कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय प्रधानमन्त्रीको अभिनन्दनः सप्तरीबाट १० हजार सहभागी हुने

अवधेशकुमार झा

राजविराज — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा सप्तरी जिल्लाबाट १० हजार जनता सहभागी हुने भएका छन् ।

भारतीय प्रधानमन्त्रीको अभिनन्दनः सप्तरीबाट १० हजार सहभागी हुने

मोदी भ्रमण र सप्तरीको सहभागिताबारे जानकारी दिने उद्देश्यले मंगलबार जिल्ला समन्वय समितिले गरेको पत्रकार सम्मेलनमा समन्वय समितिका प्रमुख प्रभाकर यादवले हरेक गाउँबाट मोदीको अभिनन्दनमा जनताको सहभागिता हुने बताए ।

उनले भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनका बेला जनकपुर जाने सप्तरीबासीका लागि प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय तहद्वारा सवारीसाधनको व्यवस्था गरिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जिल्लाका हरेक स्थानीय तहले सर्वसाधारणलाई वैशाख २८ गते जनकपुर जानका लागि २–२ वटा बसको व्यवस्थापन मिलाएको जानकारी दिए ।

सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ स्थानीय तह छ । यस्तै, प्रदेश सरकारका तर्फबाट मोदी भ्रमणका दिन सप्तरीबाट जनकपुरसम्म जानका लागि २२ वटा बसको व्यवस्था गरिएको पाण्डेले जनाए । यसका अतिरिक्त जिल्ला समन्वय समिति सप्तरीले पनि नागरिकलाई जनकपुरसम्म लग्नका लागि केही बसको व्यवस्था गरेको समितिका प्रमुख यादवले जनाए । मोदीको नागरिक अभिनन्दनका लागि अन्य विभिन्न व्यक्ति निजी साधनबाट पनि जनकपुर पुग्ने यादवले बताए । मोदी भ्रमण र नागरिक अभिनन्दनका लागि सप्तरीबाट जनतालाई जनकपुरसम्म लैजान–ल्याउन १५ लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ ।

यसैबीच, भारतीय प्रभानमन्त्री मोदीको भ्रमणका बेला सप्तरीमा सीमा क्षेत्रमा देखिएको समस्या र सप्तरीको विकासका लागि मोदीसँग कुरा राखिदिन जिल्ला समन्वय समिति सप्तरीले प्रदेश सरकारलाई आग्रह गरेको छ ।जिल्ला समन्वय समितिका प्रमुख तथा नागरिक अभिनन्दन व्यवस्थापन समिति सप्तरीका संयोजक प्रभाकर यादवले प्रदेश सरकारलाई ध्यानाकर्षणपत्र पठाउँदै जिल्लाको विकास र समस्याबारे भारतीय प्रधानमन्त्री समक्ष कुरा राखिदिन आग्रह गरेका हुन् ।

विकासका दृष्टिले सप्तरी पछाडि पर्दै आएकाले जनताको आवश्कताअनुसार गरिबी, अशिक्षा, बेरोजगारी, सडक, यातायात लगायतका सवालमा भारत सरकार समक्ष सहयोगका लागि प्रदेश सरकारमार्फत कुरा राख्न ध्यानाकर्षण पत्र पठाएको यादवले जनाए । वर्षौंदेखि सीमा क्षेत्रमा खाँडो नदीको मुहान भारतीय पक्षले थुनेका कारण नेपाली भूभाग र बस्ती डुबानमा पर्दै आएकाले सो समस्या समाधान गर्न खाँडो नदीको मुहानको निकास र खाँडो नदीका तटबन्ध लगायतका संरचना निर्माणमा भारतीय सहयोग हुनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यस्तै कोसी व्यारेजको पुनर्निर्माण र मर्मत सम्भार, कोसीका तटबन्ध लगायत अन्य संरचनाको मर्मत सम्भार, राजविराज–कुनौली गाइघाट सडक निर्माणमा भारतीय सहयोगको अपेक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए । कोसी सम्झौताअनुसार मुआब्जाको व्यवस्था, सप्तरीस्थित शक्तिपीठ छिन्नमस्ता र कंकालिनी भगवती मन्दिरलाई लक्षित गरी धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न भारत सरकारका तर्फबाट विशेष सहयोगका लागि आग्रह गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । यसका अतिरिक्त कृषियोग्य जमिन सिंचाइका लागि कोसी–चतरा हाइड्याम निर्माणको विषयलाई पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित : वैशाख २६, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?