१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बाख्रापालनबाट स्वरोजगार महिला

भरत जर्घामगर

सिरहा — धनगढीमाई नगरपालिका ९ मुसहर्नियास्थित सुकुम्बासी मुसहर बस्तीका महिला आयआर्जनका लागि बाख्रा पालनतर्फ सक्रिय भएका छन् । पूर्व–पश्चिम राजमार्गदेखि २ सय मिटर दक्षिणमा अवस्थित नगरपालिका क्षेत्रको मुसहर बस्ती बाटोघाटो, बिजुली र खानेपानी जस्ता सुविधाबाट वञ्चित छ ।

बाख्रापालनबाट स्वरोजगार महिला

३५ वर्षअघि बस्ती विस्तार भएको टोलमा ३२ घर दलित सदाय मुसहर परिवारको बसोबास छ । बस्तीमा माटोले लिपेको भित्ता र खरको छाना भएका घरहरू झुरुप्प छन् । ऐलानी जग्गामा बसोबास गरेको बस्तीका अधिकांश ज्याला मजदुरीमा गुजारा चलाउँछन् । बस्तीका १२ वर्षबाट उकालो लागेका र काम गर्न सक्नेसम्म मजदुरीका लागि पञ्जाव गएका कारण बस्तीमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन् ।

जनमजदुरीको काम समेत पाइन छाडेपछि बस्तीका महिलाले आयआर्जनका लागि बाख्रापालन गर्न थालेका हुन् । बस्तीका भूमिहीन सुकुम्बासी महिला समूहमा आबद्ध भएपछि आयआर्जनका लागि सामुदायिक विकास मञ्चले हरूवा–चरुवा सशक्तीकरण कार्यक्रम लागू गरी बाख्रापालन सुरु गराएको हो ।

मञ्चले सरस्वती महिला बचत तथा ऋण समूह गठन गरी आयआर्जनका लागि बाख्रा, कुखुरापालन, तरकारी खेती, किराना पसल सञ्चालनका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले रकम सहयोग गरेपछि महिलाहरू आयआर्जनमा सक्रिय भएका हुन् ।

बस्तीका २५ वर्षीया सीता सदायले मञ्चबाट १५ हजार रुपैयाँ लिएर ६ वटा बाख्रा पालन गरेकी छन् । पति रामकुमार सदाय मुसहर एक वर्षदेखि पञ्जावमा मजदुरी गर्दै आए पनि पैसा नपठाएपछि आयआर्जनका लागि बाख्रापालन सुरु गरेको सीताले सुनाइन् ।

‘भारतको पञ्जाव कमाउन गएको वर्षदिन बितिसक्यो, वर्षदिनमा ३ हजार रुपैयाँ मात्र पठायो,’ सीताले भनिन्, ‘त्यति रकमले घरखर्च जोहो गर्न मुस्किल भएपछि संस्थाको सहयोगमा बाख्रापालन सुरु गरेकी हुँ ।’ पति कमाउन पञ्जाव गएपछि ५ वर्षीया छोरी पुनम र काखे छोरा आर्यनसहित वृद्ध सासूससुराको लालनपालनमा समस्या भएको उनले सुनाइन् ।

‘काम पाउँदा मजदुरीमा खट्छु, अरू बेला बाख्राको स्याहारसुसारमा खटिन्छु,’ सीताले भनिन्, ‘तीनवटा बाख्रा बियाउन लागेका छन्, पाठापाठी भएपछि आम्दानी हुन्छ होला ।’ सीतामात्र होइन, भूमिहीन सुकम्बासी मुसहर बस्तीका अधिकांश महिला अहिले आयआर्जनका लागि बाख्रापालन, तरकारी खेती, किराना पसलतर्फ सक्रिय भएका छन् ।

समूहबाट १५ हजार रुपैयाँ लिएर फूलकुमारी देवी सदाय मुसहरले ३ वटा बाख्रा पालेकी छन् । सामुदायिक विकास मञ्चको आर्थिक सहयोगमा धनगढी र लक्ष्मीपुर पतारीका भूमिहीन सुकुम्बासी परिवारका १८ महिला बाख्रा, कुखुरा, किराना पसल गरी आयआर्जनतर्फ सक्रिय भएका छन् ।

राजमार्ग नजिकै भए पनि बस्ती पुग्न बाटोघाटो समेत नहुँदा अरूको खेतको आलीबाट हिँड्न बाध्य दलित मुसहर बस्तीको अवस्था देखेर आयआर्जनका लागि रकम सहयोग गरेको सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले बताए ।

प्रकाशित : वैशाख २१, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?