कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिट निवेदन खारेजीको जवाफ

थमन हत्या प्रकरण
सन्तोष सिंह

धनुषा — उच्च अदालत जनकपुरबाट सशस्त्रका असई थमन विकको हत्या प्रकरणमा जारी कारण देखाऊ आदेशको जवाफमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले रिट निवेदन खारेजीको जवाफ लेखेको छ ।

रिट निवेदन खारेजीको जवाफ

०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकका हत्याका अभियुक्तलाई पक्राउ नगरेको भन्दै असई विककी श्रीमती शोभा गहतराजले ०७४ चैत्र २८ जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रहरी प्रमुखलाई विपक्षी बनाउँदै परमादेशको मागसहित उच्च अदालतमा रिट हालेकी थिइन् ।

हत्यामा संलग्न केही प्रतिवादी महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहेको र बाँकीलाई अदालतले वारेन्ट पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ नगरेको गहतराजले आरोप लगाएकी छन् । रिट निवेदनपछि जनकपुर उच्च अदालतले ०७४ चैत्र २९ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई कारण देखाऊ आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जवाफ नम्बर ४ मा यस मुद्दामा फरार रहेका प्रतिवादी रमेशप्रसाद साह समेतका २५ जनाको नाउमा महोत्तरी जिल्ला अदालतबाट जारी भएको बारेन्ट पुर्जी र म्यादी पुर्जी फरार प्रतिवादीको नजिकका प्रहरी एकाइमा पठाएको र प्रतिवादी पक्राउ परी दाखिला हुन नआएको उल्लेख छ । जवाफमा फरार प्रतिवादी पक्राउ परी दाखिला हुन आएको बखत उनीहरूलाई कानुनबमोजिम महोत्तरी जिल्ला अदालतमा पेस गरिने जनाइएको छ । पक्राउ परेको खण्डमा अदालतमा पेस हुने हुँदा परमादेशको आदेशको रिट निवेदन खारेज गर्न प्रहरी उपरीक्षक कडायतले माग गरेका छन् ।

प्रहरी उपरीक्षक कडायतले जनकपुर उच्च अदालतलाई दिएको जवाफमा फरार भनिएका अभियुक्त मध्ये खैरबनि वडा नं. ६ का ४५ वर्षीय कौशल राय महोत्तरी क्षेत्र ४ (१) बाट र जलेश्वर १४ का ३७ वर्षीय अभिराम शर्मा महोत्तरी ३ (१) बाट प्रदेश सभा निर्वाचित सदस्य छन् । फरार प्रतिवादीमध्ये शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर छन् ।

प्रतिवादीहरूले मधेस आन्दोलनका क्रममा राजनीतिक आस्थाका आधारमा आफूहरूमाथि झुटा मुद्दा लगाइएको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने बताउँदै आएका छन् । प्रहरी प्रतिवेदनअनुसार ०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्‍याएको थियो ।

घाइते विकलाई जिल्ला अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पतला ल्याउँदै गर्दा महोत्तरी वडा नम्बर ८ सनोखडाको धान खेतमा आन्दानेलनकारीले हत्या गरेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?