कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ को मुख्यमन्त्री नियुक्ति बुधबारलाई सारियो, फोरम नेता राउतको दाबी

सन्तोष सिंह

धनुषा — प्रदेश २ को मुख्यमन्त्री पदका लागि संघीय समाजवादी फोरम संसदीय दलका नेता लालबाबु राउतले दाबी प्रस्तुत गरेका छन् । 

प्रदेश २ को मुख्यमन्त्री नियुक्ति बुधबारलाई सारियो, फोरम नेता राउतको दाबी


प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थसमक्ष प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेता राउतले दोस्रो दल राष्ट्रिय जनता पार्टीको समर्थनमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । प्रदेशसभामा बहुमत प्राप्त गठबन्धन सरकार निर्माणको दाबी पेस गर्न राउतसँगै राजपा संसदीय दल नेता जितेन्द्र सोनाल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीको नियुक्ति घोषणा भने बुधबार मात्रै हुने छ ।


प्रदेश प्रमुख कार्यालयका सचिव लवण्य ढकालका अनुसार मंगलबारै मुख्यमन्त्री नियुक्तिको सम्पूर्ण तयारी गरिए पनि फोरम र राजपाका नेताहरुको आग्रहमा बुधबार १० बजेको समय तय भएको हो । यसअघि प्रदेशप्रमुख कायस्थले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा प्रदेशसभामा बहुमत प्राप्त नेतालाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका थिए ।


१ सय ७ सदस्यीय प्रदेशसभामा फोरमको २९ र राजपा २५ गरी ५४ सिट छ । संविधानको धारा १६८ को उप धारा १ मा प्रदेशसभामा कुनै पनि दलको बहुमत नभएको अवस्थामा प्रदेश प्रमुखले दुई वा दुइभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्छ ।


एमालेको २१, नेपाली काग्रेसको १९, माओवादी केन्द्रको ११, नेपाल संघिय समाजवादी पार्टी र स्वतन्त्रको १/१ जना सांसद छन् ।

प्रकाशित : फाल्गुन १, २०७४ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?