कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शौचालय बनाउँदा कुटिए मुसहर

अवधेशकुमार झा

राजविराज — वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनमा शौचालय निर्माण गर्न खोज्दा राजविराज १२ का दलित मुसहरहरूमाथि निर्घात कुटपिट भएको छ । आफ्नै घरमा कुटिएपछि विपन्न मुसहरहरू न्यायको खोजी गर्दै शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

शौचालय बनाउँदा कुटिए मुसहर

राजविराज नगरपालिका १२, सिगियौन मुसहरी टोलस्थित गाउँ ब्लकको जमिनमा पछिल्लो ३ पुस्तादेखि बस्दै आएका मुसहर समुदाय खुला दिसामुक्त अभियानअन्तर्गत शुक्रबार बिहान शौचालय निर्माणका लागि खाडल खन्न थालेपछि स्थानीय रामअधिन यादव, महावीर यादव, प्रमोद यादव, अशोक यादव, ढकाई यादव र असर्फी यादवले निर्घात कुटपिट गरेको उनीहरूले जनाएका छन् । वर्षौंदेखि बस्दै आएको ऐलानी जमिनमा वडाध्यक्षसमेतको रोहबरमा अमिन बोलाई शौचालय निर्माण गर्न खोज्दा कुटिएको घाइते सोमनीदेवी सदाले बताइन् ।


‘शौचालय निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान चलेकाले आफूहरूले भोगचलन गर्दै आएको जग्गामा शौचालय निर्माण गर्ने तयारी गर्दा कुटपिट गरे,’ अर्का घाइते शनिचर सदाले भने । घाइते ममता सदाका अनुसार शौचालन बनाउन थालेको जमिन हाम्रो हो भन्दै उनीहरूले निर्धात कुटपिट गरेका हुन् ।


कुटपिटबाट शनिचर सदा, रुवी सदा, सोमनी सदा र ममतादेवी सदा घाइते छन् । कुटपिटबाट ममतादेवीको हातमा गहिरो चोट लागेको छ । ‘महिलाहरूलाई लगाएको लुगासमेत च्यात्दै कुटपिट गरे,’ शनिचरले भने, ‘हामीलाई गाउँबाट भगाउने र हेप्ने योजनाअनुरूप घटना भएको हो ।’ उक्त बस्तीमा ४० परिवार मुसहर बस्दै आएका छन् ।


सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले मुसहरहरूलाई कुटपिट गर्नेहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए । उनले दोषीलाई कानुनी दायरामा ल्याउने जानकारी दिए । उक्त बस्ती रहेको राजविराज नगरपालिका १२ का वडाध्यक्ष हरिहर यादवले मुसहर समुदायमाथि शुक्रबार बिहान अनाहकमा कुटपिट भएको बताउँदै दोषीमाथि कारबाही हुनुपर्ने बताए ।


उनले मुसहर समुदाय वर्षौंदेखि गाउँ ब्लकको जग्गामा बसोबास गर्दै आएको बताउँदै आफूसमेत रहेर उनीहरूलाई भोगचलन गर्दै आएको जग्गा छुटयाएको बताए । राजविराज नगरपालिका प्रमुख शम्भु यादवले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?