कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कहाँबाट आयो त्यो राष्ट्रिय झन्डा ?

स्पष्टीकरण दिन काठमाडौं गए कर्मचारी
अजित तिवारी

जनकपुर — रामायण सर्किटबारे ‘बिफ्रिङ’ गर्न नेपाल र भारतका प्रधानमन्त्री मञ्चमा पुग्दा दुवै देशका राष्ट्रिय झन्डा फहराइएका थिए । मञ्चको दक्षिणी कुनामा भारत र उत्तरी कुनामा नेपालको झन्डा राखिएको थियो ।

कहाँबाट आयो त्यो राष्ट्रिय झन्डा ?

दुवै देशका प्रधामन्त्रीले करिब मिल्दोजुल्दो पोसाक पहिरिएकाले सबैको ध्यान त्यतैतिर तानियो । नेपाली राष्ट्रिय झन्डाको आकार र रूप फरक रहेको कसैले हेक्का नै गर्न भ्याएनन् । आखिर कहाँबाट आयो स्वरुप बिगारिएको राष्ट्रिय झन्डा ? जानकी मन्दिरको व्यवस्थापनमा खटिएका अधिकारीहरू नै अनभिज्ञता प्रकट गर्छन । भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारी संघीय सरकार, प्रदेश सरकार र जनकपुर उप–महानगरपालिकाले गरेको थियो । जानकी मन्दिरमा मोदीले गरेको विशेष पूजाअर्चनाको व्यवस्थापन मन्दिर प्रशासनको थियो । रामायण सर्किटसँग सम्बन्धित सबै कार्यक्रम जानकी मन्दिरको बाहिरी परिसरमा गरिएको थियो । मोदीको जनकपुर भ्रमणको बिहान मात्रै जानकी मन्दिरको बाहिरी परिसरमा मञ्च निर्माण गरिएको थियो । मञ्चको निर्माण र रेखदेख नेपाली सेना र भारतीय सुरक्षाकर्मीले गरे ।

‘मञ्चमा राष्ट्रिय झन्डा पनि सुरक्षाकर्मीले नै टाँगेका हुन्,’ जानकी मन्दिरमा भ्रमण व्यवस्थापनमा खटिएका एक सरकारी अधिकारीले भने, ‘तर, झन्डाको स्वरूप बिग्रेको कसैले चाल पाएनन् ।’ उनका अनुसार दुवै प्रधानमन्त्रीले जानकी मन्दिरमा छोटो फ्रेस बिफ्रिङ गर्ने कार्यक्रम अन्तिम समयमा तय हुँदा मञ्चको तयारी हतारमा गरिएको थियो । तर, मोदी भ्रमणको एकदिन अघि भारतीय दूतावासले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रामायण सर्किटबारे दुबै देशका प्रधानमन्त्रीले छोटो फ्रेस बिफ्रिङ गर्ने तालिका सार्वजनिक गरेको थियो ।

मोदी भ्रमणको तयारीमा खटिएका संघीय सरकारका एक अधिकारीका अनुसार दुबै देशका प्रधानमन्त्री, थुप्रै मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री, यतिबिध्न अति विशिष्टका लागि आवश्यक पर्ने राष्ट्रिय झन्डा जनकपुरमा उपलब्ध हुन सकेन । ‘काठमाडौंबाट पनि राष्ट्रिय झन्डा ल्याइएको थियो,’ उनले भने । तयारीमा खटिएका ती अधिकारीको अनुमानमा ‘हतारमा सिलाउन दिएको होला, कहिल्यै राष्ट्रिय झन्डा नबनाएका दर्जीले स्वरूप बिगारिदिएको पनि हुन सक्छ । कहाँबाट आयो त्यो झन्डा हामी आफैं पनि अनभिज्ञ छौं ।’ प्रदेश सरकार र जनकपुर उप–महानगरपालिकाले जानकी मन्दिरको व्यवस्थापनको जिम्मेवारी संघीय सरकार र मन्दिर प्रशासनको रहेको बताइरहेको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरको पूजाअर्चना बाहेकका व्यवस्थापनमा आफ्नो भूमिका नरहेको तर्क गर्छन ।

तर, परराष्ट्र मन्त्रालयले गरेको कार्यविभाजनमा मोदी भ्रमणको तयारी र व्यवस्थापनका लागि जानकी मन्दिरमा प्रदेश सरकारका मुख्यसचिव, आन्तरिक मामिला मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई तोकिएको देखिएपछि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको छ ।

प्रदेश सरकारका निमित्त मुख्यसचिव हरि फुँयाल, आन्तरिक मामिला मन्त्रालयका सचिव देवीराम भण्डारी, धनुषाका सिडिओ गोपाल पराजुली र उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन भण्डारीलाई आकार र रूप फरक रहेको नेपालको राष्ट्रिय झन्डा के, कसरी र कसको लापरबाहीले राखिएको हो ? भनी स्पष्टीकरण सोधिएको छ । यी चारैजनाले मोदीको भ्रमणका दिन आफूहरू जानकी मन्दिर बाहिर खटिएको तर्क गर्दै मञ्च निर्माण र मन्दिर परिसरको व्यवस्थापन गरिएको केही तस्बिर र भिडिओको दृश्य बोकेर स्पष्टीकरण दिन काठमाडौं पुगेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?