कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ उद्योगका मजदुर धर्नामा

शंकर आचार्य

पर्सा — पर्सा बारा औद्योगिक करिडोरका ३ उद्योगका मजदुर धर्नामा बसेका छन् । तनुष टेक्सटाइल्स इन्डष्ट्रिज प्रालि लिपनीमाल, शुभलक्ष्मी मेटल इन्डष्ट्रिज जीतपुर र आदर्श पोलिमर्स उद्योग वीरगन्जका मजदुर विभिन्न माग राखी धर्नामा बसेका हुन् ।

३ उद्योगका मजदुर धर्नामा

श्रम कार्यालय वीरगन्जका प्रमुख राधेश्याम झाका अनुसार वैशाख १६ देखि तनुष टेक्सटाइल्सका मजदुर उद्योगको मूल गेटमा धर्ना बसेका छन् । उद्योगस्थित जुट गार्मेन्ट, कार्पेट र टेक्सटाइल्स मजदुर युनियनको आहानमा उद्योगका ३४ मजदुर काम ठप्प पारी धर्नामा बसेका हुन् ।

पद बढुवा, जीवन बिमा, बोनस, पेस्की, पिकनिक खर्च आदिको माग गरी युनियनले हडताल गरेको हो । प्रक्रिया पूरा गरी श्रम कार्यालयको अनुमति समेत लिई हडताल गरिएकाले यो हडताललाई कार्यालयले कानुनी हडतालको मान्यता दिएको झा बताउँछन् । झुल उत्पादन गर्ने यो उद्योग हाल पूर्ण रूपले बन्द रहेको छ ।शुभलक्ष्मी मेटल उद्योगका मजदुर वैशाख १२ देखि धर्नामा बसेका छन् । उद्योगका ३५ मजदुर काम नगरी धर्नामा बसेका हुन् । एलपी ग्यासको सिलिन्डर उत्पादन गर्ने यो उद्योगमा रोजगार सम्झौता हुनुपर्ने, पोसाक व्यवस्था हुनुपर्ने, शैक्षिक भत्ता, जीवन बिमा लगायतका माग राखी मजदुर धर्नामा बसेका हुन् । कानुनी प्रक्रिया सुरु नगर्दै मजदुरले हड्ताल गरेकाले कार्यालयले उनीहरूको हडताललाई गैरकानुनी मानेको छ । उद्योग भने हाल पनि चालु रहेको छ । प्लास्टिकको झोला र प्लास्टिक गाता उत्पादन गर्ने आदर्श पोलिमर्सको मूल गेटमा महिला कामदार वैशाख ३ देखि धर्नामा छन् । उद्योग व्यवस्थापनले ५ मजदुरलाई जगेडामा राखेर उद्योगमा तालाबन्दी गरेको विरोधमा सम्पूर्ण मजदुर काम ठप्प पारी धर्नामा बसेका हुन् । ९ महिला मजदुर रहेको उद्योग हाल बन्द छ ।

उद्योग व्यवस्थापनले मजदुर जगेडामा राख्नेबारे श्रम कार्यालयसँग कुनै सल्लाह वा जानकारी लिएको वा सूचना समेत नदिएको उनले बताए । श्रम ऐन २०४८ ले यसरी उद्योगले मजदुरलाई जगेडामा राख्दा वा कटौती गर्दा श्रम कार्यालयको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको थियो । तर हाल आएको श्रम ऐन २०७४ यस सम्बन्धमा मौन रहेको छ । समस्या रहेका ३ वटै उद्योगको समस्या समाधानको प्रयास कार्यालयले गरी रहेको श्रम कार्यालय प्रमुख राधेश्याम बताउँछन् । ‘उद्योग व्यवस्थापन र मजदुर पक्षबीच समन्वय गरी समस्या समाधानको प्रयास गररहेका छौं,’ उनले भने, ‘सम्भवत: केही दिनभित्रै नतिजा आउँछ होला ।’

प्रकाशित : जेष्ठ २, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?