कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुला शौचले राजधानी दुर्गन्धित

२५ मध्ये २२ वडा खुला दिसामुक्त भएनन्
सहरभरि जम्मा १० वटा मात्र सार्वजनिक शौचालय
सहरकै घरमा समेत शौचालय छैनन्
शाहीमान राई

जनकपुर — राजधानी सहर जनकपुुरमा खुला शौच गर्नु सामान्यजस्तै छ । खुला दिसापिसाब गर्न मनाही लखेको साइनबोर्ड राखे पनि त्यसकै मुनि बिहान खुला शौच गर्नेको लहर चल्छ ।

खुला शौचले राजधानी दुर्गन्धित

राम मन्दिर परिसरबाहिर पश्चिमपट्टि पर्खालमा लेखिएको छ, ‘यहाँ पिसाब करना सख्त मना है, पिसाब करनेवालाको ५०१ जरिवाना है ।’ सोही मन्दिर छेउको सडक किनारामा अर्को होर्डिङबोर्डमा लेखिएको छ, ‘यस उपमहानगर परिसरभित्र बाटो हगुवा (खुला ठाउँमा दिसापिसाब गर्ने) निर्लज्जहरूलाई प्रवेश निषेध गरिएको छ ।’ तर त्यही भित्तामा दिसापिसाब गर्ने नरनारीको संख्या कम छैन । धनुषपोखरी किनारा, राममन्दिर छेउ केहीबेर उभिँदा त्यही निषेधात्मक बोर्डमुनि कैयौंले खुला शौच गरेको देख्न सकिन्छ । सडकको केही ठाउँमा पुरुषका लागि खुला शौचालय बनाइएका छन् ।

मन्दिरै मन्दिरको प्राचीन सहर जनकपुर खुला शौचालयले दुर्गन्धित बनेको छ । तिनै दुर्गन्धित सडक छेउमा खाजानास्ता, चिया बेच्ने ठेलागाडा पसले पनि छन् । राम मन्दिरको यो दृश्य एउटा उदाहरण मात्र हो । जनकपुरधाम आसपासको क्षेत्रमा मठमन्दिर, कुटी, गुठी, सडक छेउ, गल्ली, ताल, पोखरीको किनार, सार्वजनिकस्थलमा दिसापिसाब गर्ने चलनजस्तै भइसकेको छ । अझ पर्वमेला, धार्मिक यात्राका क्रममा टाढाबाट आएका भक्तजनहरू सडक किनार र भित्तामा दिसापिसाब गर्न तँछाडमछाड नै गर्नुपर्ने अवस्था आउँछ । ‘गर्नेभन्दा देख्नेलाई लाज, त्यति बेला आँखा चिम्लिने र मुख छोप्नेबाहेक विकल्प हुँदैन,’ जनकपुर उपमहानगरपालिका–४ तिरहुतियागाछी टोलका चन्द्रेश्वर शर्मा भन्छन्, ‘यो प्राचीन सहर जनकपुरको सबैभन्दा नराम्रो पक्ष हो ।’

विशाल सहरको फुटपाथमा छोरीचेली, गुरुचेला, आफन्त, साथीभाइसँगै हिँड्दा खुला शौचालयका कारण लज्जित बन्नुपर्ने अवस्था यहाँ सामान्य नै मान्नुपर्छ । सडकमा महिला विद्यार्थी केटाकेटी आफन्त जोसुकै यात्रा गरून् एकछेउ खुला शौच गरिहाल्छन् । लाज, घिन, सरमको कुनै वास्ता हुँदैन । जाऊन् पनि कहाँ ? फोहोर फाल्ने कहाँ ? न त लुकेर दिसापिसाब गर्ने ठाउँ छ, न त फोहोर फाल्ने डम्पिङसाइड नै । बाध्य भएर जहाँ पायो, त्यहीं फाल्छन् । जहाँ मन लाग्यो, त्यहीं दिसापिसाब गर्छन् । गर्मी मौसममा हावाहुरी त्यस्तै धुलाम्मे सडक, खुला दिसापिसाब र ढलको पानी धूलोमा परिणत हुन्छ ।

हावाहुरीले उडाएको धुलोले नाक, मुख, आँखा, शिरदेखि पाउसम्म रंगाइदिएपछि मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने गरेको छ । करिब ३३ हजार घरपरिवार रहेको धार्मिक तथा व्यापारिक केन्द्र जनकपुर उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय पर्याप्त छैन । ‘बाक्लो बस्ती, जताततै घरैघर, मान्छे नै मान्छे भएको व्यस्त सहरमा न सार्वजनिक शौचालय, न त खुला चौर न जंगल, कहाँ जाने दिसापिसाब गर्न ?’ प्रश्न गर्दै स्थानीय समाजसेवी मीना शर्मा भन्छिन्, ‘फोहर फाल्ने ठाउँ त छैन, दिसापिसाब गर्ने ठाउँको कुरै नगरौं ।’

