कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभामा मुख्यमन्त्रीको विरोध

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले कूटनीति मर्यादा विपरीत दिएको अभिव्यक्तिको प्रदेशसभा बैठकमा आलोचना भएको छ ।

प्रदेशसभामा मुख्यमन्त्रीको विरोध

मोदीको नागरिक अभिन्दन समारोहमा मुख्यमन्त्री राउतले संविधानलाई ‘विभेदकारी’ भन्दै त्यसविरुद्ध संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए । प्रदेशसभाको बैठकमा मंगलबार बोल्दै एमाले, कांग्रेस र माओवादी केन्द्रका दर्जनभन्दा बढी सांसदले मुख्यमन्त्रीको अभिव्यक्ति मञ्च सुहाउँदो नभएको भन्दै आलोचना गरे । उनीहरूले मुख्यमन्त्रीको अभिव्यक्ति, जानकी मन्दिरमा फरक स्वरूपको राष्ट्रिय झन्डा राखिएको, भारतीय नेता कीर्ति आजादको जनकपुर भारतमा मिसाउनुपर्ने लेखिएको ट्विट, मोदी भ्रमणका क्रममा देखिएको अव्यवस्थाका विषयमा बोलेका थिए ।

सत्तापक्ष संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतको विवादास्पद अभिव्यक्तिको बचाउ गरे पनि मोदी भ्रमणका क्रममा देखिएको भद्रगोलबारे सरकारको आलोचना गरे । प्रदेशसभा बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदले आलोचनापछि सभामुख सरोजकुमार यादवले जेठ ३ गते तोकिएको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।‘विदेशी पाहुनाको उपस्थितिमा संविधान संशोधन र विभेदको कुरा कोट्याउनु कूटनीति मर्यादाविपरीत हो,’ प्रदेशसभाका कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भने, ‘भारतीय प्रधानमन्त्रीको सामु बोलेर संविधानको संशोधन हुँदैन । संविधान संशोधनका लागि मधेसवादी दल दबाब नदिएर सत्ता कुरेर बसिरहेका छन् ।’ उनले भारतीय नेता कीर्ति आजादको ट्विटको विषयमा प्रदेशसभाले निन्दा गर्नुपर्ने माग गरे । एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले संविधान संशोधनको प्रावधान संविधानमै उल्लेख भए पनि त्यो विषयमा कहाँ र के बोल्ने हेक्का राख्न प्रदेश सरकारलाई आग्रह गरे ।

माओवादी (केन्द्र) का प्रदेशसभा सांसद ज्वालाकुमारी साहले आफ्नो आन्तरिक समस्या विदेशी पाहुँनासँग राख्नु उचित नभएको बताइन् । ‘संविधान र विभेदका विषयमा बोल्ने मञ्च त्यो थिएन,’ उनले भनिन, ‘त्यहाँ बोल्दा के फाइदा भयो ? सरकारले जवाफ दिनुपर्छ ।’एमाले सांसद रविन्द्र बैठाले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिन्दन समारोहमा मुख्यमन्त्री राउतले दिएको बिवादस्पद अभिव्यक्तिको आलोचना गरे । ‘गाजल आँखामा लगाउँदा सुन्दर देखिन्छ तर नाकमा लाग्यो भने भद्दा देखिन्छ,’ उनले भने, ‘मुख्यमन्त्री राउतले मोदीको उपस्थितिमा दिएको अभिव्यक्ति सुहाएन ।’ प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री राउत अनुपस्थित
थिए ।

मुख्यमन्त्रीको बचाउ
सत्तापक्ष फोरम र राजपाका प्रदेशसभा सांसदले मुख्यमन्त्री राउतको विवादास्पद अभिव्यक्तिको बचाउ गरेका छन । विपक्षीले मुख्यमन्त्रीको अभिव्यक्तिको तीव्र आलोचना गरेपछि सत्तापक्षका सांसदले उनको बचाउ गरेका हुन् ।फोरमका सांसद रामआशिष यादव र करिमा बेगमलेनेपाल–भारतको सम्बन्ध मोदीको भ्रमणले प्रगाढ भएको बताउँदै मुख्यमन्त्रीको अभिव्यक्ति सही कि गलत ? भन्ने विषयलाई विवादमा नल्याउन आग्रह गरे । ‘आफ्नो प्रदेशको समस्या उहाँले प्रदेशकै जनतासामु राखेको हो,’ यादवले भने । राजपाका सांसद उपेन्द्र महतो र डिम्पलकुमारी झाले संविधान संशोधनको विषय मुख्यमन्त्रीले मोदीलाई नसुनाएर त्यहाँ उपस्थित जनतालाई सुनाएको तर्क गरे ।

प्रकाशित : जेष्ठ २, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?