कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रमलाई मुख्यमन्त्रीको पत्र : ‘टेरेनन् संघीय कर्मचारीले’

कान्तिपुर संवाददाता

जनकपुर — मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेर संघीय कर्मचारीले प्रादेशिक काममा असहयोग गरिरहेको गुनासो गरेका छन् । प्रान्तीय सरकारको काममा अवरोध हुने गरी संघीय मन्त्रालयबाट आइरहेको निर्देशनबारे पनि मुख्यमन्त्री राउतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको लेटर प्याडमा मुख्यमन्त्री राउतले आफै हस्ताक्षर गरेर प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा संघीय कर्मचारीले प्रदेश सरकारको सुरक्षा व्यवस्थामा संवेदनशीलता नदेखाएको गुनासो गरेका छन् । ‘प्रदेश २ मा आफ्नै खाले सुरक्षा संवेदनशिलता छ,’ प्रधानमन्त्रीलाई मुख्यमन्त्रीले लेखेको पत्रमा भनिएको छ, ‘मुख्यमन्त्री, मन्त्री र प्रान्तका महत्त्वपूर्ण पदाधिकारीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीबाट सहयोग प्राप्त हुन सकेको छैन ।’


मुख्यमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेनाका गार्ड बाहेक उनीलाई अतिरिक्त सुरक्षा दिइएको छैन । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका अन्य पदाधिकारीलाई प्रदेश सरकारले प्रहरीको स्कटिङ र अन्य सुरक्षा बन्दोबस्तका लागि माग गरेका छन् ।


तर, प्रदेश २ को प्रहरी कार्यालयले गृह मन्त्रालयको निर्देशिकाले प्रदेश सरकारको सुरक्षा बन्दोबस्त गर्न नसकिएको बताइरहेको छ । गृह मन्त्रालयको निर्देशिकामा प्रदेश सरकारलाई स्कटिङ उपलब्ध गराउने उल्लेख नरहेकाले व्यवस्थापन गर्न समस्या परेको प्रदेश प्रहरी प्रमुख एआइजी विजयलाल कायस्थले बताए । ‘प्रदेश सरकारबाट भिआइपीका लागि स्कटिङको माग भएको छ,’ कायस्थले भने, ‘गृहको निर्देशिकाबाहिर गएर काम गर्न सकिन्न ।’ मुख्यमन्त्री राउत, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सभामुख सरोज यादव, उपसभामुख उपमाकुमारी देवी, मन्त्री जितेन्द्र सोनल र विजय यादवको सुरक्षामा खटिएका नेपाली सेनाका गार्ड बाहेकका सुरक्षा बन्दोबस्त गरिएको छैन ।


प्रदेश २ को प्रशासनिक भवन रहेको जनकपुर चुरोट कारखानाको कम्पाउन्डमा नेपाली सेना र सशस्त्र प्रहरी मात्रै खटाइएको छ । मुख्यमन्त्री राउतले संघीय कर्मचारी र निकायले प्रदेश सरकारलाई ‘सिस्टम’मा आउन नदिएको गुनासो गरे । ‘प्रदेश सरकारका लागि केन्द्रबाट कर्मचारी खटिएका छन,’ मुख्यमन्त्री राउतले भने, ‘तर, अझै कर्मचारी आइपुगेका छैनन, लापबार्ही गर्ने कर्मचारीलाई कसले कारबाही गर्ने ? कि त अटेरी गर्ने कर्मचारीलाई कारबाही गर्ने अधिकार प्रदेशलाई दिनुपर्‍यो, कि त खटिएका कर्मचारी अनुशासनमा बस्नु पर्‍यो ।’


मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई लेखेको पत्रमा कर्मचारी नआउँदा प्रदेशको काम–कारबाही अबरोध गरेर राख्न नसकिने उल्लेख छ । ‘कर्मचारी नआउँदा प्रादेशिक सरकारको काममा अबरोध भइरहेको छ,’ मुख्यमन्त्री राउतले पत्रमा लेखेका छन, ‘प्रदेश सरकारले अवलम्बन गर्ने विकल्पमा सहयोग गर्न अनुरोध छ ।’ प्रदेश २ का मुख्यसचिव राजेश्वरमान सिंहले शनिबारसम्ममा ४० जना कर्मचारी मात्र आइपुगेको जानकारी दिए । प्रदेश २ का लागि संघीय सरकारले १ सय ७४ जना कर्मचारी खटाएको छ ।


प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा मुख्यमन्त्री राउतले प्रदेश सरकार संविधान, कानुन र नियम बमोजिम चल्ने र कानुनी शासनप्रति प्रतिबद्ध रहने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । ‘प्रादेशिक संरचना मुलुकका लागि नयाँ खाका हो, मुख्यमन्त्री राउतले पत्रमा लेखेका छन, ‘यसैले नयाँ अभ्यासलाई सुझबुझ, सहकार्य र समन्वयका साथ कार्यान्वयन गरिनुपर्छ ।’ प्रधानमन्त्री ओलीलाई शुक्रबार मुख्यमन्त्री राउतले पत्र लेखेका थिए ।


प्रदेश सरकारको काममा अवरोध हुने गरी संघीय सरकार र कर्मचारीबाट भइरहेको व्यवहारलाई यहाँका राजनीति दलले निन्दा गरेका छन् । राष्ट्रिय जनता पार्टीका प्रदेश सांसद मनीष सुमनले मुलुक प्रादेशिक संरचनामा गए पनि सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका निकाय अझै पनि संघीय स्वरुपकै रहेकाले प्रदेश सरकारलाई अवरोध गरिरहेको आरोप लगाए । ‘सुरक्षासहितका अन्य निकाय प्रदेशको मातहतमा ल्याउनुपर्छ,’ उनले भने, ‘यसले प्रदेशको काममा सजिलो हुनेछ ।’

प्रकाशित : फाल्गुन १३, २०७४ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?