कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षामा अनियमितता: त्रिविले थाल्यो छानबिन

सन्तोष सिंह

धनुषा — स्नातकोत्तर तहको परीक्षामा कडाइ गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनकपुरको रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसमा भइरहेको चिट चोरीको छानबिन थालेको छ ।

परीक्षामा अनियमितता: त्रिविले थाल्यो छानबिन

स्नातकोत्तरका परीक्षार्थी परीक्षा हलमै नोटबुक र गाइडबाट सबै प्रश्नको उत्तर खुलेआम सार्ने गरेको समाचार तस्बिरसहित कान्तिपुरमा प्रकासित भएपछि त्रिविले छानबिनका लागि सह–नियन्त्रक अखिलेश कुमार सिंहलाई जनकपुर पठाएको छ । सिंहले बिहीबारको परीक्षामा कडाइ गरिएको बताए ।

‘राराब क्याम्पसमा एक दशकअगाडि सफाइकर्मीले पनि चिट चोर्नेलाई कारबाही गथ्र्यो,’ त्रिविका सह–नियन्त्रक सिंहले भने, ‘१० वर्षयता चिट चोरीलाई संस्थागत गरेको देखिन्छ । अब परीक्षालाई मर्यादित बनाउन असहयोग गर्नेलाई कारबाही हुनेछ ।’ उनले परीक्षा मर्यादित बनाएर अध्ययनलाई पनि व्यवस्थित बनाइने बताए ।

राराब क्याम्पसका प्रमुख विजयकुमार लालले परीक्षामा कडाइ गरिएको बताए । उनले विगतभन्दा अहिलेको परीक्षा मर्यादित भएको दाबी गरे । ‘परीक्षा मर्यादित बनाउन सबै कर्मचारी एकजुट भएका छौं,’ क्याम्पस प्रमुख लालले भने, ‘परीक्षा केन्द्रमा बिहीबारदेखि मोबाइल लैजान रोक लगाइएको छ ।’

राराब क्याम्पसमा स्नातकोतर प्रमथ वर्ष राजनीति शास्त्रमा अध्ययनरत रोशन मिश्रले परीक्षा मर्यादित बनाउन विद्यार्थी सहमत रहेको बताए । ‘परीक्षा मर्यादित बनाएर क्याम्पसको अध्ययनमा समेत सुधार ल्याउनु अवश्यक छ,’ मिश्रले भने, ‘परीक्षामा मात्र निगरानी गरेर हुन्न । पढाइमा चासो देखाउनुपर्छ ।’

चिट चोर्ने १४ निष्काषित
जनकपुरको राराब क्याम्पसमा जारी स्नातकोत्तर परीक्षामा बिहीबार फरक दृश्य देखियो । त्रिविले परीक्षामा कडाइ गरेपछि चिट चोर्न पाउनुपर्ने भन्दै परीक्षार्थीले नारबाजी नै गरे । चिट चोरी गरिरहेका १४ जना परीक्षार्थीलाई परीक्षा हलबाट निष्काशित गरिएपछि उनीहरूले नाराबाजी गरेका हुन् ।

परीक्षमा चिट चोरीको छानबिन गर्न आएका त्रिविको टोलीले निरीक्षकसँगको सहयोगमा परीक्षा हलमा प्रवेश गर्नुअघि नै परीक्षार्थीले बोकेको चिट खोसेको थियो । परीक्षार्थीबाट नोटबुक, गेसपेपर, फोटोकपी खोस्दै मोबाइल र झोला पनि थुतेर क्याम्पसको प्रशासनले कोठामा थन्काएका थिए ।

अन्य दिन परीक्षामा चिट चोरी गर्न सघाउने निरीक्षक र पर्यवेक्षक बिहीबार परीक्षा मर्यादित बनाउन खटिएका थिए । परीक्षामा निगरानी बढाएका कारण परीक्षा सुरु भएको एक घण्टामै परीक्षार्थीले धमाधम उत्तर पुस्तिका बुझाएको उप प्रध्यापक डा. विनोदलाल कर्णले बताए । खालीे उतर पुस्तिका निरीक्षकलाई बुझाएर परीक्षार्थी भकानिँदै बाहिरिएको उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७४ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?