कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेती जोगाउनै मुस्किल

भरत जर्घामगर

सिरहा — चुरे जंगल क्षेत्रबाट बस्ती आसपास निस्किएका नीलगाईले बालीनाली नष्ट गर्न थालेपछि सिरहाका किसान चिन्तित बनेका छन् । विभिन्न खोलानदीको किनारका बालीमा नीलगाईले उपद्रो मच्चाएपछि सिरहाको एक चौथाई उब्जनी नष्ट भएको छ ।

खेती जोगाउनै मुस्किल

सिरहाको बलान, गागन खोला, कमला नदी करिडोर र चुरे फेदी आसपासका खेतजग्गामा हुलका हुल नीलगाईले बालीनाली खाएर उब्जनी सखाप पार्ने गरेको गुनासो किसानले गरेका छन । सिरहाको कुल ६४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १६ हजार हेक्टर जग्गामा लगाइएको उब्जनी नीलगाईको चपेटामा परेको आँकडा कृषि कार्यालयको छ ।

‘यो सिजनमा ५ कठा जग्गामा आलुको खेती गरेको थिए तर उत्पादन हुने बेला ५ किलो पनि घरमा ल्याउन सकिएन’ बलान खोला कारिडोरमा पर्ने लहान–२४ गोविन्दपुरका किसान मनोज पासमानले भने, ‘५ कठमा लगाएको आलु नफल्दै नीलगाईले सबै बोट खाइदियो ।’नीलगाई, बदेल, दुम्सी लगायत अन्य जंगली जनावरले बाली नष्ट गरेर दु:ख दिन थालेपछि दुई वर्षदेखि तरकारी खेती गर्न छाडेको गोविन्दपुरका अर्का किसान रामनारायण चौधरीले दुखेसो पोखे । ‘बाली सखाप गर्ने नीलगाई र अन्य यस्तै किसिमका जनावरलाई छोयो कि वन ऐन लागेर जेल जानुपर्ने अवस्था हुन्छ’, उनले भने, ‘बरु खेती गरेर लगानी र परिश्रम खेर फाल्नुभन्दा खेत बाँझो राखेकै ठीक, वन्यजन्तुबाट चुरे फेदीका हामी आजित भइसकेका छौं ।’

वन्यजन्तुले उपद्रो गरेका स्थानका किसानले बाँस र तारको बार लगाई राति जाग्राम बसेर खेत रुङ्न बाध्य भएको बताए । वन्यजन्तुको चपेटामा चुरे फेदीका गोविन्दपुर, तरेगना, फुलवरिया लगायत क्षेत्र परेका छन् । चुरे फेदीका किसानले जाग्राम बसेर हेरचाह गर्न थालेपछि वन्यजन्तुले दक्षिणतर्फका खोला किनारका किसानलाई दु:ख दिन थालेका छन् । खोला किनार हुँदै वन्यजन्तु दक्षिणवर्ती क्षेत्र मल्हनीया गम्हरिया, मानपुर, पटेर्वा, बसबिटा लगायत क्षेत्रमा पुगेर बाली नष्ट गर्न थालेको त्यस क्षेत्रका किसानले बताए । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले विगत तीन वर्षदेखि जिल्लाको विभिन्न स्थानमा नीलगाईको उपद्रो बढेको जानकारी दिए । खाद्यान्न तथा तरकारी उत्पादन हुने पकेट क्षेत्रमा नीलगाईको उपद्रोलाई नियन्त्रण गर्न नसके आउँदो दिनमा सिरहाको खाद्यान्न उत्पादनले यहाँको खाद्य सुरक्षा धान्न नसक्ने वरिष्ठ कृषि विकास अधिकृत यादवको भनाई छ ।

जिल्ला कृषि विकास कार्यालयकाअनुसार बलान, गागन र कमला नदी कारिडोरमा मध्यम वर्गीय किसानले लगाएका ओल, भान्टा, भिण्डी, आलु, धान, मकै, गहुँ, फर्सी, लौका, काक्रा, केरा, परबल लगायतका फलफूल तथा तरकारी बालीलाई बढी मात्रामा नीलगाईले नष्ट गरेको छ ।जिल्ला वन अधिकृत सुनीलकुमार सिंहले नीलगाई संरक्षित जनावरभित्र परेको हुनाले यसलाई मार्न निषेधित भएको जानकारी दिंदै नीलगाईको चपेटामा परेको किसानलाई राहत उपलब्ध गराउन प्रदेशसभाबाट आवश्यक कानुन निर्माण गर्न पहल गरिने बताए ।‘तारबार र बाँसले घेरेर र राति जाग्राम बसी उब्जनी जोगाउन बाहेक अन्य उपाय छैन’ जिल्ला वन अधिकृत सिंहले भने, ‘यसबाहेक आफ्नो क्षेत्रका सांसदलाई गुहार्दा राहतको व्यवस्था भई क्षतिलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।’ जिल्ला वन कार्यालय सिरहाकाअनुसार सिरहामा करिब चार हजारको संख्यामा नीलगाई छन् ।

प्रकाशित : वैशाख २२, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?