कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्मी छल्न पोखरीकै भर

पवन यादव

निजगढ — बाराको झरोखर पोखरीमा नुहाउन दैनिक स्थानीय बालबालिकाहरूको ओइरो लाग्ने गरेको छ । नेपाल–भारतको सिमाना क्षेत्र नजिकै पर्ने उक्त पोखरीमा सीमावर्ती नेपाली र भारतीय गाउँका बालबालिकासँगै ठूला मानिसहरू पनि नुहाएर गर्मीको मज्जा लिने गरेका छन् ।

गर्मी छल्न पोखरीकै भर

नेपालको बसवरिया, कचोर्वा, बंकुल लगायत गाउँका तथा भारत बिहारको विभिन्न गाउँका बालबालिका तथा तिनका अभिभावक पोखरीमा नुहाउन आउने गरेका छन् ।


२ साता यता गर्मी बढेसँगै पोखरीमा नुहाउनेहरूको चहलपहल बढेको बसवरियाका रामप्रीत साहले बताए । सहरको स्वीमिङ पुल गाउको पोखरी एउटै हो, उनले भने, ‘स्वीमिङ पुलमा ठूलाबडा नुहाउन पौडी खेल्न परिवार सहित पुग्छन् ।’ खेतीपातीबाट हातमुख जोर्ने गरिब मजदुर तथा तिनका बालबच्चाले पोखरीमै पौडी खेलेर स्वीमिङ पुलको मज्जा लिने गर्छन् । गाउँका धेरैलाई स्वीमिङ पुलको अर्थ थाहा हुँदैन । तर पनि उनीहरू गाउँले पारामा पोखरीमा पौडी खेल्दै नुहाएर गर्मीको मज्जा लिने गरेको उनले बताए ।

गर्मीका बेलामा पोखरीमा नुहाउनुको मज्जा अर्कै भएको स्थानीय १२ वर्षीया संजु कुमारी महतोले बताइन् । ठूलो क्षेत्रफलमा फैलिएको उक्त पोखरीमा नुहाउन उनी टोलका साथीहरूको समूहमा आइपुगेकी हुन् । ‘एक अर्कासँग जिस्कदै पानी फालाफाल गर्दै नुहाउँछौं,’ उनले भनिन्, ‘शरीरमा पानी फाल्दा धेरै मज्जा आउँछ ।’

पोखरीको पानी शीतल भएकाले नुहाउन मज्जा आउने गरेको उनले बताइन् । उनका अनुसार पाखरीमा नयाँ साथीले पोखरीको किनारमै नुहाएर पौडी सिक्छन् । पौडी जान्नेले भित्रभित्रसम्म पुग्छन् । पौडी खेल्दै गहिरो भएको स्थानमा पुगेर नुहाउँदा धेरै रमाइलो लाग्छ । हामी बालबालिकालका लागि सधैं गर्मी रहिरहोस् र यसरी नुहाउन पाइयोस् उनले मनको भाव व्यक्त गरिन् ।

प्रकाशित : वैशाख ८, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?