मुलुकभरका ११ वटा उपमहानगरमध्ये धार्मिक तथा सांस्कृतिक सहरका रूपमा महत्त्व राख्ने जनकपुरधाम उपमहानगरपालिकाका २५ वटा वडामा ३३ हजार घरपरिवार र १ लाख ५९ हजार ४ सय ६८ जनसंख्या छ । यसबाहेक व्यापार व्यवसाय, अध्ययन, रोजगार, सरकारी तथा गैरसरकारी संघसंस्थाका कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थीलगायत अन्यजिल्लाबाट विभिन्न पेसा व्यवसाय गर्न आएका ५० हजारभन्दा बढी जनसंख्या रहेको अनुमान छ ।

यसबाहेक धार्मिक, सांस्कृतिक पर्यटनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटक, तीर्थालु भक्तजनको आवतजावत हुने यति धेरै जनघनत्व भएको जनकपुर सहरमा जम्मा दसवटा मात्र शौचालय रहेको जनकपुर उपमहानगरपालिका कार्यालयका सामाजिक शाखा प्रमुख शाखा अधिकृत गणेशप्रसाद यादवले बताए । तर अधिकांश मानिस यी शौचालय जाँदैनन् । सार्वजनिक शौचालय जानुभन्दा खुला शौचालयमा नै आफ्नो काम सक्छन् र बाटो लाग्छन् । सार्वजनिक शौचालयमा दिसापिसाब गरेबापत ५ रुपैयाँ रकम तिर्न गाह्रो मान्दै खुला ठाउँमै दिसापिसाब गर्ने प्रवृत्तिलाई परिवर्तन गर्न कठिन भएको छ ।

सरकारले मुलुकभर खुला दिसामुक्त कार्यक्रम सञ्चालन गर्दै करोडौं लगानी गरेर अधिकांश जिल्ला, नगर, गाउँपालिका, वडा, गाउँटोललाई खुला दिसामुक्त घोषणा गरिसकेको छ । तर जनकपुर उपमहानगरपालिकाले २५ वडामध्ये २२ वडा वडामा खुला दिसामुक्त घोषणा गर्न सकेको छैन ।

सामाजिक शाखाका अधिकृत यादवका अनुसार उपमहानगरको वडा नं २१ को १ हजार ३ सय ५० घर, वडा नं २२ को ५ सय ३६ घर र वडा नं २३ को १ हजार १ सय ९२ घर खुला दिसामुक्त घोषणा गरिएका छन् । ‘यति ठूलो सहरका मान्छेलाई घरघरमा शौचालय बनाउन उर्दी गर्न निकै कठिन छ, वर्षौं बितिसक्दा पनि आफ्नै लागि शौचालय बनाउँदैनन्,’ वडा नं ५ का वडासचिव जमुना भुजेलले भनिन्, ‘हरेक दिन घरघर जान्छु, अब एक घर बाँकी छ, त्यसपछि दिसामुक्त घोषणा गर्छौं ।’ नगरपालिकाको नोकरीसँगै समाजसेवामा सक्रिय भुजेलले आफू कार्यरत वडालाई शीघ्र खुला दिसामुक्त बनाउन चाहेको बताइन् ।

ऋषिमुनिकालीन सहर जनकपुरलाई आधुनिक सहरका रूपमा विकसित गर्ने क्रममा सामाजिक वातावरणको नकारात्मक प्रभाव परेको जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले बताए । जताततै फोहोरमैला, खुला शौचालय, डम्पिङसाइट, लामखुट्टे, ध्वनि प्रदूषण, वातावरण प्रदूषणबाट अक्रान्त जनकपुर सहर राज्यबाट उपेक्षित रहेकाले यो अवस्थामा पुगेको उपमहानगर प्रमुख लालकिशोर साहले बताए ।

बीस वर्षको अवधिमा जनप्रतिनिधि नहुँदा उपमहानगरपालिका पूरै अस्तव्यस्त बनेको भनाइ छ । यहाँको सहर, बस्ती, बजार, मठमन्दिर, धार्मिकस्थल, सांस्कृतिक संरचना, कार्यालयलगायत उपमहानगर पूरै अव्यवस्थित रहेकाले सुधारका निम्ति सक्रियता दिएको प्रमुख साहले बताए ।

उपमहानगर क्षेत्रमा दुई सयवटा आरामदायी शौचालय निर्माण गर्ने सोच रहेको साहले बताए । पूरै जनकपुर सहर व्यवस्थित गर्न सरसफाइ, भौतिक संरचना निर्माणका लागि खानेपानी तथा सरसफाइ विभागबाट २ अर्ब बजेट स्वीकृत भई सम्झौता भइसकेको उपमहानगर प्रमुख साहले बताए ।

प्रकाशित : वैशाख १३, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?