कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिंस्रक बन्दै निकुञ्जका हात्ती

दुई दिनमा ३ जनाको ज्यान लियो
शंकर आचार्य

पर्सा — पर्सा राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएका नेपाली सेनाको आँखा छल्दै मानव प्रवेश बढ्न थालेपछि त्यहाँका हात्ती हिंस्रक बनेका छन् । निकुञ्जमा दुई दिनयता हात्तीको आक्रमणले तीन जनाको ज्यान गएको छ । हात्ती आक्रमणबाट निकुञ्जको रामभौरीभाठा क्षेत्रमा शनिबार २ जनाको र बिहीबार एक जनाको मृत्यु भएको हो ।

हिंस्रक बन्दै निकुञ्जका हात्ती

ठोरी गाउँपालिका–४ सिमरा टोलका ३९ वर्षीय सागबहादुर दोङ र मकवानपुर, मनहरीका मनमोहन ढकालको शनिबार मृत्यु भएको हो । नयाँ वर्षमा निकुञ्जको भाठा इलाकामा लाग्ने मेला हेर्न उनीहरू सेनाले छुट्टयाएको बाटो प्रयोग नगरेर चोर बाटोबाट निकुञ्ज प्रवेश गरेका थिए । साथी निलबहादुर दोङसँग मोटरसाइकलमा चढेर भाठातर्फ जाँदै गरेका सागबहादुरलाई हात्तीले सुँडले थुतेर पछारेका थिए । उनको घटनास्थलमै मृत्यु भयो । चालक निलबहादुरलाई पनि हात्तीले आक्रमण गरे पनि उनी सामान्य घाइते भए ।


यस्तै, बिहीबार साँझ निकुञ्जको त्यही क्षेत्रमा हात्तीकै आक्रमणले जोगी कमलेश गिरीको ज्यान गएको छ । निकुञ्जमै लामो समयदेखि तपस्यामा बसेका गिरीको घटनास्थलमै ज्यान गएको हो । प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले दोङद्वय मेला हेर्न सेना खटिएको चारभैया पोस्टको साटो निर्मलबस्तीको चोर बाटोबाट प्रवेश गरेको बताए । हात्तीकै आक्रमणले ज्यान गुमाएका ढकाल पनि गलत बाटोबाटै निकुञ्जमा पसेका थिए । ‘दुबै जना कोर एरियाबाट निकुञ्जमा प्रवेश गरेका थिए,’ आचार्यले भने, ‘ढकाललाई हात्तीले आक्रमण गरेपछि उनी चढेको मोटरसाइकल चालक ज्यान जोगाउन रूखमा चढेर बसे, उनले नै दिएको सूचनाका आधारमा आइतबार बिहान ढकालको शव फेला परेको हो ।’ निकुञ्जभित्र हात्तीले आक्रमण गर्न थाले पनि गलत बाटो प्रयोग गरेर जोखिम मोल्दा ज्यानै जाने घटना बढेको उनले बताए ।


मेला र धार्मिक आस्थाको नाममा जबर्जस्ती निकुञ्जमा प्रवेश गर्दा हिंस्रक बनेको हात्तीले आक्रमण गर्न थालेको आचार्य बताउँछन् । ‘मेलामा व्यापार गर्न हिँडेका व्यापारीको टयाक्टरको ठूलो आवाजले हात्ती तर्सिएको देखिन्छ,’ उनले भने, ‘त्यसपछि हात्ती हिंस्रक बनेको देखिन्छ । मानिस देख्नासाथ आक्रमण गर्न थालेको छ ।’


हात्तीले गिरीको ज्यान लिएपछि निकुञ्ज प्रशासनले शनिबार भाठामा आयोजित मेला रोक्न र सर्वसाधारणलाई निकुञ्ज प्रवेश गर्न नदिन प्रयास गरेको थियो । बलजफती गर्दा मानिसको ज्यान गएको आचार्य बताउँछन् । ‘निकुञ्ज प्रशासनको अनुमति लिएर मात्र निकुञ्जमा प्रवेश गर्नुपर्ने नियमलाई लत्याउँदै जबर्जस्ती हजारौं सर्वसाधारण निकुञ्जमा प्रवेश गरे, मेला समितिले पनि यस्तो अवस्थामा मेला नलगाउनुभन्दा मानेन,’ उनले भने, ‘घटनापछि मेला समितिका कोही पनि सम्पर्कमा छैनन् ।’


फर्किए हात्ती र कर्मचारी
झन्डै १ महिनादेखि निकुञ्जको रामभौरीभाठा पोस्ट क्षेत्रमा आउने एकदारे भाले हात्ती हिंस्रक बनेर मानिसको ज्यानै लिन थालेपछि पोस्टमा खटिएका कर्मचारी र निकुञ्ज गस्तीका लागि त्यहाँ खटिइएका २ हात्तीलाई अमेलगन्जस्थित हात्तीसारमा फिर्ता ल्याइएको आचार्यले बताए । पोस्टमा राखिएका २ ढोइ १३ वर्षकी चित्रसेनकली र ५० वर्षकी मेनकाकली तथा तिनको सेवामा खटिएका ७ कर्मचारी समेतलाई फिर्ता बोलाइएको हो । ‘१ महिनादेखि त्यो आक्रामक हात्ती पोस्टमा आउने, चित्रसेनकलीसँग संसर्ग गर्ने गथ्र्यो, दुबैको राशनको धान, मीठा खाएर दु:ख दिने गथ्र्यो,’ आचार्यले भने, ‘हाल थप आक्रामक भएको हात्तीले निकुञ्जकै हात्ती र कर्मचारीलाई आक्रमण गर्ने अवस्था आएकाले सजगता अपनाइएको हो ।’

प्रकाशित : वैशाख ३, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?