कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासको प्रतीक्षामा वीरगन्ज

शंकर आचार्य

पर्सा — मुलुकका प्राय: सबै आन्दोलनको नेतृत्व गरेको मुलुककै प्रवेशद्वार वीरगन्ज विकास निर्माणको मामिलामा पछि पर्दै गएको छ ।

विकासको प्रतीक्षामा वीरगन्ज

राणा शासनविरुद्धको आन्दोलनदेखि निर्दल/बहुदलको आन्दोलन मात्र नभई निरंकुुश राजतन्त्रका विरुद्धको आन्दोलन तथा पछिल्लो मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको २ नम्बर प्रदेशको एक मात्र महानगर विकास निर्माण तथा अन्य राजनीतिक भूमिकामा चुक्दै गएको अनुभव स्थानीयवासीले गरेका छन् ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई एक्लै धानेर आर्थिक रूपमा थिलथिलिएको वीरगन्ज हाल झन् एक्लिएको छ । वीरगन्जलाई नाकाबन्दीमा प्रयोग गरेर जेनतेन प्राप्त आंंशिक उपलब्धिको लाभ प्रदेशकै जनकपुर लगायतका अन्य सहरहरूले धमाधम लिइरहेको तर वीरगन्ज भने एक दशकअघि नै अवस्थामा यथास्थितिमा रहेको पीडा महानगरवासी पोख्छन् ।

मधेस आन्दोलनका क्रममा ठूलो आर्थिक, भौतिक तथा मानवीय क्षति बेहोर्दा मधेस आन्दोलनको अगुवाइ गरेका नेताहरूले प्रदेशको राजधानी बनाएर वीरगन्जको गुन तिर्ने अनुमान विपरीत जनकपुरलाई प्रादेशिक राजधानी बनाएको गुनासो अधिकांश महानगरवासीको छ । मधेस आन्दोलनमा लागेका नेताहरू पनि त्यसका विरुद्धमा बोल्न नसकी मौन समर्थन गरेको आरोप स्थानीयले लगाउँदै आएका छन् ।

स्थानीय मनोज उपाध्याय राजनीतिक पीडा खेपिरहेको वीरगन्ज विकास र संमृद्धिलाई पनि निक्कै पछि छोडेर आफूलाई साना र साँघुरा गल्लीमा सीमित गराइरहेको बताउँछन् । ‘वीरगन्ज सहरबाट बाहिरिने प्रत्येक नाका छिचोल्नासाथ विकास निर्माणको काम भइरहेको प्रत्यक्ष महसुस हुन्छ, वीरगन्ज काट्नासाथ सडकमा जताततै गिट्टी बालुवा छड सिमेन्ट निर्माणका लागि तम्तयार भएर बसेको भान हुन्छ,’ उनले भने, ‘तर वीरगन्जमा भने प्राय: शून्य अवस्थामा छ, महानगरमा हुनु पर्ने खाले विकास निर्माणका काम हुन सकिरहेका छैनन, दशकअघि वीरगन्ज जस्तो देखिन्थ्यो अहिले पनि उस्तै देखिन्छ, अझै भएका सडक तथा अन्य पूर्वाधार दिनप्रतिदिन जीर्ण हुँदै गएका छन् ।’

घन्टाघरदेखि विर्तासम्मको महानगरको मुख्य सडकमा एकातिर मोटरसाइकल पार्किङ गरिएको हुन्छ भने अर्को बाँकी सडकबाट मुस्किलले टाँगा, रिक्सा, मयुरी, स्कुलबस, मोटरसाइकल, साइकल तथा निजी सवारीको हर्नको कोलाहल र नियमित जसो लागिरहने जामको दृश्य प्राय: दोहोरिरहेको हुन्छ । महानगरको मुख्य सडक फराकिलो हुने चर्चा चलेसँगै यो सडक चौडा र व्यवस्थित भएको सपना महानगरवासीले देखेको पनि झन्डै ३ दशक हुन लाग्यो ।

सामाजिक अभियन्ता प्रकाश थारू लामो उतारचढाव भोगिसकेको वीरगन्जले अब तीव्र विकास र थप संमृद्धी खोजेको बताउँछन् । ‘तत्काललाई महानगरवासीले साविकदेखि महानगरमा रहेको सडक तथा अन्य पूर्वाधारहरूलाई सफा, सुघ्घर र व्यवस्थित हेर्न चाहेका छन्,’ उनले भने, ‘त्यसपछि लामो समयदेखि प्रतीक्षा गरिएको महानगरको मुख्य सडक बिस्तारको काम पनि सुरु गरिनुपर्छ कि वीरगन्जका नेता र जनप्रतिनिधिहरूलाई यसको विकास चाहिएको छैन भनी स्पष्ट भन्नुपर्‍यो । अब पनि कुनै बहानामा महानगरको मुख्य सडक फराकिलो हुँदैन भने अन्य सहरले वीरगन्जलाई विकास निर्माणमा निक्कै पछी छोड्ने निश्चित छ ।’

