कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

सुरक्षा निकायको भूमिका कस्तो छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सिरहा–मुलुक प्रादेशिक संरचनाको अभ्यास गर्न थालेको छ । संघीय र प्रादेशिक संरचनाअनुसार स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम थालेको ८ महिना पुगिसक्यो । यही संरचनाअनुरूप स्थानीय तहमै विषयगत कार्यालयका कर्मचारी गाउँमै पुगेर काम थालिसकेका छन् ।

सुरक्षा निकायको भूमिका कस्तो छ ?

प्रदेश र जिल्लाको शान्ति सुरक्षा नै विकास र समृद्धिको मेरुदण्ड मानिन्छ । मुलुक नयाँ संरचनामा गएपछि शान्ति–सुरक्षाको क्षेत्रमा पनि चुनौती र अवसर दुवै थपिएको छ । सिरहाको सुरक्षा व्यवस्था कस्तो हुनुपर्छ ? सुरक्षा निकायको भूमिकाले स्थानीय कतिको सुरक्षित महसुस गरिरहेका छन् । यसै विषयमा गरिएको व्यक्त गरिएको विचार ।


राजनीतिक दबाब हाबी


बादलप्रसाद यादव

अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल


नागरिक, प्रशासन, प्रहरी सबै तहतप्का विधि र प्रक्रियाअनुसार चल्नुपर्छ । अनुशासनको पालन, कर्तव्य र जिम्मेवारीबोध सबैमा भयो भने सुरक्षा व्यवस्था आफैं बलियो हुन्छ । तर, सिरहामा त्यसो हुन सकिरहेको छैन । हरेक कुरामा राजनीतिक दबाबमा काम गराउने विगतको परिपाटी अहिलेसम्म पनि कायम छ । यो दबाबलाई जिम्मेवार निकायले विधि र प्रक्रियाअनुसार अगाडि बढ्नुपर्‍यो । अझ, प्रहरी र प्रशासनले राजनीतिक दबाबलाई पन्छाउन सक्नुपर्छ । सिरहामा सुरक्षा चुनौती धेरै छन् । एकातिर खुला सीमा छ, खुला सीमाकै आडमा आपराधिक मनोवृत्तिमा संलग्नले आफ्ना गतिविधि बढाउँछन् । यसका लागि हरेक गाउँपालिकामा प्रहरी चौकी राख्न आवश्यक छ । खुला सीमाकै कारण लागूऔषधलाई नियन्त्रण गर्न समस्या भएको छ । यसले पनि थप सुरक्षा चुनौती बढाएको छ । महिला र बालबालिकाका मुद्दामा राजनीतिक दबाब बढदो छ । यो दबाबलाई न्यूनीकरण गर्न प्रहरीले अनुसन्धानको पाटोलाई फराकिलो बनाउन जरुरी छ । अनुसन्धानको पाटो वैज्ञानिक भएको छैन । प्रहरीको कार्यान्वयन पक्ष दह्रो हुनुपर्‍यो । तर, सुरक्षा सुदृढ गर्नका लागि हरेक नागरिकमा सजगता, जिम्मेवारबोध जरुरी छ ।


सीमामा कडाइ आवश्यक


प्रमोद पोद्दार

अध्यक्ष, सिरहा उद्योग वाणिज्य संघ


नयाँ संरचनामा मुलुक गएपछि सुरक्षा व्यवस्थामा केही सुधार महसुस गरेका छौं । खुला सीमाका कारण सीमा क्षेत्रमा अझै पनि केही उल्झन छन् । सुरक्षा मजबुती गर्न बोर्डरमा चेकजाँचलाई कडाइ गर्न जरुरी छ । प्रशासनिक काम छिटोछरितो हुने गरे पनि विकासको अनुभूति हुन सकिरहेको छैन । सुरक्षाको सवाल जनप्रतिनिधिको काँधमा पनि जिम्मेवारी भएकाले सबै तह जिम्मेवार बन्न जरुरी छ । अपराध बढ्नुभन्दा अपराधी पक्राउ पर्नु र सजाय पाउनु ठूलो कुरा हो । यसतर्फ सबैको ध्यान जान जरुरी छ । सुरक्षा क्षेत्रलाई थप सुदृढ गर्न सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउनुपर्छ । हरेक बजार र बोर्डर चेकपोस्टमा सीसीक्यामेरा जडान गर्नु आवश्यक छ । यसले पनि अपराधीको मनोबल घटाउन सहयोग गर्छ ।


प्रविधिमैत्री सुरक्षा हुनुपर्छ


सञ्जय साह

सुनचाँदी व्यवसायी


पहिलाको तुलनामा सुरक्षा चुनौती कम भएको छ । विगतमा जस्तो चन्दा आतंकलगायत आपराधिक घटनामा कमी आएको छ । शान्ति–सुरक्षा भएन भने व्यवसाय चलाउन सम्भव हुँदैन । व्यवसाय चलाउन पनि सुरक्षा अपरिहार्य छ । तसर्थ, सुरक्षा नै समृद्धिको पहिलो खुडकिलो हो । अझै पनि सुरक्षालाई थप मजबुत बनाउन प्रविधिको प्रयोग गर्न आवश्यक छ । स्रोत साधन र जनशक्ति थप्न जरुरी छ । सुरक्षालाई सुदृढ गर्न पनि हरेक नागरिक सजग हुन जरुरी छ ।


