कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधार कार्ड नहुँदा समस्यामा प्रवासी नेपाली

शंकर आचार्य

कोलकाता (भारत) — पूर्वोत्तर भारतीय महानगरमा रोजागारीका लागि बस्दै आएका प्रवासी नेपालीलाई आधार कार्डको अनिवार्यताले ठूलो समस्या परेको छ । भारतमा झन्डै नागरिकता सरहको मान्यता दिइएको यो कार्ड नपाउँदा प्रवासी नेपालीले खाना पकाउने एलपी ग्यासदेखि बैंकमा खाता खोल्न, टेलिफोन जडान, मोबाइलको सिम कार्ड खरिद गर्न समेत नपाउने अवस्था सिर्जना भएको हो । 

आधार कार्ड नहुँदा समस्यामा प्रवासी नेपाली

भारत सरकारले जुलाई २०१७ देखि जीएसटी कर प्रणाली लागू गरेपछि यो समस्या झनै चर्किएको हो । भारत सरकारले आफ्नो मुलुकका नागरिक बाहेकलाई यो कार्ड दिँदैन । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताका उपाध्यक्ष तथा सामाजिक अभियन्ता नारायण होमागाईका अनुसार थुप्रै प्रवासी नेपालीले बैंक खाता खोल्न नपाउँदा आफू कार्यरत कम्पनीबाट तलब बुझ्नसमेत अप्ठ्यारो परेको छ ।


‘बैंक खाता अभावमा विभिन्न कम्पनी तथा निकायबाट उमेरको हदले अवकाश पाएका प्रवासी नेपालीहरूलाई पेन्सन रकम बुझ्न समेत गार्‍हो भएको छ,’ उनले भने, ‘यहाँका प्राय: सबै कम्पनीले आफ्ना कर्मचारीलाई बैंक खातामै तलब भत्ता तथा पेन्सन रकम दिने गरेकाले धेरै प्रवासी नेपालीले यो समस्या भोग्नु परेको छ ।’ कोलकातामा नेपाली मात्र नभई बंगलादेशी मजदुरीको संख्यामा पनि ठूलो छ । उनीहरूले पनि नेपालीले जस्तै समस्या भोगिरहेको होमागाईले बताए । स्थानीयको तुलनामा नेपाली र बंगलादेशी श्रमिक सस्तो भएकाले यहाँ रोजगारी पाउन केही सजिलो छ ।


रोजागारीका लागि यहाँ बस्दै आएका नेपालीलाई जीएसटी प्रणाली लागू भएयता ठूलै समस्या भएको जानकारी दिँदै नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले दैनिकजसो आफ्नो पीडा पोख्न दूतावासमा आउने नेपालीको संख्या बढदो रहेको बताए । ‘कोलकातामा बस्दै आएका प्रवासी नेपालीले पछिल्लो समय भोगेको सबैभन्दा ठूलो र साझा समस्या मध्येको एक हो,’ अर्यालले भने, ‘दैनिक ठूलो संख्यामा नेपालीहरू हामीकहाँ यो गुनासो लिएर आउँछन्, समस्या समाधानका लागि सहजीकरण गरिदिनुपर्‍यो भनी निवेदन दिने गरेका छन् ।’


महावाणिज्यदूत अर्याल धेरै नेपालीले यो समस्या भोगिरहेकाले यसको दीर्घकालीन समाधानका लागि भारत सरकारको सरोकारवाला निकायहरूसँग आवश्यक लबिङ गर्न आफू प्रयासरत रहेको बताउँछन् । जीएसटी प्रणाली लागू हुनुअघि यहाँका नेपालीलाई उनीहरू कार्यरत कुनै कम्पनीमा केही समस्या भए दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ दिने गरेकोमा त्यसबाटै समस्या समाधान हुने गरेकोमा हाल भने स्थिति फरक रहेको उनले बताए । जीएसटी प्रणाली लागू भएसँगै भारत सरकारले आधार कार्डबिना खाना पकाउने ग्यासदेखि खाता खोल्नसमेत नपाउने नियम कडाइका साथ लागू गरेपछि धेरै नेपाली समस्यामा परेका हुन् ।


कोलकातामा करिब ३ लाख प्रवासी नेपाली रहेको उनको अनुमान छ । २ पुस्तादेखि बस्दै आएका केही पुराना नेपालीले आधार कार्ड पाए पनि धेरैले नपाएको उनले बताए । रोजगारीका लागि नेपालबाट यहाँ आएका अधिकांश नेपाली सेक्युरीटी गार्डका रूपमा कार्यरत छन् । त्यसपछि होटेलहरूमा कुक र वेटरको काममा काम गर्नेहरू छन् । सवारी चालकका रूपमा पनि यहाँका विभिन्न कम्पनीमा कार्यरत नेपालीको संख्या उल्लेख्य छ ।


बुवा आमासँगै बाल्यकालमा नेपालबाट आएका वा यही जन्मिएका दोस्रो पुस्ताका अधिकांश भने शिक्षण, निजी कम्पनीहरूमा मार्केटिङ, आफ्नै व्यापार व्यवसायजस्ता पेसा अँगालेका छन् । उनीहरूलाई समस्या नभए पनि केही वर्ष देखि आएर कोलकातामा खुट्टा टेक्ने प्रयास गरिरहेका प्रवासी नेपालीलाई भने हाल आधार कार्ड ठूलो समस्याको रूपमा देखा परेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?