स्थानीय जनप्रतिनिधि आएको ६ महिना भइसके पनि परिवर्तनको खासै अनुभूति महानगरवासीले गर्न सकेका छैनन् । महानगरमा सार्वजनिक पार्क, सार्वजनिक शौचालय आदिको चरम अभाव रहेको छ ।

घन्टाघरदेखि पावरहाउससम्मको सडक जीर्ण छ । बसपार्क क्षेत्र अव्यस्थित छ । बाइपास सडक जर्जर भएको छ । नारायणी र आदर्शनगर रंगशालाको अवस्था पनि नाजुक छ । डम्पिङ साइट अभावमा महानगरबाट दैनिक संकलन हुने ७० टनभन्दा बढी फोहोर जत्रतत्र विसर्जन गरिन्छ । हाल जारी एसियाली विकास बैंकको लगानीमा नाला तथा सडक निर्माण कार्यले महानगरको सम्पूर्ण क्षेत्रलाई समेटन सकेको छैन । ५ मिनेट मात्र पानी पर्दा महानगरको मुख्य सडकको आदर्शनगर क्षेत्रमा जलाम्य हुने समस्या यथावत् छ ।

हरपतगन्ज निवासी सामाजिक अगुवा दामोदर यादव गत वर्ष महानगरमा गाभिएका वडाहरूको अवस्था झनै नाजुक रहेको बताउँछन् । महानगर भए पनि नयाँ वडाहरू अझै दुरदराजको गाउँजस्तै देखिन्छन । वर्तमान सरकार बलियो र स्थिर भएकाले यातायात, स्वाथ्य तथा निर्माण क्षेत्र लगायत अन्य क्षेत्रका सिन्डिकेट अन्त्य भए जस्तै वीरगन्जका बेथितिहरूको अन्त्य गरी नियम संगतरूपमा सडक फराकिलो बनाएर मुलुकको आर्थिक राजधानीलाई आर्थिक तथा भौतिक विकासको मामिलामा झनै सम्पन्न बनाउने समय आएको उनले बताए ।

२ साताअघि वीरगन्ज आएका केन्द्रीय सरकारका भौतिक निर्माण तथा यातायात मन्त्री रघुबीर महासेठले पनि वीरगन्जको मुख्य सडक छिट्टै चौडा हुने कुरो सार्वजनिक रूपमै बोलेको स्मरण गर्दै उनले भने, ‘स्थानीय सरकारले सक्दैन भने अब केन्द्र सरकारले पनि मुलुकको प्रवेशद्वारको वर्तमान र भविष्यबारे सोच्नुपर्ने बेला आएको छ, वीरगन्ज सुखी सम्पन्न रहे यसले समग्र मुलुकमै सकारात्मक प्रभाव पार्छ ।’

आदर्शनगरका होटल व्यवसायी हरि पन्त भर्खरै प्रादेशिक राजधानी हुनबाट लगभग वञ्चित भएको वीरगन्ज सबैतिरको सडक फराकिलो हँुदा पनि आफू भने साँघुरिएर बस्न बाध्य भएको बताउँछन् । ‘वीरगन्जबाट कलैया जाने सडक, ड्राइपोर्ट र आईसीपीबाट परवानीपुर जाने सडक हाल तीव्र गतिमा बिस्तार भइरहेको छ, वीरगन्जदेखि ठोरीसम्म हुलाकी सडक बन्दै छ,’ उनले भने, ‘वीरगन्ज भने सक्षम र दुरदर्शी नेताको अभावमा खुम्चिन बाध्य भएको छ, महानगरको मुख्य सडक फराकिलो नबनाई समग्र वीरगन्जको विकास असम्भव रहेको कुरोमा वीरगन्जका उद्योगी व्यवसायी, स्थानीय बासिन्दा सहमत भए पनि महानगरका मेयर र अन्य जनप्रतिनिधि भने भोटको राजनीतिमा रूमल्लिएर नगरको विकाससँग खेलवाड गरिरहेका छन् ।’

महानगरको मुख्य सडक विस्तार गरिए महानगरको मुहार फेरिने पन्त बताउँछन् । ‘बेलाबेलामा महानगरको मुख्य सडक बिस्तार हुने चर्चा चल्छ तर त्यो चर्चा पानीको फोकाजस्तै आफैं सेलाएर जान्छ,’ उनले भने, ‘मुलुकका अन्य सहरका सडकहरू ६ लेनमा बिस्तार भइसके तर वीरगन्जको मुख्य सडक २ लेनमै सीमित छ, कहाँबाट कुन शक्तिले यो अभियानलाई निस्तेज पार्छ हामीले बुझ्न सकेका छैनौ, अब त सिंहदरबार स्थानीय तहमै आएको छ भनी सुनेका छाैं, हाम्रो झिनो आशा मरिसकेको छैन, वीरगन्जको कायापलट कहिले हुन्छ भनी प्रतीक्षा गरी बसेका छौं ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?