कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारलाई जनप्रतिनिधिले भने ‘काम गर्न नसके छाड्नुस्’

‘ठेकेदार काम नगर्ने, सडक डिभिजन काम गराउन नसक्ने र सबै तनाव सिडिओ र जनप्रतिनिधिले लिनुपर्ने ?’
अमन कोइराला

सर्लाही — मलंगवा नगरपालिकाका मेयर निरसल साहले सडक निर्माण कम्पनीका ठेकेदारलाई बाटोमा थुपारेको माटो हटाएर कामबाट हात झिक्न चेतावनी दिए । महिनौंदेखि सडक छेउमा थुपारेको माटोले सदरमुकाम नै ढाक्ने गरी धूलो उडिरहेको भन्दै उनले ठेकेदारको कामप्रति असन्तुष्टि जनाए ।

ठेकेदारलाई जनप्रतिनिधिले भने ‘काम गर्न नसके छाड्नुस्’

‘सडकै बनाउन नसके काम छाड्नुस्,’ ठेकेदार, सडक डिभिजनका डिई, जनप्रतिनिधि र धूलोपीडित नागरिकसहितको बैठकमा उनले भने, ‘ठेक्का ओगटेर काम नगर्ने परिपाटी सह्य हुँदैन । कि काम गर्नुस्, कि माटो हटाएर फर्कनुस् ।’ सडक निर्माणका लागि थुपारिएको धूलोले मलंगवावासी बिमारी पर्न थालेको उनले गुनासो गरे ।


सर्लाहीका आधा दर्जन सडकलाई कालोपत्रे गर्न ठेक्का लागेको छ । काम सम्पन्न गर्ने सम्झौताको म्याद गुज्रन लाग्दा पनि निर्माणको कामले गति लिन सकेको छैन । ठेकेदारले अधिकांश ठाउँमा काम गरेजस्तो देखाउन माटो थुपार्ने बाहेकका काम अगाडि बढाएका छैनन् । धेरै दिनदेखि थुपारेको माटो सडकमा मिसिन थालेको छ । गाडी गुडदा धूलो उडेर स्थानीय हैरान बनेका छन् ।


नवलपुर–मलंगवा, नयाँरोड–मधुवनी, संग्रामपुर–मुसैली, हुलाकी सडक, बाँके–संग्रामपुर, हरिवन–कौडेना र बरहथवा–हथिऔल सडकलाई कालोपत्रे गर्न ठेक्का लागे पनि काम नहुादा सबै सडकको निर्माण अलपत्र परेको छ ।


यी सबै सडकको जीर्ण अवस्थाले सवारी गुडदा धूलो उडेर जिल्लाभरि रोगव्याधि फैलने क्रम बढेको छ । धूलो उडेको भन्दै दैनिक हरेक सडक खण्डमा चक्काजाम गरेर स्थानीय विरोधमा उत्रिन थालेका छन् । सडक नबनेको र धूलोले सताएको भन्दै जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले निर्माण व्यवसायी, सडक डिभिजनकका प्रमुख, जनप्रतिनिधिलाई राखेर छलफल गरेको छ ।


प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले धूलोले गाउँ ढाक्यो भनेर दैनिक गुनासो आउने गरेको बताए । ‘धूलोकै कारण दैनिक चक्काजाम हुन थालेको छ,’ उनले भने, ‘ठेकेदार काम नगर्ने, सडक डिभिजन काम गराउन नसक्ने र सबै तनाव सिडिओ र जनप्रतिधिले लिनुपर्ने अवस्था छ ।’ सिडिओ कटवालले सडकको निर्माण सक्ने समयावधि तोकेर काम अगाडि बढाउनुपर्ने बताए ।


प्रतिनिधिसभा सदस्य प्रमोद साहले पैसा भए पनि ठेकेदारले काम नगर्दा सर्लाहीको अवस्था अविकसित नै देखिएको बताए । उनले ठेकेदार र सम्बद्ध कार्यालयको लापरबाहीले विकास अवरुद्ध भएको दाबी गरे । ‘कुनै बहानामा काम रोक्न पाइँदैन,’ उनले भने, ‘पूरै जिल्ला धूलोले ढाकिएको छ । निर्माण व्यवसायी र उनीहरूलाई काम लगाउन नसक्ने सडक डिभिजनका कारण जिल्ला अविकसितको सूचीमा परेको छ ।’


छलफलका सहभागीले ठेकेदार र सडक डिभिजनले जनतामाथि अन्याय गरेको भन्दै आक्रोस पोखे । सुस्त गतिमा काम गरिरहेको ठेकेदार नन्दलाल श्रेष्ठले आफ्नो जिम्माको काम तत्कालै सुरु गरेर वैशाखको पहिलो सातादेखि कालोपत्रे थाल्ने दाबी गरे । ठेकेदार नरेन्द्र सिंह र नागेन्द्र साहले केही स्थानमा अवरोध रहेकाले काम गर्न कठिनाइ भएको बताए । तर, सहभागीहरूले अवरोध नरहेको ठाउँमा पनि सडकको निर्माण हुन नसकेको बताए ।


हुलाकी सडक आयोजनाका प्रमुख सन्तोषकुमार कर्णले काम फटाफट गर्न कुनै बाधा नरहेको बताउँदै धूलो नियन्त्रणका लागि ठेकेदारले दैनिक पानी छर्किनुपर्ने ठेक्का सम्झौतामै उल्लेख रहेको बताए । दैनिक पानी छर्केर धूलो नियन्त्रण गर्ने, सम्झौता अवधिभित्रै निर्माण सक्नुपर्ने, अवरोध हटाउन स्थानीय प्रशासन र स्थानीय तहले पहल गर्ने समेत छलफलमा निर्णय भएको छ । सांसद साहले बैठकको निर्णयअनुसार काम नभए निर्माण व्यवसायीलाई कारबाही हुनुपर्ने माग गरे ।

प्रकाशित : चैत्र १०, २०७४ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?