कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडक निर्माणमा अवरोध

अवधेशकुमार झा

राजविराज — तराई मधेसको विकासको मेरुदण्ड भनिएको बहुचर्चित हुलाकी सडक निर्माण कार्यमा सप्तरीमा अवरोध भएको छ । 

हुलाकी सडक निर्माणमा अवरोध

केही स्थानीय बासिन्दाले हुलाकी सडक निर्माण कार्य पूर्वको सर्भे कार्यमै अवरोध गरेपछि हुलाकी सडक निर्माणको प्रक्रिया अवरुद्ध भएको हो । राजनैतिक रूपमा पनि हुलाकी राजमार्गको निर्माण कार्य बन्नुपर्ने आवाज जोडतोडका साथ उठिइरहदा निर्माण पूर्वको सर्भे कार्यमै अवरोध भएको छ ।

राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले राजविराज नगरक्षेत्रको राममन्दिरवाट जमुनीसम्मको क्षेत्रमा केही स्थानीयले सर्भे कार्यमा अवरोध उत्पन्न गर्ने प्रयास गरेको बताए । १५ दिनअघि निर्माण कम्पनीसित सम्झौता भई हुलाकी सडक निर्माण कार्यको प्रक्रिया अघि बढेको हो ।

सप्तरी जिल्लामा कञ्चनपुरदेखि राजविराजसम्म एउटा र राजविराजदेखि बलान नदीसम्म अर्को खण्ड गरी दुइटा योजनामा गरी सप्तरीमा ४० किलोमिटर सडक निर्माण हुने हुलाकी राजमार्ग निर्माण आयोजना इटहरीका प्रमुख शैलेन्द्रमणी त्रिपाठीले जानकारी दिए । राजविराजदेखि पूर्व खण्डको ब्रजगुरु कन्स्ट्रक्सन र राजविराज पश्चिमको निर्माण कार्यको सम्झौता रौताहा कन्स्ट्रक्सनले गरेको छ । दुबै योजना गरी २ अर्बमा निर्माण हुने सप्तरी खण्डको ४० किलोमिटर सडक निर्माण कार्य अढाई वर्षमा सम्पन्न हुने लक्ष्य दिइएको त्रिपाठीले जानकारी दिए ।

राजविराज पूर्वको खण्डको सर्भे गर्ने कार्य अन्तिम चरणमा पुगेको र राजविराज पश्चिमको सर्भे कार्यमा अवरोध भएको हो । हुलाकी राजमार्गअन्तर्गत सडकको मध्य भागबाट दुबैतर्फ १५–१५ मिटर क्षेत्र लिने तयारी गरिएको छ । यद्यपि सर्वसाधारणको मार्कालाई ध्यानमा राखी कुल १८ मिटर क्षेत्रमा मात्र सडक निर्माण गर्ने गरी योजना अगाडि बढाइए पनि नबुझेर केही व्यक्तिले सर्भे कार्य रोकेको संलग्न अधिकारीहरूले बताए । राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले हुलाकी राजमार्गको निर्माण कार्यमा कहीं कतैबाट अवरोध हुन नहुने बताए । उनले केही स्थानमा देखिएका अवरोधहरू स्थानीय जनप्रतिनिधि र सम्बन्धित पक्षबीच आपसी सम्झदारीका हिसावले समाधान गरिने बताए ।

राजविराजका विजय दासले आफूहरूको जग्गा कुन आधारमा अधिग्रहण गर्न लागेको हो सोको प्रक्रिया समेत जानकारी नदिएर सर्वे कार्य अगाडि बढाए पनि रोक्नुपरेको बताए । उनले सडकको मध्य भागबाट १५–१५ मिटर लिई राजविराज क्षेत्रमा मात्र धेरै सर्वसाधारणको घर भत्किने र कयौंको उठिवास हुने समस्या रहेको बताए । तर आयोजना प्रमुख त्रिपाठीले अहिले तत्तकालका लागि १५–१५ मिटर नलिन पनि सकिने बताए । ‘निर्माणका लागि आवश्यकभन्दा बढी क्षेत्रमा घर भत्काउने हाम्रो योजना होइन,’ त्रिपाठीले भने, ‘कतै कतै नबुझेर पनि विरोध गर्ने कार्य भइरहेको छ ।’ ‘यो अहिले नयाँमा आएर सडक निर्माण गर्न लागिएको होइन्’, उनले भने, ‘भएका वाटोलाई स्तरोन्नति गरी हुलाकी सडकको निर्माण हुने भएकाले विकासको पूर्वाधार निर्माणका लागि सर्वसाधारण सकारात्मक हुनु जरुरी छ ।’

हुलाकी सडकको निर्माण कार्यका देखिएको समस्या सहमतिका आधारमा समाधान गरी निर्माण कार्यलाई अघि बढाउनुपर्ने स्थानीय बासिन्दाहरूको माग रहेको छ । वर्षौंदेखिको सपनाका रूपमा रहेको हुलाकी सडक लामो समयको राजनैतिक प्रतिबद्धता र जनताको माग अनुरूप निर्माण हुन लागेको हो । तर सर्भे निर्माण पूर्वको अन्तिम सर्भे कार्यमै स्थानीय बाट अबरोध उत्पन्न हुन थालेपछि हुलाकी सडक निर्माण कार्यमा समस्या उत्पन्न भएको छ । निर्वाचनताका हरेक राजनैतिक दलको घोषणा पत्रमा तराईको विकासका लागि हुलाकी राजमार्ग निर्माणको विषय उठाई अहिले भइरहेका अवरोधहरू समाधान गर्ने दिशामा राजनैतिक दलहरूबाट प्रयास भएको छैन ।

जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादवले लामो समयमको प्रयासपछि निर्माण हुन लागेको हुलाकी सडक निर्माण कार्यमा कहीं कतैबाट अवरोध हुन नहुने बताए ।

प्रकाशित : फाल्गुन २, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?