कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किर्ते गर्ने वडासचिव पक्राउ

नेपालमा बस्ने आफ्न्तलाई आमा–बुवा बनाएर नागरिकता लिन खोज्ने ५ जना महोत्तरी प्रहरीको नियन्त्रणमा
कान्तिपुर संवाददाता

महोत्तरी — गैरनागरिकलाई नागरिकता बनाउन सहयोग गरेको आरोपमा जलेश्वर नगरपालिका–१० का वडासचिव रामलाल महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको आदेशले सचिव महतोलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । 

भारतीय नागरिक राकेशकुमार मण्डलको जन्मदर्ता प्रमाणका लागि मुचुल्का बनाइदिएर नागरिकता बनाउन सहयोग गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वडासचिव महतोले बनाइदिएको त्यही जन्मदर्ता प्रमाणका आधारमा मण्डलले झूटो विवरण पेस गरेर पुस ३ गते महोत्तरी प्रशासनबाट नागरिकता बनाएका थिए । उनको नागरिकता नम्बर १८–०१–७४–०६९७५ हो ।

भारत, विहारको सीतामढी जिल्ला सुरसण्ड थाना हनुमाननगर गाउँका २० वर्षीय मण्डलले आफूलाई जलेश्वर नगरपालिका १० का रामसिंहाशन मण्डलको छोरा प्रमाणित गरेर नागरिकता लिएका हुन् । तर, मण्डल भने रामसिंहासनका सालीका छोरा हुन् ।

किर्ते गरेर नागरिकता बनाउन सघाएको आरोपमा महोत्तरी प्रहरीले भारतीय नागरिक मण्डलका ठूलिआमा (रामसिंहासनकी श्रीमती) वच्चीदेवीलाई यसअघि नै पक्राउ गरिसकेको छ । बच्चीदेवीकै योजनामा भारतीय नागरिक मण्डलले किर्ते गरेर नेपाली नागरिकता बनाएका हुन् । जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका कर्मचारी भरत यादवका अनुसार बच्चीदेवीले आफूलाई मण्डलकी आमा रहेको झूटो प्रमाण पेस गरेर नागरिकतामा सनाखत गरेकी थिइन् ।

नागरिकता लिएको एक महिनापछि मात्र मण्डल भारतीय नागरिक रहेको पोल खुलेको थियो । मण्डलले राहदानी बनाउनका लागि वडा कार्यालयमा सिफारिस लिन जाँदा उनले झूटो विवरण पेस गरेर नागरिकता लिएको पत्ता लागेको थियो । त्यसलगत्तै मण्डल र नागरिकतामा आमा बनेर बसेकी बच्चीदेवी फरार भएका थिए ।

जिल्ला प्रशासन कार्यालयले नागरिकता लिनका लागि सिफारिस दिने वडाध्यक्ष विकाउ दाससहित मुचुल्कामा बस्ने ४ जनालाई निगरानी र खोजतलास गर्न थाल्यो । वडा कार्यालयले मण्डललाई मंसिर २९ गते नागरिकताका लागि सिफारिस गरेको थियो ।

वडाध्यक्ष दासले बच्चीदेवी र उनका श्रीमानले छोरा हो भन्दै जन्मदर्ता लिएर आएपछि सिफारिस गरेको बताए । तर राहदानीका लागि सिफारिस लिन दोश्रोपटक वडा कार्यालय आउँदा भने मण्डल विदेशी भएको मात्र पत्ता लागेको उनले बताए । वडाध्यक्ष दासले मण्डलको सक्कल नागरिकता र जन्मदर्ताको प्रमाणसहित उजुरी दिएर कानुनी कारबाहीमा सघाएको बताए ।

यस्तै, झूटो विवरण पेस गरेर नागरिकता लिन खोज्ने एक भारतीयसहित २ जनालाई महोत्तरी प्रशासनले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार सीतामढी जिल्ला कन्हमा गाउँका शेख अरमान तथा उनका जेठान समसी गाउँपालिका– ६ का शेख हैदर छन् । प्रशासन कार्यालय नागरिकता फाँटका प्रमुख भरत यादवका अनुसार अरमानले ससुरा शेख मञ्जुरलाई बुवा बनाएर नागरिकता लिन खोजेका थिए ।

सनाखतका बेला सोधपुछ गर्दा अरमानले शेख मंजुर बुवा नभई ससुरा भएको र आफू नेपाली नभई भारतीय नागरिक रहेको स्वीकारेपछि दुवैलाई पक्राउ गरिएको छ । महोत्तरीका प्रहरी प्रमुख एसपी कुवेर

कडायतले नागरिकता प्रकरणमा मुछिएका पाँचै जनालाई न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाए ।

प्रकाशित : फाल्गुन २९, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?