हिंसा–बलात्कार बढ्यो


जिबछी यादव

महिला अभियन्ता


पहिलाको तुलनामा सुरक्षा जोखिम जिल्लामा कम भएको छ । तर घरेलु महिला हिंसा, बलात्कारका घटनामा कमी आउन सकेको छैन । यसको प्रमुख कारण राजनीतिक चलखेल र दबाबलाई प्रहरी–प्रशासनले थेग्न नसक्दाको परिणति हो । यस्ता संगीन घटनामा कमी ल्याउन प्रहरी–प्रशासनले भरपर्दो र विश्वास योग्य काम गर्नुपर्छ । प्रहरीमा पुग्ने हरेक घटनामा राजनीतिक दबाब पर्छ । सिरहामै महिला सेल क्रियाशील हुन सकेको छैन । प्रहरी निरीक्षकको नेतृत्वमा यसलाई क्रियाशील गर्न जरुरी छ । र, प्रहरी निकायदेखि राजनीतिक, सामाजिक तहमा परम्परागत कार्यशैली र सोचलाई परिवर्तन गर्न जरुरी छ । राजनीतिक दबाबले बढाउने अपराधलाई न्यूनीकरण गर्नसके सुरक्षा चुनौती स्वत: कम हुन्छ । यो रोक्न नसके सुरक्षा र न्यायको अनुभूति पाउन सकिँदैन ।


पुरानै ढर्राको निकाय


राजकुमार राउत कुर्मी

अगुवा, नागरिक समाज


सुरक्षा संयन्त्र अझै पनि पुरानै ढर्रामै सञ्चालित छ । प्रहरीको नियतमाथि प्रश्न उठिरहेका छन् । तर पनि नयाँ सुरक्षा नीति तर्जुमा गरी अगाडि बढन जरुरी छ । वैज्ञानिक सुरक्षा नीति अवलम्बन गर्नुपर्‍यो । यसमा सबैभन्दा बढी राजनीतिक दल जिम्मेवार बन्नुपर्‍यो । प्रहरी संगठनमा जनशक्ति थप्न जरुरी छ । मानव अधिकार, महिला, बालबालिका हिंसालाई शून्य सहनशीलता अपनाएर प्रहरी अगाडि बढ्नुपर्छ ।


सुरक्षा सुदृढ पारेका छौं


शेखर कोइराला

प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय, सिरहा


शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठन नयाँ संरचनाअनुसार काम गर्न कटिबद्ध छ । र, प्रयासरत पनि छ । प्रहरी सेवालाई जनमुखी र प्रभावकारी बनाउन सीमित स्रोत साधन र जनशक्तिका बावजुद पनि हामी क्रियाशील छौं ।

हामीले आफ्नो स्रोत साधन, जनशक्ति र दक्षताले भ्याएसम्म अपराध अनुसन्धान, शान्ति सुरक्षा, जनताप्रतिको निष्पक्ष सेवाभाव र सेवाग्राहीप्रतिको सभ्य व्यवहारलाई मूलमन्त्र मानेर काम गर्दै आएका छौं । भावी दिनमा नयाँ संरचनाअनुसार जिल्लाको शान्ति, सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्ने छैनौं । यसमा स्थानीय तहका पदाधिकारी, राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सरोकारवाला निकायलगायत सबै तहतप्काको सहयोग आवश्यक छ । सबैको सहयोगले जिल्लामा

सुरक्षा सुदृढ र कायम गर्न सकिन्छ भन्नेमा प्रतिबद्ध छौं ।


कार्यशैली र आचरण फेर्नुपर्छ


अशोक कामती

दलित अधिकारकर्मी


सिरहाको सुरक्षा अवस्था सन्तोषजनक नै छ । तर प्रादेशिक संरचनामा मुलुक गएपछि सुरक्षा निकायको संरचना केन्द्रीकृत प्रक्रियाले नै परिचालित छ । स्थानीयस्तरमा खटिएको प्रहरी कर्मचारीको मनोबल अहिले पनि उच्च हुन सकेको छैन । अहिले पनि पीडितको आवाज तुरुन्त सुनुवाइ हुन सकेको छैन ।

पीडितहरूको समस्या सुनुवाइ गर्नका लागि अगुवा, राजनैतिक दलले पहल गर्दा मात्र सम्भव भइरहेको छ । यसले न्याय प्रक्रिया अझै पनि धेरै महँगो र झन्झटिलो बनाइदिएको छ । यस्ता समस्या निरुत्साहित गर्न जिल्ला प्रहरीले केही हदसम्म प्रयास गरेका छन् । स्थानीयस्तरमा प्रहरी कार्यालयहरू शक्तिशाली बनाउन जरुरी छ ।

जनतासँग प्रहरीनजिक हुन जरुरी छ । समय–समयमा स्थानीयको सुझावअनुसार प्रहरी संगठनको कार्यशैली र आचरण परिवर्तन गर्नु आवश्यक छ । प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाएर पञ्चायती गरेर मुद्दा छिनोफानो गर्ने प्रणालीलाई हटाउनुपर्छ । जसले गर्दा घटना अनुसन्धानमा समय दिन सकेको पाइँदैन । यसतर्फ सचेत हुन जरुरी छ ।

प्रस्तुति : भरत जर्घामगर

प्रकाशित : फाल्गुन २९, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?