कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढ्यौलीको सहारा ‘रामायण’

भरत जर्घामगर

सिरहा — सीमावर्ती बरियारपट्टी बजारको मुख्य चोकको कुनामा काठ र टिनको सानो ‘कठघेरा’ । कठघेरा अघिल्लतिर बेञ्चमा पाका उमेरका ६ जना दैनिकजसो भेटिन्छन् । 

बुढ्यौलीको सहारा ‘रामायण’

दिउँसो १ बजेपछि भेला भएर उनीहरू गफिन थाल्छन् । बृद्धमध्ये एकले रामायण बाचन गर्छन् भने बाँकी ५ स्रोता । साँझ ५ बजेसम्म उनीहरूको दैनिकी यही हो । त्यही कठघरा बुढ्यौलीको समय बिताउने सुखदु:खको ‘बैसाखी’ बनेको छ । कठघरा बरियारपट्टी ३ का ६० वर्षीय बिकु महतोको हो । बिकुका जेठो छोरा दिलिप र कान्छा दिपनाले कठघरामा इलेक्ट्रिकल पसल खोलेका थिए । बैदेशिक रोजगारीका लागि दिलिप मलेसिया र दिपना कतार गएपछि तीन वर्षदेखि बुबा बिकुले नै कठघेरा रेखदेख गर्छन् ।


‘विद्युतीय सामान थोरै छन्, पसल नाम मात्रैको छ,’ बिकुले भने, ‘छोराहरूले पसल खोलेर हिँडेपछि बन्द गर्नुभन्दा दिन बिताउने मेलो भएको छ, वृद्ध काका, दाजुहरू आउँछन् भलाकुसारी गर्न पाएका छौं ।’


उनका अनुसार समय कटाउन गाह्रो भएपछि गाउँका ८२ वर्षीय रासलाल यादव, ८० वर्षीय लक्ष्मी, ७४ वर्षीय दोरिक, ७० वर्षका रामप्रसाद यादव, ७० वर्षीय मुनिलाल मण्डल र ६५ वर्षीय बिल्टु यादव त्यही कठघेरामा रामायण सुनेर दिन बिताउँछन्.।

६ वर्षअघि पत्नीको मृत्यु भएपछि एक्लो बनेका ८२ वर्षीय रासलालले साथीभाइसँग गफिन पाउने भएकाले दिनहुँ १ बजे यही आउने गरेको सुनाए । ‘तीन छोरा जागिरे छन्, सबै बाहिर बस्छन्, घरमा खाना पकाउन कान्छी बुहारी मात्र छिन्,’ उनले भने, ‘दिनभरि घरमा एक्लो बस्नुभन्दा यहाँ साथीभाइसँग बसेर रामायण सुन्न पाइन्छ ।’ कठघरामा वृद्धहरू दुई घण्टा गफिएपछि दुई घण्टा रामायण बाचन सुन्छन् । वृद्धमध्ये कान्छो बिकु अक्षर देख्ने भएकाले उनैले रामायण बाचन गर्छन् । अन्य एकाग्र भएर सुन्छन् । ‘बुढ्यौलीमा दिन काट्न गाह्रो हुँदो रहेछ,’ ७० वर्षीय मुनिलालले भने, ‘घरपरिवारका नातिनातिनाहरू पनि गफ गर्न झर्को मान्छन्, काम गरौं भने यो उमेरमा सकिँदैन ।’


वृद्धहरू कठघरामा बसेर गफिन थालेपछि गाउँकै बुलन यादवले हिन्दीमा लिखित रामायण किताब ल्याइदिएको बिकुले बताए । रामायणको कथा उनीहरूलाई गजब लाग्छ । बरियारपट्टीका शरणलाल दासले मुम्बई जाँदा रामायण किताब किनेर ल्याएका रहेछन् । त्यही किताब शरणका छोरा बडेलाल र बडेलालका छोरा ६० वर्षीय बुलनले पढदा रहेछन् ।


अक्षर खुट्टयाउन गाह्रो भएपछि बिकुलाई दिएका रहेछन् । ‘तीन पुस्ताले यो रामायण पढ्न भ्याए, अहिले हामी पढदैछौं,’ बिकुले सुनाए । रामायण पढिसकेपछि किताबलाई बडो जतनका साथ राख्छन् कपडामा बेरेर । नियमित गफसँगै पालो लगाएर चियाको पैसा तिर्छन् ।


‘वृद्ध पेन्सन (भत्ता) आउँछ,’ ८० वर्षीय लक्ष्मी यादवले भने, ‘त्यही पैसाले पालो लगाएर चियानास्ता खान्छौं ।’ चियानास्ताको पैसा तिर्ने पालो सातामा एक दिन एक जनाको पर्दोरहेछ ।’


‘बुढेसकाल भएपछि जवानीका पुराना दिनहरूको याद आउँदो रहेछ,’ उनले भने, ‘त्यही पुरानो कुरा सुनिदिने कोही नहुँदा मनमा उकुसमुकुस हँुदो रहेछ, पहिलेका कुराहरू यही आएर गाँठो फुकाउन पाउँदा मन शान्त हुन्छ ।’ वृद्धहरू पहलमानी खेलेकादेखि अन्तिममा धर्मकर्मका कुरामा पुगेर आफ्नो गफ टुंग्याउँछन् ।


बरियारपट्टीका स्थानीय मुकेश यादवका अनुसार ती वृद्धहरूको गफ रसिक हुन्छ । ‘वृद्धहरूको गफ शिक्षाप्रद पनि हुन्छन्, त्यसैले फुर्सदका बेला आएर छेउमै बसेर सुन्छु,’ यादवले भने ।

प्रकाशित : फाल्गुन ९, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?