कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसहर महिलाले भने-‘मदिरा बन्द गर, विकास हामी गर्छौं’

रवीन्द्र उप्रेती

महोत्तरी — ‘तपार्इंहरूले जस्तो सहयोग गरे पनि हाम्रो अवस्थामा केही परिवर्तन आउँदैन,’ गौशाला नपा ७ मनहरबाको मुसहर वस्ति पुगेका संचारकर्मीलाई बस्तीका २ दर्जनभन्दा बढी महिलाले एक स्वरले भने, ‘सक्छौ भने मदिरा बन्द गराई देऊ हाम्रो विकास हामी आफैं गरेर देखाइदिन्छौं ।'

मुसहर महिलाले भने-‘मदिरा बन्द गर, विकास हामी गर्छौं’

साथै रहेकी जयकला सदाले थपिन् ‘हैन भने धुर्मुस सुन्तलीले घर बनाइदिऊन् कि प्रधानैमन्त्री आऊन् यहाँका मुसहरलाई केही फरक पर्नेबाला छैन ।’ समाज परिवर्तन नहुनुको मुख्य कारण हो, पुरुषहरूको खुला मदिरा सेवन । महिलाहरूले निर्धक्क भने ‘खल्तीमा पैसा छ भने दिनमै पनि लट्ठिन्छन् ।’

दलित समुदायको उत्थान र विकाशका लागि राज्यले आरक्षणदेखि छात्रवृत्ति पोसाक र विशेष भत्तासमेत ब्यवस्था गरेको छ । नयाँ शैक्षिक सत्र प्रारंभ भएसँगै प्रधानमन्त्रीदेखि मन्त्रीसम्म
विद्यालयमै पुगेर दलितका छोराछोरी भर्ना गराउने र अभिभाकत्व लिने होड नै चल्यो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले पनि महोत्तरीका स्कुलमा पुगेर दलितका बालबालिका भर्ना गराए । अभिभावक बने । धुर्मुसकी सुन्तलीलेसमेत मनहरवामै पुगेर मुसहर समुदायका १ सय २५ बालबालिकाको शैक्षिक अभिभावक ग्रहण गरि २ लाखभन्दा बढीको छात्रबृति वितरण गरेर चर्चा बटुले ।तर मुसहर समुदायका महिला भने यस्ता नाम कमाउने, चर्चा बटुल्ने र समाचार बन्ने घटनाले दलितको उत्थान नहुने धारणा राख्न थालेका छन् । महिलाहरूले गाउँमा मदिराले ल्याएको थुप्रै विकृति र समस्या सुनाए । घरेलु मदिरा सेवनले सरदर ४० वर्षभन्दा बढी उमेर मुसहर समुदाय बाच्न नसकेको उनीहरूको भनाई थियो । अत्यधिक मदिरा सेवनले काम गर्ने क्षमतामा ह्रास, लडाइँ झगडा , कुटपिट फोहर बोली जस्ता विकृति समुदायको पहिचान बनेको उनीहरूले दुखेसो पोखे । मदिरा सेवनले थलिएर ३ वर्षअघि श्रीमान् दुखा मरेको पीडा इन्दु सदाले अझै भुल्न सकेकी छैनन् ।

उनका ३ नाबालक छोराछोरी छन् । मनहरवाको मुसहर वस्तिमा दुखाजस्ता धेरै युवाले अकाकलमै ज्यान गुमाएको स्थानिय महिलाको भनाइ छ । जो बाचेका छन् उनीहरूको स्वास्थ्य र स्वभाव पनि संतोषजनक नभएको उनीहरूले जनाए ।

४ छोराछोरीकी आमा गीतादेवी सदाका श्रीमान मनोज पंजाव कमाउन गएका छन् । तर फर्केपछि कमाइजति रक्सी खाएर सक्ने गरेका उनले पीडा पोखिन् । निर्माला सदाका श्रीमान् दिनको ४/५ सय कमाउँछन् । उनको नाम तुलसी हो । तर कमाइ जति सवै रक्सीमै सकने उनले सुनाइन् । मदिराले ल्याएको विकृति मनहरवामा मात्र हैन । जिल्लाभरकै मुसहर समुदायको हो । गौशाला ४ विर्ता टोलकी लिलम सदा पनि रक्सी र चुरोट न छाडेसम्म मुसहर जाति अगाडि बढन नसकने अनुभव सुनाउछिन । गाउदेखि स्थानिय बजारसम्म ३० रुपैयाँमा एक वोतल घरेलु मदिरा पाइन्छ ।

‘एकजनाले ५/६ बोतलसम्म खान्छन्,’ लिलमले हिसाव जोड्दै भनिन्, ‘कमाइको तीन सयजति रक्सीमा अनि सयजति नास्तामा त्यतिकै चुरोट खैनीमा अनि यो कुलत नछाडेसम्म अरुले सहयोग गरेको भरमा मुसहर कसरी अगाडि बढ्छ ?’मुसहर बालबालिकाको शिक्षा र सरसफाइमा आफनै खर्चमा अभियान संचाल गरिरहेका रेडियो गौशालाका संचारकर्मी तथा सामाजिक अभियन्ता दिनेश महतोकाअनुसार मुसहर समदायमा विकृति बनेको मदिराको असर शिक्षा, जन्मदर्ता र राज्यको सुविधासम्म परेको छ ।

महतोका अनुसार जन्मदर्ता बनाउन जाँदा वडा कार्यालयले शौचालय कार्ड खोज्छ । तर घरमा शौचालय न हुँदा उनीहरूसँग कार्ड हुने कुरै भएन । महतोले निजी खर्चमा गौशाला ९ भरतपुर र वडा ४ विर्ता टोलका ३ सय मुसहर बालबालिकाको शिक्षामा पहुचका लागि बिहानी कक्षा संचालन गरेका छन् । तर ९० प्रतिशत बालबालिकाको जन्म दर्ता नभएको उनले बताए । जन्म दर्ता नभएकोले विद्यालय भर्ना गराउन गाहे परेको उनले जनाए । ‘शौचालय बनाउने पैसाजति त सवै रक्सी र चुरोटमा सक्छन्,’ जितनीदेवी सदाले सुनाइन ‘यो न छोडाउन्जेल सुनकै महल बनाइ दिए पनि केही फरक पर्नेवाला छैन ।’

प्रकाशित : वैशाख २०, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?