कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुशासन र पूर्वाधार विकास

मुख्यमन्त्रीको प्राथमिकता
सन्तोष सिंह

धनुषा — मुख्यमन्त्री मो. लालबाबु राउत गद्दिले विकासका पूर्वाधार र विभेद मुक्त प्रदेश बनाउने संकल्प गरेका छन् । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थसँग बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनले प्रदेश सरकारका योजनाबारे संक्षिप्त धारणा राखेका हुन् । 

सुशासन र पूर्वाधार विकास

मुख्यमन्त्री राउतसँगै बिहीबार भौतिक पूर्वाधारमन्त्री जितेन्द्र प्रसाद सोनाल र आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले पनि प्रदेश प्रमुखबाट शपथ लिएका छन् । संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकारको नेतृत्व गरेका राउतले पहिलो चरणमा राजपा संसदीय दलका नेता सोनाल र आफ्नो दलका यादवलाई मन्त्रिपरिषद्मा समेटेका हुन् ।


मुख्यमन्त्री राउतले राजनीतिक, आर्थिक र सामाजिक समस्या समाधानका लागि विशेष कार्यक्रम ल्याउने बताए । ‘विभेद मुक्त प्रदेश बनाउने छु,’ उनले भने, ‘प्रदेश २ का किसानले भोग्दै आएको समस्या समाधान गरी बेरोजागार युवालाई रोजगारीका लागि प्रदेशभित्रै उद्योग कलकारखाना स्थापना गर्ने छु ।’ आफ्नो सरकारले शिक्षा, स्वास्थ्य, सडक र सिँचाइलाई प्राथमिकता राख्ने उनले बताएका छन् । जानकी मन्दिर, छिन्नमस्ता, सलहेश, गढीमाइलाई पर्यटकी स्थलका रूपमा विकास गर्ने उल्लेख गर्दै उनले सडक बिस्तार र रेल्वे लाइन निर्माणलाई तीव्रता दिने बताए ।

जनकपुर चुरोट कारखानाको चौरमा आयोजित प्रदेश २ को मुख्यमन्त्री र मन्त्रीको शपथ ग्रहण समारोह स्थल खचाखच भरिएको थियो । सर्वसाधारणलाई खुला गरिएको प्रदेशको पहिलो सरकारका मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा सत्तारुढ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका संयोजक महन्थ ठाकुरलगायतका नेताहरू उपस्थित थिए । मुख्यमन्त्री राउत र मन्त्रीद्वय सोनाल र यादवले तीन फरक भाषामा शपथ लिएका छन् ।


प्रदेश प्रमुख कायस्थले शपथको व्यहोरा नेपाली भाषामा उच्चारण गरिरहँदा मुख्यमन्त्री राउतले भोजपुरीमा, मन्त्री जितेन्द्र सोनलले हिन्दीमा र विजय यादवले मैथलीमा दोहोर्‍याएका थिए । यसअघि प्रदेश सभाको पहिलो बैठकमा केही नेताहरूले हिन्दीमा भाषणा गरेपछि जनकपुरमा भाषा विवाद चर्किएको छ ।


भोजपुरीमा सपथ लिएपछि मुख्यमन्त्री राउतले हिन्दी वाक्यांशबाट सुरु गरेपनि बाँकी सम्बोधन नेपालीमा गरे । ‘मेरो भावना व्यक्त गर्ने सहज भाषा नेपाली हो । नेपालीमा लिखित मन्तव्य राख्छु,’ उनले भने । आफूले सबै भाषालाई कदर गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले नेपाली भाषामा सम्बोधन गर्दा तालीको गडगडाहट गुञ्जिएको थियो ।


प्रदेशको पहिलो मुख्यमन्त्री बनेका मुस्लिम समुदायका राउतले हिन्दु धर्मअनुसार गृह प्रवेश पूजा गरी पदभार ग्रहण गरेका थिए । त्यसअघि उनी जनकपुरस्थित मुजेलीमा सहिद स्मारक स्थल पुगेका थिए । उनले तेस्रो मधेस आन्दोलनमा सहिद भएका नितु यादव, दिसलप यादव र संजय चौधरीको दाहसंस्कार भएको स्थलमा पुगेर फूलमाला चढाए ।

प्रकाशित : फाल्गुन ४, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?