कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा धमाधम भवन बन्दै

लक्ष्मी साह

बारा — नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले सामुदायिक विकास कार्यक्रमअन्तर्गत दर्जन गाउँमा प्रसूति गृह, कल्भर्ट, विद्यालय र वडा कार्यालयको भवन निर्माण गरेको छ ।

स्थानीय तहमा धमाधम भवन बन्दै

भवन निर्माणले स्थानीय तहलाई सघाउ पुगेपछि जनप्रतिनिधि र स्थानीय समुदाय उत्साही छन् । साढे पाँच करोड खर्चेर विभिन्न स्थानीय तहमा ती भवन निर्माण गरिएको संस्थाले जनायो ।


‘समुदायको आवश्यकता बुझेर संस्थाले पूर्वाधार बनाइदिएपछि स्थानीय तहलाई सहयोग पुगेको छ,’ करैयामाई गाउँपालिका–८ का वडा अध्यक्ष सुरेन्द्र साहले भने, ‘संस्थाको पूर्वाधारमा लगानी भएपछि स्थानीय उपभोक्ता र समुदाय खुसी छन् ।’ भगवानपुर, कुडवा श्रीनगर बैरिया, लक्ष्मीपुर कोतवालीमा सवा करोड खर्चेर ४ वटा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ ।


यसैगरी बारागढी गाउँपालिकाको खोपवा, आदर्श कोतवाल गाउँपालिकाको बतरा, करैयामाई गाउँपालिकाको नरही र सिहोर्वा गाउँमा माटोको घरमा सञ्चालन हुँदै आएको बर्थिङ सेन्टर पक्की बनाइएको छ । ८० लाखको लागतमा ४ वटा पक्की बर्थिङ सेन्टरको भवन निर्माण भएको छ । जसले महिलाको सुरक्षा मिलेको नरही स्वास्थ्य चौकीका इन्चार्ज रामसागर ठाकुरले बताए ।


बरागढी गाउँपालिकाको सिंहासनी र आदर्शकोतवाल गाउँपालिकाको टेढाकट्टीमा २५ लाखको दुइटा कल्भर्ट निर्माण गरेपछि आधा दर्जन गाउँको बासिन्दाको आउजाउ गर्न सहज भएको स्थानीय महेन्द्र यादवले बताउँछन् । गत साउनमा आएको भीषण बाढीले कल्भर्ट बगाएपछि समुदायको आग्रहमा त्यहाँ कल्भर्ट निर्माण गरिएपछि अहिले सहज भएको उनको भनाइ छ ।


यसैगरी विद्यार्थीको चाप धेरै र कक्षा कोठा अपुग भएको आदर्शकोतवाल गाउँपालिकाको पटेर्वा र कोल्हवी नगरपालिकाको बछनपुर्वामा संस्थाले ५२ लाखको २ वटा विद्यालय भवन निर्माण गरेको छ । बारागढीको खोपवामा १० कोठे वडा कार्यालय भवन डेढ करोडमा निर्माण भइरहेको छ ।


नरहीमा सिँचाइका लागि ४७ लाखको लागतमा साइफन निर्माण र इनर्वामाल, सिंहासनी, बछनपुर्वालगायतका गाउँमा ३ करोडको स्वास्थ्य तथा शिक्षाका लागि भवन बनाउने योजना रहेको संस्थाका जिल्ला संयोजक विपिन दासले बताए । ‘स्थानीय तहमा परिषद्बाट पास गराएर उपभोक्ताबाट निर्माण हुन्छ,’ उनले भने ।


प्रसूतिको चाप बढ्यो:


डेढ वर्षअघि जिल्लामा १६ स्थानमा बर्थिङ सेन्टर सञ्चालन गर्ने अनुमति दिइयो । जसमध्ये नरही स्वास्थ्य चौकीको बर्थिङ सेन्टर यस्तो थियो, जहाँ सर्पको बिगबिगी र महिलाको ‘प्राइभेसी’ समस्याले प्रसूति गराउन महिलाहरू रुचाउँदैनथे ।


तर संस्थाले गरेको बर्थिङ सेन्टर निर्माणले प्रसूतिको चाप बढेको छ । ‘डेढ वर्षमा जतिले प्रसूति सेवा लिए, त्यति छुट्टै र सुरक्षित प्रसूति गृह भएपछि सेवा लिएका छन्,’ अनमि मम्भा चौधरीले भनिन्, ‘डेढ वर्षमा ३ सय प्रसूति सेवा लिएकोमा सुविधासहितको बर्थिङ सेन्टर भएपछि चार महिनामै सयभन्दा बढीले सेवा लिएका छन् ।’

प्रकाशित : वैशाख ४, २०७५ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?