कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखु किसानले भुक्तानी पाएनन्

‘सबै खेतमा उखुमात्र रोपेका किसानको घरमा चामलसमेत छैन’
अमन कोइराला

सर्लाही — चिनी मिलले समयमै भुक्तानी नगर्दा सर्लाहीका किसानहरूका लागि होली पर्व खल्लो हुने भएको छ । दुई महिनादेखि क्रसिङ गरेका दुबै मिलले भुक्तानी नदिँदा उखु बेचेर परिवार चलाउनुपर्ने हजारौं किसान बेखर्चीले होलीका बेला समस्यामा परेका हुन् ।

सर्लाहीको इन्दु शंकर र अन्नपूर्ण चिनी मिलले किसानलाई उखुको भुक्तानी दिएका छैनन् ।


इन्दु शंकर चिनी मिलले दुई महिनामा एक अर्बभन्दा बढीको उखु क्रसिङ गरिसकेको छ । अन्नपूर्ण चिनी मिलले पनि करिब ४० करोडको उखु क्रसिङ गरिसक्यो । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले दुबै मिलले गरेर करिब २ अर्बको उखु क्रसिङ गरिसके पनि किसानलाई भने भुक्तानी नदिएको बताए ।

‘चाडपर्व मान्न मात्र नभएर घर चलाउन नसकेर किसानको बिचल्ली भएको छ,’ उनले भने, ‘किसानको परिवारमा हाहाकार मच्चिएको छ । किसानलाई तत्काल भुक्तानी हुने वातावरण सृजना नगरे ठूलो तनाव पैदा हुुन्छ ।’ इन्दु शंकरले सुरुमा उखु बेच्ने किसानलाई करिब १५ करोड रुपैयाँ भुक्तानी गरेको छ । अन्नपूर्णले अहिलेसम्म किसानलाई पैसा भुक्तानी नै नगरेको मैनालीले बताए । उनले दैनिक सयौं किसानले भुक्तानीका लागि फोन गर्ने गरेको उल्लेख गरे ।

धनगढाका उखु किसान अक्षयलाल राउतले मधेसमा सबैभन्दा बढी खर्च हुने चाड होलीका बेला चिनी मिलले भुक्तानी नदिएर किसानको बिचल्ली बनाएको वताए । ‘चिनी मिलले उखुको भुक्तानी नदिँदा बेखर्चीले परिवारमा तनाव छ,’ उनले भने, ‘चाडपर्वमा मात्र नभएर दैनिक घरपरिवार चलाउन पनि समस्या भइसक्यो ।’ राउतले बालबालिकाको स्कुल शुल्क, विवाह, व्रतबन्धमा पनि पैसा नहुँदा समस्या भइरहेको बताए । ‘किसान वर्वाद भइसके,’ उनले भने, ‘सबै खेतमा उखुमात्र रोपेका किसानको घरमा चामल समेत छैन ।’

उद्यमीले चिनी बिक्री नभएकाले भुक्तानी दिन नसकेको बताउँछन् । चिनीको भन्सार महसुल कम भएकाले विदेशी चिनी भित्रिएकाले स्वदेशी बिक्न सकेको छैन । भन्सार महसुल नबढाई स्वदेशी चिनी नबिक्ने र चिनी नबेची भुक्तानी दिन नसक्ने उद्यमीको भनाइ छ ।

चिनी उत्पादन संघका अध्यक्ष शशिकान्त अग्रवालले चिनी बिक्री नभएकाले भुक्तानी दिन उद्योगलाई समस्या परेको बताए । ‘किसानलाई दिनुपर्ने भुक्तानी रकम अर्बमा हुन्छ,’ उनले भने, ‘चिनी बेचेर मात्र दिन सकिन्छ । कुनै उद्योगले चिनी नबेची भुक्तानी दिन सक्दैन । कसैसँग त्यत्रो नगद भुक्तानीका लागि हुँदैन ।’ हाल कायम उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३१ रहेका कारण चिनीको भाउ घटाउन सकिन्न । चिनी महँगो भएपछि उपभोक्ताले सस्तो खोज्नु स्वाभाविक हो । भन्सार महसुल वृद्धि नगरे विदेशी चिनीको मूल्य बढ्दैन । अग्रवालले विदेशवाट आयात हुने चिनीको भाउ घटी भएसम्म स्वदेशी उत्पादन नबिक्ने बताए ।

मैनालीले चिनी नबिकेको यथार्थ रहेको उल्लेख गर्दै लाखौं किसानको हितका लागि सरकारले भन्सार महसुल वृद्धि गर्नुपर्ने बताए । ‘हामीले प्रस्ताव गरेका छौं,’ उनले भने, ‘पहिले ३० प्रतिशत भन्सार महसुल भएकोमा अहिले १५ प्रतिशत छ । केही व्यापारीको स्वार्थ जोडिएकाले सरकार किसानलाई विचल्ली बनाएर भन्सार महसुल बढाउन आनाकानी गरिरहेको छ ।’

प्रकाशित : फाल्गुन १६, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?