कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिथिलामा होली महोत्सव

श्यामसुन्दर शशि

जनकपुर — मिथिला नाट्यकला परिषद् (मिनाप) को रामचोकस्थित नाट्यशालाबाट बुधबार अपरान्ह निस्केका होलैया (फागु गीत गाउने) टोली जानकी मन्दिर पुग्दा कार्यक्रमस्थल खचाखच भरिएको थियो । होलैयाहरू बटगमनी (बाटो चल्ने बेला गाउने गीत) गाउँदै थिए । नभन्दै मन्दिर परिसरमा भेला भएका समूह पनि यिनीहरूसँगै मिसिए र फागुपर्व गीत गुनगुनाए ।

मिथिलामा होली महोत्सव

‘नहिरो न भइया । ससुरा न देवरा ।

पिया मोरा लडिका नादान हो ।

हो हो रहिया बता दा हो बटोहिया ।।’

आधुनिकतासँगै लोप हुन लागेको फागु गीतलाई निरन्तरता दिन मिनापले २२ वर्षदेखि फागु महोत्सवको आयोजना गर्दै आएको छ । दुई दिन चल्ने फागु महोत्सवको पहिलो दिन बुधबार फागु गीत गायन प्रतियोगिताको आयोजन गरियो । बिहीबार महामूर्ख सम्मेलनको आयोजना हुने मिनाप अध्यक्ष परमेश झाले जानकारी दिए ।

प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झा, हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल, उपमेयर रेणु झा र मिनापका अध्यक्ष झा, पूर्वअध्यक्षहरू सुनिल मिश्र, सुनिल मल्लिक, मदन ठाकुरलगायत डम्फा बजाएर फागु महोत्सवको उद्घाटन गरे ।

फागु महोत्सवको पहिलो दिन आयोजित फागु गीत प्रतियोगितामा खर्साल युवा होरी समूह सप्तरी प्रथम, सिंहासिनी समूह महोत्तरी दोस्रो तथा महिला समूह कुर्था धनुषा तेस्रो भए । विजयी टिमलाई जनकपुरका मेयर साह, प्रदेशसभा सदस्य साह तथा युवा व्यावसायी हिरा भगतले सिल्ड, प्रमाणपत्र र तक्मा प्रदान गरे । प्रतियोगितामा सहभागी महिला समूह कुर्थालाई नगरप्रमुख साह तथा उपप्रमुख रीता झाले ५ हजार १ सयको नगद पुरस्कारसमेत प्रदान गरे ।

फागु गीत गायन प्रतियोगितामा प्रस्तुत गीत–संगीतले रोमाञ्चित बनाएको थियो । धार्मिक गीतबाट सुरु भएको प्रतियोगिताका गीतहरू अन्तसम्म पुग्दा प्रेम रसमा परिणत भएको थियो ।

‘नकबेसरी कागा ले भागा ।

हो हो सैया अभागा ना जागा ।

नकबेसरी कागा ले भागा ।।

फागु मिथिलाको सांस्कृतिक पर्व हो । रंग–अबिरको पर्व भनिए पनि यसमा फागु गीतको अहम् भूमिका हुन्छ । श्रीपञ्चमीदेखि सुरु हुने यो उत्सव परिक्रमाको प्रारम्भ (फागुन शुक्लपक्ष) सँगै उत्कर्षमा पुग्छ । सुरुमा धार्मिक र सांस्कृतिक गीतहरू गाइए पनि पर्वको अन्त्यतिर प्रेम रसका गीतहरू अधिक गाइन्छन् ।

मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिक भन्छन्, ‘२० वर्षअघिसम्म गाउँमा डम्फा बज्थ्यो । फागु गीत गाइन्थ्यो, अहिले सबै लोप भएको छ ।’

होली महोत्सवको दोस्रो दिन बिहीबार महामूर्ख सम्मेलनको आयोजन हुने आयोजक मिनापले जनाएको छ । महासचिव शैलेन्द्र मल्लिकका अनुसार महामूर्ख सम्मेलनमा प्रदेश २ का ८ जिल्लाबाट प्रतिधिनिधिमूलक सहभागिता हुनेछ । सहभागीहरूमध्ये एक जनालाई महामूर्ख घोषित गरिने छ ।

प्रकाशित : फाल्गुन १७, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?