कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकको धूलोले दैनिकी कष्टकर

अमन कोइराला

सर्लाही — जताततै ग्राभेल सडक भएकाले सवारी गुडदा उडाएर घरभित्रै पस्ने धूलोले सर्लाहीवासीको दैनिकी कष्टकर बनेको छ ।

सडकको धूलोले दैनिकी कष्टकर

गर्मीको मौसमले त्यसै पनि बिमारी बढाउँछ झन सडकको धूलोले स्थानीय आतंकित बनेका छन् ।

जनप्रतिनिधिसँग मतदाताको प्रमुख माग सडकबाट उड्ने धूलो नियन्त्रण नै बनेको छ । धूलो नियन्त्रणका लागि जनप्रतिनिधिको आग्रहमा जिल्ला प्रशासन कार्यालयले मंगलबारका लागि राखेको बैठक सरोकारवाला नआउँदा हुन सकेन । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबारका फेरि बैठक बस्ने बताए ।

‘जताततै धुलाम्मे छ,’ उनले भने, ‘हजारौं नागरिक धूलोका कारण पीडित भएका छन् । धूलो नियन्त्रणको माग गर्दै सडक बन्द गर्ने क्रम बढेको छ ।’ धूलो पीडितले सडक जाम गरेपछि एक/दुई दिन सडकमा पानी छिट्ने गरिएको छ । गर्मी बढेकाले पानी छिटेको एक घण्टामै सुकेर फेरि धूलो उड्छ । धूलो नियन्त्रणका लागि आन्दोलनको अगुवाइ गरेका इश्कीलाल पासवानले धूलोकै कारण बसाइँ सर्नुपर्ने अवस्था आएको बताए ।

सडक कालोपत्रे बनाउने ठेक्का लागिसकेको मलंगवा–नवलपुर र नयाँरोड–हथिऔल सडकखण्ड अहिले धुलाम्मे छ । ठेकेदारले सडक छेउबाट माटो खनेर थुपारेपछि धूलो बढेको हो । सर्लाहीका नेता प्रमोद साहले जता गए पनि धूलोकै गुनासो सुनिएकाले नियन्त्रण गर्न बैठक राखिएको बताए । उनले तत्काल धूलो नियन्त्रणको उपाय नगरे समस्याले विकराल रूप लिने जिकिर गरे । उनले ठेक्का पाएर काम नगर्ने ठेकेदार, छिटो काम नगराउने सडक विभागले धूलो नियन्त्रणमा ध्यान नदिएको आरोप लगाए । कुनै पनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर असर पार्ने क्रियाकलाप सह्य नहुने उनले बताए ।

ठेक्काको काम तदारुकतासँग गर्ने, काम नसकुन्जेल धूलो नियन्त्रणका लागि नियमित पानी छिट्ने र सडक किनारमा राखेको माटो तत्काल हटाउने लगायतका काम हुनुपर्ने विकल्प सहित बैठक बस्न लागेको हो । जिल्ला समन्वय समितका संयोजक मैथुर चौधरीले धूलोकै कारण पूरै जिल्ला फोहोर देखिएको बताए । अत्यधिक धूलोकै कारण एक सातामा ४ वटा दुर्घटना भएका छन् ।

एउटा सवारी साधन गुडेपछि ५ मिनेटसम्म बाटोमा केही नदेखिने गरी धूलो उड्छ । यसले दुर्घटना बढाउने, स्वास्थ्य बिग्रने र जनजीवन नै कष्टकर भएको छ । सुत्दासमेत स्वच्छ हावा नपाएर जनता हैरान छन् । गर्मी बढे पनि धूलोकै डरले घरका झ्याल समेत बन्द गर्नुपर्छ । तत्काल धूलो नियन्त्रणमा सम्बन्धित निकायले ध्यान नदिए पीडित जनतासँगै आन्दोलनमा उत्रन बाध्य हुने साहले चेतावनी दिए ।

प्रकाशित : चैत्र ७, २०७४ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?