कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पर्म’ ले धान्दै तरकारी खेती

गाउँका युवा वैदेशिक रोजगारमा गएपछि स्थानीय कृषक पुरानै चलनमा फर्किए आलोपालो काम गर्दै

धनकुटा — छथर जोरपाटी गाउँपालिका २, जोरपाटीका कृषक रत्नबहादुर मगरको टहारबारीभरि २५ बढी छरछिमेक भेला भएर आलु रोप्न सघाउँदै थिए । भर्खरै जोतेको बारीमा मल छर्न थुप्रो लगाइएको थियो ।

केही मल छर्दै थिए त कोही कोदालोले खोस्रदै आलु रोप्दै थिए । २ हजारभन्दा बढी उचाइमा रहेको उक्त स्थानमा उत्तरतर्फ चिहाएको मकालु हिमालको चिसो मिसिएको सिरेटो पर्वाहा नगरी कतिपय ठट्टा र रमाइलो भाकामा गीत गाउँदै आलु रोप्ने डोब बनाइरहेका देखिन्थे ।


उक्त गाउँका घरैपिच्छे युवा जनशक्ति वैदेशिक रोजगारमा गएपछि चिन्तित रहेका स्थानीय कृषक यति बेला पुरानै चलनमा फर्किएका छन् । उनीहरू पर्म (सामूहिकरूपमा आलोपालो सघाउने काम) बाट खेती गर्दै मनग्ये आम्दानी हात पार्दै आएका छन् ।


पर्म तिर्न भेला भएका छरछिमेकले बिनाशुल्क खेतबारीको काम सघाउन थालेपछि जोरपाटीका कृषक ढुक्कसँग खेतिपातीमा जुट्न थालेका हुन् । रत्नबहादुरले ३० रोपनी क्षेत्रफलमा आलु र मटर खेती गर्ने तयारी गरेका छन् । त्यसो त बन्दा कोपी र अन्य तरकारीको मौसममा पनि पर्म कै माध्यमले खेतिपाती गर्दै आएको बताए । ‘पर्म तिर्नेलाई पेटभरि खाजा खुवाए भै हाल्छ’ उनले भने, ‘पर्म कै माध्यमले खेतिपाती गरेर मनग्ये उत्पादन हुने गरेको छ ।’ रत्नबहादुरले मौसम अनुसारको तरकारी खेतीबाटै वार्षिक तीन लाख बढी आम्दानी गर्ने बताए ।


परम्परागत रूपमा रहेको पर्म तिर्ने परम्परा कतिपय ठाउँमा दैनिक हाजिरामा काम गर्न थालेसँगै लोप बन्दै गएको छ । तर जोरपाटीमा यो परम्परा ब्यँुताएसँगै स्थानीय कृषकलाई खेतिपाती गर्न सहज बनेको अर्का कृषक इन्द्रबहादुर गुरुङको ठम्याइ छ । उनले ४० रोपनी जग्गामध्ये १३ रोपनीमा आलु र मटर खेती गर्दै आएका छन् । अरूलाई काम सघाए बापत आफूलाई पनि प्रत्येक घरबाट अनिवार्य रूपमा सघाउने वा पर्म तिर्न आउने उनले बताए । ‘धेरै जनालाई पर्म लगाइयो भने धेरैले नै आफूलाई पनि पर्म तिर्छन्,’ उनले भने, ‘आफ्ना बारीमा काम गर्ने दिनको खबर गरेपछि सबै आइहाल्छन् ।’

धनकुटा नगरपालिका २ गुराँसेकी टिका सारु मगरले तरकारी खेतीबाटै मनग्ये आम्दानी गर्दै आएकी छन् । वैदेशिक रोजगारका लागि श्रीमान् विदेशिएको वर्षौं भयो । तर एक्लो प्रयासमा उनले १५ रोपनी बारीबाट उल्लेख्य आम्दानी हात पार्दै आएकी छन् ।


उनले पनि पर्मकै माध्यमले खेती गर्दै आएको बताइन् । ‘खेताला भएनन् भन्ने पिरलो छैन, सारै सजिलो भएको छ,’ उनले भनिन्, ‘पर्मले अरूलाई सघाइन्छ, अरूले पनि सघाउँदा ढुक्क हुन्छ ।’ जोरपाटीका छत्रबहादुर सिंजाली मगरले पनि पर्मबाटै खेतीपाती गर्दै आएको बताए ।

उनले ८ रोपनी जग्गामा पर्मकै माध्यमले मौसमअनुसारको तरकारी खेती गर्दै आएकी छन् । स्थानीय अम्बिका गुरुङ, निशा लिम्बू यी सबैलाई खेतीपाती गर्ने भरपर्दो आधार पर्म बनेको छ ।


मुलुकमा नै तरकारीको उर्बर भूमिको रूपमा रहेको उक्त क्षेत्रमा पुस माघमा आलु र मटर कोसा रोप्ने चलन छ । यस्तै फागुनमा यो बाली फलेपछि बन्दा र काउली रोपिन्छ । छथर जोरपाटी क्षेत्रबाट मात्र वर्षमा २५ करोड बढीको तरकारी उत्पादन हुने कृषि ज्ञान केन्द्र स्रोतले जनाएको छ । तरकारीको उक्त उर्बर भूमिमा पर्म प्रणाली प्रभावकारी बन्दै गएको स्थानीय कृषकको भनाइ छ ।

प्रकाशित : पुस ११, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?