कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यवस्थित गरिँदै हाटबजार

३ सय ८ कोठे सपिङ कमप्लेक्स निर्माण हुने
अवधेशकुमार झा

राजविराज — सप्तरी सदरमुकाम राजविराजस्थित हटिया (हाटबजार) लाई व्यवस्थित गर्ने काम सुरु भएको छ । हटियाको एक बिघा ११ कट्ठा जग्गामा कतै अतिक्रमण त कतै झुपडीमा पसल सञ्चालन हुँदै आएकोमा अब पक्की संरचना निर्माण गरी व्यवस्थित गर्न लागिएको हो ।

व्यवस्थित गरिँदै हाटबजार

राजविराजमा हाटबजार स्थापना भएयता यसलाई पूर्ण रूपमा व्यवस्थित गर्न सकिएको थिएन । सघन सहरी विकास कार्यक्रमअन्तर्गत राजविराज नगरपालिकाले पाएको कुल ३५ करोड रुपैयाँ बजेटअन्तर्गत १९ करोडको लागतमा त्यसलाई व्यवस्थित गर्न लागिएको भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख रमेश थिंगले जानकारी दिए । बाँकी १६ करोड रुपैयाँले नगरको विभिन्न सडकको स्तरोन्नति गर्ने तयारी छ ।

राजविराज नगरपालिकाले हटिया व्यवस्थित गर्ने योजना ल्याएपछि उक्त योजना स्थानिय व्यापारीलाई उठिबास गर्ने किसिमको भएको भन्दै हटियाका व्यापारीले विरोध गर्दै आएका थिए । तर नगरपालिकाले हटियामा हाल सञ्चालनमा रहेको पसलहरूलाई अन्यत्र स्थान दिई सारेपछि सोमबार बिहानैबाट हटिया क्षेत्रमा रहेका झुपडीहरू व्यापारीले आफैं खाली गर्न सुरु गरेका छन् ।

राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले यसै सातादेखि हटियामा सपिङ कम्प्लेक्स बनाउन सुरु गरिने जानकारी दिए । भवन निर्माण डिभिजन कार्यालय प्रमुख थिंगका अनुसार ३ वर्षभित्र बनाउनुपर्ने गरी रसुवा रोसन जेभी निर्माण कम्पनीले सम्झौता गरेको छ । पछिल्लो एक वर्ष स्थानीय अवरोधका कारण जग्गा खाली नहँुदा काम सुरु हुन सकेको थिएन । अब व्यापारीहरूले जग्गा खाली गरेपछि यसै सातादेखि काम सुरु गर्ने तयारी गरिएको छ । कुल ३ सय ८ वटा कोठा रहने गरी दुई तले सपिङ कम्प्लेक्स राजविराज हटियामा निर्माण हुन लागेको हो । पहिलो तल्ला छत ढलान गर्ने तथा दोस्रो तलामा जस्ताले छाउने गरी कम्प्लेक्स निर्माण गर्ने तयारी भएको छ ।

‘निर्माण कम्पनीले सम्झौता गरेको एक वर्ष विवादमै बित्यो,’ भवन निर्माण डिभिजन कार्यालय प्रमुख थिंगले भने, ‘अब दुई वर्ष बाँकी छ, विवाद समाधान भएकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी दु्रत गतिमा कार्य सञ्चालन गरिनेछ ।’ राजविराजको हटियामा हाल व्यापार गर्दै आएका तरकारी, चुरा मुरही, मनिहारा, माछा सहितका व्यापारीहरूले आफूहरूलाई बैकल्पिक जग्गा उपलब्ध गराए मात्र जग्गा खाली गर्ने अडान लिएका थिए । जसका कारण हटियाको जग्गा खाली नहुँदा निर्माण सुरु हुन सकिरहेको थिएन ।

नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको वडा नम्बर ४ को जग्गामा व्यवस्थित सेड निर्माण गरी माछा व्यापारीलाई त्यहाँ सारेको छ । ‘तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्ने गरी दु्रत गतिमा सपिङ कम्प्लेक्स निर्माणको कार्य अघि बढाउने तयारी छ,’ मेयर शम्भुप्रसाद यादवले भने, ‘स्थानीय व्यापारी समेतको समन्वयमा निर्माण अघि बढाइनेछ ।’

प्रकाशित : वैशाख ११, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?