कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्ती आक्रमणबाट महिलाको मृत्यु

६ वर्षमा १७ जनाको ज्यान गयो
अवधेशकुमार झा

राजविराज — कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट मंगलबार बिहान सप्तरीमा एक महिलाको मृत्यु भएको छ । 

हात्ती आक्रमणबाट महिलाको मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिका-११ ठेलिया लखनपटीकी ४५ वर्षीया दुर्गीदेवी यादवको हात्तीको आक्रमणबाट मृत्यु भएको सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए । बिहान करिब ३ बजेको समयमा आरक्ष क्षेत्रबाट आएको हात्तीले घरमा सुतिरहेका बेला सुढले आक्रमण गरेको थियो । दुर्गीदेवीको घर भत्काउँदै हात्तीले आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हात्ती आक्रमणबाट उनको घर क्षतिग्रस्त भएको छ ।

हात्ती आक्रमणबाट मृत्यु भएकी दुर्गीदेवीको परिवारलाई तत्काल ५० हजार रुपैयाँ दिइने आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । उनका अनुसार सरकारले वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको बताउँदै आवश्यक प्रक्रिया पुर्‍याएर उक्त रकम दिन पहल गरिने जानकारी दिए । तीन महिनाअघि मात्र कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणबाट सप्तरी कन्चनरुप नगरपालिका-५ पथरीकी ४५ वर्षीया दुर्गीदेवी मुखिया र ३५ वर्षीया मन्जुदेवी साहको मृत्यु भएको थियो ।


हात्ती र अर्नालगायत जंगली जनावरबाट मानवीय क्षति मात्र होइन्, वर्षेनी करौडौं रुपैयाँबराबरको बालीनालीसमेत क्षति हुँदै आएको छ । हात्ती र अर्नाले सप्तरीको फत्तेपुर, कञ्चनपुर, कमलपुर, घोघनपुर, बदगामा, बैरबा, बरमझिया, पोर्ताहा, भारदहसहित सुनसरीको प्रकाशपुर, मधुवन, हरिपुर, श्रीपुर र पश्चिम कुसहा तगा उदयपुरका केही क्षेत्रमा दु:ख दिँदै आएको छ ।

सप्तरी, उदयपुर र सुनसरीका एकसय ७५ वर्ग किलोमिटर क्षेत्रमा कोसी टप्पु वन्यजन्तु आरक्ष फैलिएको छ । तर, बढ्दो अतिक्रमण र वन विनाशका कारण वन क्षेत्र मात्र ४ प्रतिशत रहेको छ । आरक्षमा वन क्षेत्रको अभाव र अहाराको खोजीमा वन्यजन्तु बाहिर निस्कँदा घटना हुने गरेको संरक्षण अधिकृत साहले बताए ।


यसका अतिरक्त आरक्ष आसपास मध्यवर्ती क्षेत्रमा घर बनाएर बस्ने र आरक्षलाई घेराबेरा गर्न लगाइएको तारजाली पनि प्रभावकारी नहुँदा जंगली जनावर आरक्ष वाहिर निस्केर सर्वसाधारणको ज्यान लिनुका साथै बाली र घरमा क्षति पुर्‍याउँदै आएको छ ।


बार स्थानीय गोठालाहरुले नै उखेलेर लग्ने गरेका कारण जंगली जनावरलाई नियन्त्रण गर्न मुस्किल हुने गरेको संरक्षण अधिकृत साहले बताए । तर, स्थानीयहरुले भने आरक्षले हात्तीसहितका जंगली जनावर आरक्ष बाहिर जान नदिन कुनै गतिलो उपाय नअपनाएकाले वर्षेनी मानवीय क्षति हुने गरेको आरोप लगाउँदै आएका छन् । हात्तीको आक्रमणबाट पछिल्लो ६ वर्षमा मात्र सप्तरी, सुनसरी र उदयपुरमा गरी १७ जनाको मृत्यु भइसकेको छ ।


दुई वर्षयता मात्र हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट २०६९ सालयता सप्तरी कमलपुरकी संगीता यादव, सुनसरी हरिपुरका प्रेमबहादुर मगर, भोलबीदेवी मुखिया, सप्तरी घोघनपुरका विन्देश्वर चौधरी, तपेश्वरी उदयपुरका कोकिला श्रेष्ठ, बैरबा सप्तरीका अलाउद्यिन खा को मृत्यु भएको छ ।


यस्तै सुनसरी पश्चिम कुसहाका लालु मण्डल, उतिमलाल मण्डल, कोसी गाउँपालिकाका बेचनीदेवी सरदार, सेवियादेवी सरदार, सप्तरी कञ्चनपुरकी फुलवादेवी यादव, दुर्गीदेवी मुखिया, मन्जुदेबी साह, भारदहका रोगनाथ खंग तथा हनुमाननगर सप्तरीका रोशनकुमार झा र सञ्जय साफीको मृत्यु भएको छ ।


मंगलबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएकी दुर्गीदेवी यादवसमेत पछिल्लो ६ वर्षमा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रकाशित : वैशाख ११, २०७५ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?