कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढिला उजुरीले समस्या

अमन कोइराला

सर्लाही — जबर्जस्ती करणी र उद्योगको घटनामा उजुरी ढिला हुँदा पीडक भाग्ने र प्रमाण फितलो हुने गरेको पाइएको छ ।

ढिला उजुरीले समस्या

जबर्जस्तीका घटनामा अधिकांश छिमेककै व्यक्ति संलग्न हुने गरेको र किशोरी बढी पीडित भएको प्रहरीको भनाइ छ । अधिकांश साँझको समयमा हुने यस्ता गम्भीर अपराधमा सामान्यतया उजुरी पर्ने गरेको छैन ।

प्रहरी नायव उपरीक्षक राजेश थापाले जबर्जस्ती करणीको उजुरी कम्तीमा एक दिन ढिलो आउने गरेको बताए । ‘पीडकका पक्षले गाउँमै ढाकछोप गर्न खोज्ने र पीडितलाई उजुरी कसरी दिने भन्ने अलमलले कम्तीमा एक दिन ढिला हुने गरेको देखिएको छ,’ उनले भने, ‘उजुरी दिने अवस्था आउँदासम्म पीडक भागिसकेको हुन्छ । खुला नाकाका कारण भारत छिर्ने गर्छन् ।’

प्रहरीका अनुसार पीडक पक्षले करणी भएको सार्वजनिक हुँदा पछि कठिनाइ हुने लगायतका डर देखाएर पीडितलाई गाउँमै मिलाउन खोज्ने गर्छन् । आर्थिक प्रलोभन देखाउँछन् । पीडितले नमानेपछि दोषी भगाउँछन् । पीडित हुनेमा बढी विपन्न समुदाय हुने गरेकाले डर र प्रलोभन देखाउँदै सकेसम्म गाउँमै मिलाउने प्रयत्न हुने गरेको हो ।

कविलासी नगरपालिका ४ का १८ वर्षीय राहुल रायलाई उजुरी परेको ६ महिनापछि हरिपुर इलाका प्रहरी कार्यालयले तीन दिनअघि पक्राउ गर्‍यो । गाउँकै १३ वर्षीया किशोरीलाई जबर्जस्ती गरेको भन्दै उनीमाथि उजुरी परेको थियो ।

हरिपुरका प्रहरी निरीक्षक अनिल ठकुरीले उजुरी पर्दा भागिसकेका अभियुक्तलाई निरन्तर निगरानीपश्चात पक्राउ गरिएको बताए । कविलासी ४ कै २२ वर्षीय शिवकुमार यादवले एक महिनाअघि छिमेककै १९ बर्षे किशोरी जबर्जस्ती करणी गरी फरार भएका थिए । यादव पनि एक महिनापछि पक्राउ परे ।

जबर्जस्ती मुद्दाका प्रतिवादी तत्कालै पक्राउ नपर्नुमा ढिलो उजुरी नै प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । थापाले फरार रहेकालाई भारतबाटै र घर आएको मौका छापेर पक्राउ गर्न नियमित प्रहरी खटाइने गरेको बताए ।

‘मुद्दा दर्ता भएपछि ढिलोचाँडो पक्राउ पर्छन् नै,’ उनले भने, ‘सकेसम्म अभियुक्त उम्किन नसकोस् भनेर निरन्तर प्रयास भएकै हुन्छ । हामीले अपराध भएलगत्तै उजुरी गर्न चेतना कार्यक्रम पनि चलाइरहेका छौं । त्यसो हुन सके दोषी उम्कन सक्दैन ।’

जबर्जस्ती गरेको अभियोग लागेकामा एक जनाबाहेक सबै १८ देखि ४० वर्षसम्मका छन् । पिपरियाका श्याम परदेशी भने ६० वर्षका छन् । उनले घरमै काम गर्ने किशोरीलाई जबर्जस्ती गरेको आरोप छ । प्रहरीका अनुसार मुद्दा चलिसकेपछि पनि पीडितलाई फकाएर बयान फेर्न लगाउने, अन्य दबाब दिएर मिल्न बाध्य पार्ने र त्यसका लागि शक्तिशाली व्यक्तिलाई प्रयोग गर्ने चलन छ ।

डीएसपी थापाले ढिलो उजुरी आउँदा दोषीलाई फाइदा पुग्ने भएकाले चेतना जगाउन ३ महिने अभियान चलाइएको बताए । जबर्जस्ती करणी, घरेलु हिंसा, लागूऔषधसम्बन्धी जिल्लाव्यापी अभियान सञ्चालन भएको उनले जनाए ।

‘प्रमाण लोप हुने, पीडक भाग्नेजस्ता कारणले यसबारेमा सबैले बुझ्नुपर्छ भनेर अभियान चलेको छ,’ उनले भने, ‘सबैले आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्न सक्यौं भने अपराध मुक्त समाज बनाउन सकिन्छ ।’

प्रकाशित : जेष्ठ ७, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?