मर्थे,’ चौकीबजारका उदयकुमार तामाङले भने, ‘अहिले कमसेकम त्यो कहालिलाग्दो अवस्था हटेको छ ।’


अहिले दैनिक जसो टिएमजे क्षेत्रका डाँडाकाँडामा पर्यटक आइरहेको उनले बताए । गुफापोखरी र यहाँको सुन्दरतामा रम्न हरेक साताजसो तेह्रथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङका सर्वसाधारण पुग्ने गरेका हुन् । निर्माणाधीन यो सडकलाई सरकारले मदन भण्डारी लोकमार्गका रूपमा नामाकरण गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।


दुई वर्षभित्र सडकलाई स्तरोन्नति गरी बाह्रै महिना सवारी सञ्चालनयोग्य बनाउन पहल भइरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताए । सडकमा सवारी चल्न थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिका, संखुवासभाको मादी नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिका तथा ताप्लेजुङको मैयाखोला गाउँपालिकाका बासिन्दालाई दैनिकी चलाउन सहज भएको छ ।

‘गाउँबाट पूर्वी तराईको धरानसम्म पुग्न सहज भएको छ,’ खत्रीले भने, ‘सडकका कारण दैनिक आवतजावतसँगै बिरामी पर्दा समयमै अस्पताल पुग्न सहज भयो, सडक निर्माणपछि धेरै व्यवसायीहरू चौंरी र खच्चड बिक्री गरेर अन्य पेसा व्यवसायमा लागेका छन् ।


सडकले यहाँका ग्रामीण बजारहरूमा दैनिक उपभोग्य बस्तुहरूको मूल्य सस्तिएको छ । यहाँ आउने पर्यटकहरूलाई समेत आवतजावतमा सहज भएको छ । तीनजुरे मिल्के जलजले क्षेत्रको मुख्य गन्तव्यका रूपमा गुफापोखरी क्षेत्रसम्म पुग्न आन्तरिक तथा बाहय पर्यटकहरूले बस चढेरै टिएमजे घुमेर फिर्न पाएको उनले बताए ।


टुटेदेउरालीदेखि तीनजुरे, चौकी, मंगलबारे, श्रीमाने, भालुखोप, लामपोखरी, गुफाबजार हुादै दोभानसम्मको चौंरी हिँड्ने सडकमा अहिले साना ठूला गाडी गुड्छन् । मंगलबारेमा व्यापार गर्दै आएका राम उप्रेती सडक निर्माणसँगै दैनिकी चलाउन सहज भएको बताउँछन् ।


यो क्षेत्रमा केही वर्ष अघिसम्म चौंरीलाई भारी बोकाउने स्थानीयवासीबीच प्रतिस्पर्धा चल्थ्यो । सडक पुगेपछि यो प्रतिस्पर्धा हटेको छ । यो रूटमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, त्यो ठूलो व्यवसायी पनि ठानिन्थ्यो ।


टुटेदेउराली, चौकी, मंगलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको रूटमा धेरै व्यवसायीहरू चौंरी र खच्चडलाई भारी बोकाउने पेशाबाट जीवन धान्थ्ये । तर अहिले अवस्था फेरिएको छ । माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने बसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यति बेला सडकको डोब मात्रै तयार भएको छैन, गाडी समेत ओहोरदोहोर गर्न थालेका छन् ।

पर्यटकीय यी क्षेत्रका डाँडाकाँडामा सडक निर्माणसँगै गाडीबाट खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु ढुवानी भइरहेको छ । जसकारण चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकहरूले पेशा परिवर्तन गरेका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको यो तीनजुरे–मिल्के–जलजले क्षेत्र गुराँसको राजधानीको रूपमा चर्चित छ ।


यी क्षेत्रमा सडक पुगेपछि चौंरीलाई भारी बोकाएर व्यवसाय गरेर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेसा फेरिएको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताइन् ।


धेरैजसोले चौंरी र खच्चड पनि व्यवसायीले बिक्री गरिसकेका छन्, उनले भनिन्, ‘पहिले यो रूटमा भरियाले खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तु बोकेर माथिल्लो क्षेत्रमा पुर्‍याउँथे, पछि यो काम चौंरी र खच्चडले गर्न थाले ।’ भरियाको तुलनामा चौंरी र खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित थिए । तर त्यो पनि अब सडकले थप सुविधायुक्त बनाएको छ ।

प्रकाशित : पुस ६, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?