कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जथाभावी नदी उत्खनन

शिव पुरी

बागमति (रौतहट) — जिल्ला समन्वय समितिले गरेको सम्झौता विपरीत चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदीको पौराई नाका, दोभानबाट ठेकेदारले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल सहितको टोली अनुगमनमा पुग्दा ठेकेदारले सम्झौता विपरीत खाडल बनाई उत्खनन गरेको पाइएको हो ।

जथाभावी नदी उत्खनन

ठेकेदारले यहाँ पटकपटक नियम मिचेर काम गर्दै आएका छन ।

जिल्ला समन्वय समितिले साह निर्माण सेवा मलंगवा १० सर्लाहीलाई पूर्वाधार सडक निर्माण र भूसंरक्षणको तटबन्धका लागि वैशाख २७ गते बागमती नदीको पौराई नाकाबाट ढुंगा, गिटी र बालुवा निकासीको अनुमति दिएको थियो । दुवै कामका लागि एक्जाभेटर प्रयोग गरी नदीबाट ६ हजार २ सय घनमिटर गिटी उत्खनन गर्न अनुमित दिइएको हो । त्यसका लागि २ मिटरसम्म गहिरो ४ सय मिटर लम्बाइ र २० चौडाइसम्म उत्खनन गर्ने सर्तसहित सम्झौता गरेको थियो ।

ठेकेदार नागेन्द्र साहले सर्त उल्लंघन गर्दै नदीमा ठूलो खाडल पारेको अनुगमन टोलीले फेला पारेको हो । स्थलगत अनुगमनमा पुगेका प्रजिअ रिजालले जथाभावी उत्खनन नगर्न निर्देशन दिए । ‘सम्झौतामा के छ त्यहीअनुसार काम गर्नुस्,’ उनले भने, ‘जथाभावी काम गरेमा कारबाही हुन्छ ।’ समन्वय समितिले उत्खनन गर्न दिइएको सर्त विपरीत ठेकेदार साहले काम गरिरहेको गुनासो आएपछि प्रजिअ रिजाल, समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मी सहितको टोली स्थलगत अनुगमन गर्न नदीमा पुगेको हो ।

समन्वय समितिका प्रमुख लेखा अधिकृत कीर्ति सुवेदीले सम्झौता विपरीत खाडल बनाइएको भन्दै तत्काल पुर्न निर्देशन दिए । उनले अनुगमन टोली सामु ठेकेदारलाई जथाभावी खाडल नबनाउन आग्रह गरे । ठेकेदारले प्रयोग गरेको एक्जाभेटरबाट तोकिएको भन्दा करिब ४ मिटर गहिरो, तोकिएको भन्दा बढी चौडाइ र लम्बाइमा उत्खन्न गरेको पाइएको हो । बिहान प्रजिअ सहितको टोली अनुगमनमा आउने थाहा पाए लगत्तै ठेकेदार साहका साइड इन्चार्ज विकास तिमल्सिनाले एक्जाभेटर चालक र अन्य कर्मचारीलाई खाडल तत्काल पुर्न भनेका थिए । उनले पटकपटक अनुगमन टोली आउनु अगावै साइड दुरुस्त पार्न भने पनि कर्मचारीले भ्याएनन । उत्खनन भइरहेको नदीजन्य पदार्थको नियमित अनुगमन हुन नसक्दा ठेकेदारले मनोमानी ढंगबाट मापदण्डविपरीत उत्खनन गरिरहेको स्थानीय लक्ष्मण न्यौपानेले बताए ।

‘ठेकेदारले मनलाग्दी जता पायो त्यतै खन्ने गरेको छ,’ उनले भने, ‘सम्झौतामा तोकिएको भन्दा बढी मेसिनले ठूलो खाडल बनाएर बालुवा, ढुंगा झिक्ने गरेका छन् । यसले पछि ठुलो समस्या निम्त्याउँछ ।’ ठेकेदार साहविरुद्ध कसैले गुनासो गरे ठूला नेता लगाएर विकास विरोधी भन्दै झपार्न लगाउँछन् । उनले बागमती नदीमै सानो झुप्रो घर बनाएर कर्मचारी खटाएर उत्खनन गरिरहेका छन् ।साहले सम्झौता विपरीत काम नगरेको दाबी गरे । ‘सम्झौतामा तोकिएअनुसारको स्थानबाट अनुमति पाएको एक्जाभेटर प्रयोग गरेर उत्खनन गरिरहेका छौं,’ उनले भने, ‘सम्झौताबाहिर गएर उत्खनन भएको छैन । केही कमी कमजोरी भए होलान त्यसलाई सच्याउँछु ।’ अनुगमन टोली पछिपछि ठेकेदार साह पनि पुगेका थिए ।

स्थानीयको चर्को विरोधपछि १ नम्बर वडाका विभिन्न सडकका लागि १४ टयाक्टर ग्राभेल नि:शुल्क ढुवानी गरिदिएका छन् । यसको कुनै लेखा जोखा छैन । टोलीले वडालाई दिइएको ग्राभेलको हिसाब राख्न भनेको छ । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी आत्माराम सत्यालले सम्भौता विपरीत उत्खनन नगर्न निर्देशन दिए । ‘उत्खनन गर्दा अपनाउनुपर्ने मापडण्ड र सर्तभित्र रहेर काम गर्नुस्,’ उनले ठेकेदारलाई भने, ‘स्थलको सीमांकन गरिदिएका छौं । कति गहिरो, लामो र चौडाइ भन्ने भनिरहनु पर्दैन । सर्तअनुसार काम गर्नुस् ।’वन वातावरण बस्ती आवादी, नदी किनार, ड्याम क्षेत्रमा प्रतिकुल असर नपर्ने गरी उत्खनन गर्नुपर्ने समन्वय समितिले सर्तसहित ठेकेदारलाई सम्भौता गर्दा दिइएको पत्रमा उल्लेख छ । ठेकेदारले गरेको खाडलले पानीको बेग रोकेर नदीले दायाँबाँया धार परिवर्तन गर्ने सम्भावना देखिएको छ ।

क्षमताभन्दा बढी उत्खनन
जिल्ला समन्वय समिति सहितको टोलीले उक्त नाकाबाट एक वर्षमा २७ हजार घनमिटरसम्म गिटी बालुवा उत्खनन गर्न सकिने वातावरण प्रभाव मूल्यांकन (ईआईए) गरेको छ । ठेकेदारलाई त्यहीअनुसारको अनुमित दिइएको हो । यो नदीको क्षमता २६/२७ हजार घनमिटर हो । ठेकेदारले कति उत्खनन गर्‍यो भन्ने विगतमा अनुगमन भएन । ठेकेदारले मनपर्दी निकासी गर्‍यो । अहिले यस्तो मनोपली हुन नदिने प्रजिअ रिजालले बताए । ‘विकासको काममा गिटी, बालुवा, ढुंगाको परिणाम पुग्दैनथ्यो भने मूल्यांकन गर्दा अलि बढाउनु पथ्र्यो,’ उनले भने, ‘जतिको मूल्यांकन भएको छ र नदीले धान्न सक्ने मात्र उत्खनन गर्नुस् । अन्यथा जथाभावी गरे कारबाही हुन्छ ।’

प्रकाशित : जेष्ठ ९, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?